समाचार

आज अरनिको
देशैभरि चर्च निर्माण गरिरहेछन्
अंशुबर्मा
गुम्बाका मुर्तिहरु
रातारात तस्करी गरिरहेछन्
गौतम बुद्ध
हिजैमात्र फिरौतीमा मान्छे मारेर
सिमापारी फरार भएका छन्
आज सीता
आफ्नै बाबु जनकबाट बलात्कृत परिरहेकी छिन्
उता शङ्खधर शाख्वाले
सारा गाउँभर मिटर ब्याज असुलिरहेछन्
यता राम शाह
न्यायको खोजीमा
माइतीघर मण्डलामा धर्ना बसिरहेछन्
अमरसिंह थापा
उहिलै डिभी भरेर अमेरिका उडिसकेका छन्
भक्ती थापा
बेलायतमै घरजम गरी बसिरहेका छन्
बलभद्र कुँवरले त
अस्ट्रेलियाको पी.आर पनि बनाइसके
राजा त्रिभुवन पनि
दूतावासमा कागजपत्र मिलाउँदैछन् अरे !
भानुभक्त आचार्य
आफ्ना कविता जलाई
मःम पकाइरहेछन्
मोतीराम भट्ट
मसक्क मस्किँदै
टिकटक बनाइरहेछन्
पासाङ ल्हामु
खाडीको गर्मीमा
ताता पिल्लरहरु उक्लिरहेकी छिन्
गुरु फाल्गुनन्द
नसा पिएर बिन्दास झुलिरहेका छन्
गत हप्ता मात्रै
जयपृथ्वीबहादुर सिंह
जातीय मुद्दामा परेका छन्
सोही नै दिन
भीमसेन थापा पनि
धरहराको टुप्पाबाट हाम फालेका छन्
अनि,
भर्खरै मात्र
पृथ्वीनारायण शाहले
नेपाल टुक्राउनुपर्ने माग राखी
अदालतमा मुद्दा दायर गरेका छन् !
आज देश
यिनै नव– विभुतिहरुले
विभूषित छ ।
संसार तिवारी