समाचार
काठमाडौँ ।
संस्कृति, सम्पदा र इतिहास समेटिएको नयाँ पुस्तक पाठकमाझ आएको छ । कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका-५ स्थित बाँझकोटमा रहेको देहेडू र यससँग जोडिएको परम्परा, संस्कृति तथा लोकविश्वास समेटेर ‘देहेडूः अलौकिक ऊर्जा’ नामक पुस्तक तयार भएको छ ।
गोपीकृष्ण ढुंगाना र डीबी नेपाली ‘दमु’ यस पुस्तकका लेखक हुन् । फलामको लौरो हजारौं दर्शकले हेर्दाहेर्दै पिटिक्क पार्ने अलौकिक शक्ति यस कृतिको मुख्य विषय हो । पुस्तक इम्प्रिन्ट पब्लिशर्सबाट प्रकाशित भएको हो । पुस्तकमा देहेडू जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ । देहेडूलाई प्रकृति, कुलदेवता, आस्था र मानव जीवनको सम्बन्धका रूपमा पुस्तकले व्याख्या गरेको छ । पुस्तकको मुख्य आकर्षणका रूपमा देहेडू जात्रामा धामीले फलामे लठ्ठी हातले भाँच्ने परम्पराको वर्णन गरिएको छ । पुस्तकमा यस घटनालाई स्थानीय समुदायको आस्था, साधना र पुर्खाको आशीर्वादसँग जोडेर प्रस्तुत गरिएको छ ।
लेखकहरूले यस परम्पराले आधुनिक विज्ञानसमेतका लागि जिज्ञासा सिर्जना गर्ने दाबी गरेका छन्। देहेडू जात्रालाई नेपालमा मात्र नभई विश्वकै लागि विशेष र दुर्लभ सांस्कृतिक परम्परा बनाउन सकिने सम्भावनासमेत पुस्तकमा औंल्याइएको छ। यसको संरक्षण र प्रचारप्रसारबाट कर्णालीको मौलिक संस्कृति तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
लेखकद्धय ढुंगाना र नेपालीले लामो अनुसन्धान, स्थलगत अध्ययन, भेटघाट र संकलनबाट पुस्तक तयार गरेको बताएका छन्। पुस्तकमा देहेडूले विश्व रेकर्ड राख्ने साथै यही संस्कृति, सम्पदा र इतिहासले नेपाललाई विश्वमा चिनाउने पर्याप्त आधार पनि दिएको छ। पुस्तकले देहेडू परम्परालाई दस्तावेजीकरण गर्दै भावी पुस्तालाई स्थानीय इतिहास, संस्कृति र लोकजीवन बुझ्न महत्त्वपूर्ण सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
