आमाको मृत्युपछि त मानौँ हाम्रो घरबाट खुसीको सबै रङ पखालियो । सबै कुरा कुरूप हुनपुग्यो । सम्बन्ध पनि, समय पनि ।
आमाको माइती–परिवारले बुबालाई जिम्मेवार मानेर उहाँलाई सजाय दिलाउनका लागि लगाउनुसम्म जोर लगाए तर आमाको मृत्युले पागल प्रायः हुनुभएको बुबाको हालत यस्तो थियो कि त्यो यदि हत्या नै थियो भने पनि त्यसमा बुबाको हात हुनसक्छ भन्ने कुरामा कसैले विश्वास गर्ने अवस्था थिएन ।
त्यसपछि बुबालाई सम्हालिन निकै समय लाग्यो । हजुरबुबा बाम्ंबार भनिरहनुहुन्थ्यो– यदि म नभएको भए त्यो चमत्कार कदापि सम्भव थिएन । बुबाको सारा संसार समेटिएर बिजनेस र ममा बाँडियो ।
म बुबाको अगाध स्नेह र हजुरबुबाको कडा अनुशासनमा हुर्किंदै गएँ ।
मेरी आमाको मृत्यु भएको दस वर्ष बित्दानबित्दै उहाँका मातापिताको पालैपालो मृत्यु भयो । तर मर्नुअघिसम्म उहाँहरूले न बुबालाई माफ गर्नुभयो, न मलाई अपनाउनु भयो । जबकि बुबा र हजुरबुबाले उहाँहरूसँग सम्बन्ध सुधार्न सकेसम्म कोसिस गर्नुभएको थियो । एकपटक होइन, पटकपटक ।
उहाँहरूको मृत्युपछि मेरी आमाका एउटै मात्र भाइ अर्थात् मेरा मामा इन्द्रजङ्ग राणा नै त्यस परिवारको सर्वेसर्वा हुनुभयो । त्यसो त उहाँबाहेक अर्को कोही छँदा पनि थिएन त्यस परिवारमा ।
मामाको ऐयास चरित्र यति चर्चित थियो कि सुनेर उहाँ र मेरी आमाबीच रगतको नाता थियो भन्नेमा पनि मलाई आश्चर्य लाग्दथ्यो । साँचो अर्थमा आफ्नो नाम सार्थक बनाउनुभएको थियो इन्द्र मामाले, आफ्नो ऐयासी जीवन र दुष्कर्महरूबाट । झन् उहाँका बाबुआमाको मृत्युपछि त उहाँलाई रोक्ने पनि कोही थिएन । बुबाले कोसिस गर्नुभएको थियो सम्झाउन तर मामा कसैको कुरा सुन्ने, मान्नेहरूमा कहाँ पर्नुहुन्थ्यो र ? त्यसमाथि आफ्ना आमा–बुबाको बुबाप्रतिको व्यवहार त उहाँले देख्नुभएकै थियो, अतः बुबाको कुरा सुन्नुको साटो उल्टै उहाँले बुबालाई अपमानित गर्नुभयो ।
त्यसपछि इन्द्र मामाको पतनको कहानी खासै लामो छैन । केही वर्षमै आफ्नो सारा सर्वस्व जुवामा सिध्याएर घाँटीघाँटीसम्म ऋणमा पुरिनु भयो उहाँ तर उहाँको ऐयासी उस्तै रह्यो । मानिसहरू त यहाँसम्म भन्दथे– नेपालमा भएका खराबमा गनिने ७५ प्रतिशत स्वास्नीमानिसलाई खराब बनाउनमा इन्द्र मामाको हात छ ।
आखिरमा ओत लाग्ने छानासमेत बेचेर उडाएपछि उहाँ हाम्रो घरमा शरण लिनआउनुभयो । र आजसम्म पनि उहाँ हाम्रै घरमा शरणागत हुनुहुन्छ ।
