• २०८३ भाद्र २६, शुक्रबार

गजल

मोतीराम भट्ट

मोतीराम भट्ट

अप्सरा झैं स्वर्गका…
अप्सरा झैं स्वर्गका बम्बईका मालिनी,
क्या सफाई हाइ हाई बम्बईका मालिनी ।।१।।

बेलिको गुच्छा बनाई, जूहिको माला लिई,
हर्बखत् बेच्तै रहन्छन् बम्बईका मालिनी ।।२।।

कुन् गती नेपालको गद्दर् भुस्याहा मालिको,
क्या ति बेच्छन् जो यि बेच्छन् बम्बईका मालिनी ।।३।।

रङ्ग हाती दाँतका झैं, हातमा चम्पा कली,
साँझको बेला अहाहा ! बम्बईका मालिनी ।।४।।

मै त लाज्ले मर्छु देख्ता बम्बईका मालिनी,
बम्बईका मालिनी हा ! बम्बईका मालिनी ।।५।।

मोतिया गुन्केसरीको गाँसि झुप्पा जो सदा,
मात गर्छन् मालि याँहाँ बम्बईका मालिनी ।।६।।


मोतीराम भट्ट