• २०८१ माघ ५ शनिवार

नवीन अभिलाषीको मौलामा बाँधिएको राँगो कवितासंग्रह लोकार्पण

२८, जेठ, बागबजारस्थित  होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कवि नवीन अभिलाषीको तेश्रो कवितासंग्रह मौलामा बाँधिएको राँगो, विमोचन गरिएको छ ।डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल, सबिता बिमलीको आतिथ्यमा कवितासंग्रह विमोचन गरिएको हो ।

मोफसलमा बसेर करिब एकदशकदेखि साहित्य तथा पत्रकारिता  गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सृजनात्मक स्रष्टा हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दररुपले प्रस्तुत गरिएको हुँदाहुँदै पनि कवि मनले सामाजिक, आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरुलाई उत्साहमा रूपान्तरण गर्नुपर्नेमा जोडदिएका छन् ।

कार्यक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्षरुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः५ खण्डमा विभाजित प्रस्तुतकृतिले यथार्थलाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको आफूले पाएको महशुस गरेको बताएकी छिन् ।उनले हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्तरुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाई सुक्ष्मरुपमा काव्यकी शिल्पको प्रयोगले मानवीय सम्बेदनालाई झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी व्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा. अमर गिरीले साहित्य आकासमा कवितालाई सर्वप्रिय विधाको रुपमा लिइएपनि सबलरुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन् ।वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा विश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमाभित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थ परक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखनकर्ममा सुधार गर्ने बताए।