मामाको बदनामी र बर्बादीको कथा सुनेर, देखेर हुर्केको म सधैँ सतर्क रहन्थेँ आफ्नो नामसँग कुनै बदनामी जोडिन नदिन । त्यसैले पनि होला– के स्कुल, के कलेज मैले केटी साथीसँग सधैँ परहेज गरेँ । २४ वर्षको हुँदानहुँदै अमेरिकाबाट बिजनेस मेनेजमेन्टको पढाइ सकेर फर्केको म आँखा जुधाएर स्वास्नीमानिसलाई हेर्न पनि हिच्किचाउँथेँ ।
थाहा छैन अरू मान्छेहरू कसरी सोच्दथे मेरोबारेमा तर मेरो विचार र व्यवहारलाई सुप्रिया सधैँ विचित्रताको संज्ञा दिन्थी ।
सुप्रिया, मेरी धर्मपत्नी ! जसलाई पहिलोपटक मैले आफ्नो अफिसमा देखेको थिएँ पर्सनल सेक्रेटरीको रूपमा ।
सायद मेरा बुबालाई त्यस उमेरसम्म पनि केटीहरूसँग तर्किएर भाग्ने मेरो आदत सन्देहास्पद लागेर नै होला सुप्रियालाई मेरो पर्सनल सेक्रेटरीको रूपमा छान्नुभएको । उहाँलाई थाहा थियो– उहाँको कुनै निर्णयको म विरोध गर्नेवाला थिइनँ ।
मेरो जीवनमा त्यो पहिलोपटक थियो, जब म कुनै युवतीको त्यति नजिक रहेको थिएँ । दिनका कैयौँ घन्टा उसको छेउछाउमा बिताउँदाबिताउँदै मेरो मन कतिबेला ऊतिर ढल्कियो– मैले पत्तै पाइनँ ।
थाहा छैन मैले उसमा के देखेँ– छ महिना बित्दानबित्दै बिहेको प्रस्ताव राख्न भ्याएँ ऊ समक्ष । त्यसभन्दा पहिले मैले कामको सिलसिलामा बाहेक ऊसँग राम्ररी बोलेको पनि थिइनँ । मैले उसमा देखेको यौटै खुबी सायद उसको सुन्दरता नै हुनुपर्छ । ऊ अनिद्य सुन्दरी थिई । हुन त आजको कस्मेटिक वल्र्डमा हरेक युवती सुन्दर नै देखिन्छन् । यद्यपि सुप्रियामा मैले के देखेर विवाहको प्रस्ताव राखेँ, म आफैँलाई थाहा छैन । म भर्खरभर्खर जवान भएको थिएँ– सायद त्यसैले । या त्यो पहिलो स्त्री शरीर थियो जो मेरो त्यति नजिक भएको थियो । अथवा यो केवल अपोजिट सेक्सप्रतिको आकर्षण वा मेरो शरीरको माग मात्र थियो– म आज पनि खुट्याउन सक्दिनँ ।
मेरा हजुरबुबाले त भन्नुभएको पनि थियो– ‘केवल नाम थाहा भएको भरमा केटीसँग बिहेको प्रस्ताव राख्न पुगेछस् । यसरी बिहे गरेर जीवन समझदारीपूर्वक बित्छ भन्ने विश्वास छ तँलाई ?’ परिवारले खोजेर गरेको बिहे पनि त त्यस्तै हुन्थ्यो आखिर ! त्यसबेला मैले सोचेको थिएँ ।
त्यस दिन अप्रत्याशित रूपमा, मेरो टेबलछेउमा उभिएर केही लेख्दै गरेकी सुप्रियालाई मैले भनेथेँ– ‘सुप्रिया ! इट्स साउन्डस् स्टुपिड, बट…यदि तिमी अन्त कतै इन्भल्भ छैनौ, यदि तिमीलाई कुनै आपत्ति छैन, यदि म तिमीलाई आफ्नो जीवनसाथी बनाउन योग्य लाग्छु भने, के तिमी मसँग बिहे गछ्र्यौ ?’
