रात साह्रै सुकोमल छ
थाकिसकेको छ मान्छे
झगडा गर्न खोज्दै छ
ऊ हतारमा छ
ऊ उठ्छ
पुरानो अचारको सिसीनिर जान्छ ।
सिसीको पिँधमा बचेको अचार निकाल्छ
कुन्नि के सोच्छ
र अचार फिर्ता सिसीमै राखिदिन्छ ।
ऊ थाकिसकेको छ
अब ऊ सतर्क भइसकेको छ
ऊ रुन्छ, रोइरहन्छ, चुपचाप रोइरहन्छ ।
तिमी त सबैकुरा बुझ्छौ
सबैलाई राम्ररी चिन्छौ नि !
तिमी के चाहन्छौ
मेरो मुटु
अहिले पनि चाहन्छौ ?
मलाई भित्रबाट कोट्याऊ
मेरो पिँधबाट निकाल मलाई
पुरानो अचारजस्तै ।
अनुवाद: राजेन्द्र शलभ