• २०८१ फागुन १ बिहीबार

तिम्रो माया

बसन्त चौधरी

बसन्त चौधरी

धेरै चाहिन्न मलाई
अलिकति तिम्रो मीठो मुस्कान भए पुग्छ
तिम्रो न्यानो हृदयमा बस्ने
अलिकति ठाउँ भए पुग्छ
त्यसैले मायालु
मलाई तिम्रो अँगालोको
अलिकति स्पर्श मात्र भए पुग्छ

आकाश विशाल छ
विशाल आकाशमा
अनगिन्ती जूनताराहरू छन्
मलाई त्यो पनि चाहिन्न
खालि तिम्रो आँखाको नानीमा
प्रतिविम्बित हुने
अलिकति ठाउँ भए पुग्छ
तिम्रो अधरको
सुवासित श्वास हुन पाए पुग्छ !

बगेर कहिल्यै नसकिने
नदीको पानीजस्तो
हेरेर कहिल्यै नरित्तिने
प्रकृतिको रूपजस्तै
तिम्रो माया
मेरो नशानशामा
निरन्तर बगिरहेछ
अविराम छचल्किरहेछ
मेरो जीवनको ऊर्जा बनेर !

बतासले जस्तो
मलाई तिम्रो मायाले
जब बिस्तारै छोएर जान्छ
अनि मेरो जन्मौँजन्मको तिर्खा मेटिन्छ
हृदयभरि शीतल अनुभूति भेटिन्छ !

मलाई जुनीभरि
त्यही मायाको ओत देऊ
भावनाको त्यही सरोवरमा
समाहित हुन देऊ ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)