समाचार
“छेउबाट छेउ नै …” ऊ चिच्यायो ।
उसको नजीक गएर मैले सोधेँ, “के भनेको ?”
ऊ गम्भीर भयो, “अर्थहीन ।”
म उत्सुक भएँ, “मेरो प्रश्न कि, तिम्रो अर्थ ?”
सायद, ऊ लयमा थियो, ” यो समय, यो युग, यो गुजुल्टो ।”
सायद, उसले भनेजस्तै म अर्थहीन र बेसुरमा …
घोत्लेँ ! उसलाई नियालेँ ! मभित्र चियाएँ !
र, भाग्दै थिएँ, जे देखेँ र जे अनुभूत गरेँ ।
भाग्दै गरेको मलाई उसले च्याप्प कठालो समात्यो र थचार्यो ।
“भागेको किन ?” ऊ रन्किएर हपार्यो मलाई ।
म मौन ।
खाउँलाजस्तै गरेर कारुणिक अनुहार पार्यो, “मुनाहरू ढलेको देख्यौ ?”
म मौन ।
रौद्र रूप पारेर उतर्सियो, “ढोडहरू जल्दाको आगो ताप्यौ ?”
म मौन ।
सायद, उसले बुझेन क्यारे मेरो मौनव्रत ! उल्टै सोध्यो मलाई, “अपार सम्पत्ति र त्यो सम्पत्तिले नि सल्काउन नसक्ने चिसो चुल्हो थाहा छ ?”
मैले दायाँबायाँ शिर हल्लाएँ । उसले बुझ्यो क्यारे; मैले नबुझेका कुराहरू…
सुस्केरा हाल्यो उसले, “त्यो निभेको चुल्हो पेटभित्र सल्काएर हिँड्ने समाजका पर्यौ तिमी पनि !”
समाजजस्तै मौन नै रहेँ, म !
मेरो कठालो छाड्यो र भुतभुतायो, “छेउ न टुप्पोको फुर्को झैँ, लकिरको फकिर, तिमीजस्ता परजीवीहरू !”
*** *** ***
चाबहिल, काठमाडौं – ७