मलाई याद छ– त्यसबेला उसको मुख खुलेकोखुल्यै भएको थियो । त्यसबेला उसको अनुहारमा आश्चर्य बढी थियो या अविश्वास, म आज पनि भन्न सक्तिनँ । ऊ बोल्न नसकेको देखेर मैले नै फेरि भनेथेँ– ‘यो मात्र अफर हो मेरो, आदेश होइन । तिमीसँग च्वाइस छ आफ्नो इच्छा बमोजिम गर्ने । मलाई थाहा छ आजको जमानामा केटाकेटीहरू छिट्टै इन्गेज भैसक्छन् । यदि त्यस्तो केही छ भने विश्वास गर– म नराम्रो मान्ने छैन । न तिम्रो काममा कुनै फरक पर्नेछ । तिमीले चाहँदासम्म तिमी यहाँ काम गर्न सक्नेछ्यौ । हामी साथी भैरहन सक्छौँ । एउटा सम्बन्ध बन्न नसक्नुले म अरू सम्बन्धलाई बिगार्ने छैन, आई प्रमिस । सुप्रिया, तिमी आफ्नो इच्छाअनुसार निर्णय गर्न सधैँ स्वतन्त्र छ्यौ ।’
त्यसबेला ऊ केही बोल्न सकिनँ, तर भोलिपल्ट आएर उसले मलाई उसकी आमासँग कुरा गर्न आग्रह गरी । केही दिनपछि बुबा र म गएर उसकी आमासँग कुरा गर्यौं । म त केवल उपस्थित मात्र थिएँ, कुरा त बुबाले नै गर्नुभयो ।
हाम्रो जात नमिल्ने भएकोले उनले प्रस्ताव अस्वीकार गर्छिन् कि भन्ने मेरो आशङ्का उनीसँगको कुराकानी पछि समाप्त भयो । उनलाई प्रद्युम्नमानको छोरालाई छोरी दिनमा कुनै आपत्ति थिएन । तर आफ्नो निम्छरो स्थिति र बिरामी अवस्थाका कारण उनले छोटो, छिटो र एकदमै साधारण बिहेको प्रस्ताव राखिन् । बुबालाई उनको प्रस्ताव पटक्कै चित्तबुझेको थिएन ।
म उहाँको एक्लो सन्तान थिएँ, त्यसैले उहाँ आफ्ना सबै सपना, सबै इच्छा मैमाथि खर्च गर्न चाहनुहुन्थ्यो । यही कुरालाई लिएर केही विवाद भए पनि आखिरमा सुप्रियासँग मेरो बिहे एकदमै साधारण किसिमले गुह्येश्वरी मन्दिरबाट भयो । बिहेपछि भएको रिसेप्सनको पार्टी भने यति भव्य थियो– मानिसहरू आज पनि त्यसलाई याद गर्दछन् । यसरी एकदिन सुप्रिया केसी मेरो आधा अङ्ग, सुप्रिया प्रधान बनेर मेरोे घरमा भित्रिई ।
उसँग बिहे गरेको महिना दिन बित्दानबित्दै मलाई आफूले भयानक गल्ती गरेको बोध भैहाल्यो । मेरो रोजाइ सतही रहेछ । गलत रहेछ । मैले अफिसमा केही घन्टा साथमा बिताएर सुप्रियालाई जस्तो पाएको थिएँ– त्यसको ठीक विपरीत थिई ऊ ! घमण्डी, सानो सोच भएकी, आफूले गरेका सबै कुरा सही मान्ने उसको हृदय दया भन्ने शब्दसँग अपरिचित थियो सायद । त्यसैले हरेकलाई हेयदृष्टिले हेर्थी । होच्याउँथी । ऊ र मेरोबीचको असमानताको आयतन आकाश र धरतीबीचको दूरीजत्तिकै थियो । त्यसैले नै होला ऊ मेरो घरमा मात्र भित्रिन सकी, मेरो जिन्दगी र मनमा होइन । मैले आफ्नोतर्फबाट कोसिस नगरेको होइन, ऊसँग तालमेल बसाउन तर उसको मनमानीको अन्त्य थिएन । न कुरा सुन्थी, न रियलाइज गर्थी । उसको स्वभाव यति विचित्रको थियो– म सम्झौताको कुनै विकल्प भेट्टाउँदिनथेँ । म सौम्य, शान्त थिएँ, उसको उच्छृङ्खलताको कुनै सीमा थिएन । मलाई भगवानमाथि अटुट आस्था थियो । तर ऊ पैसालाई भगवान मान्थी । कहाँ पशुपतिको साँझको आरती हेरेर घर फर्कन रुचाउने म, कहाँ मेरी पत्नी– जसलाई मानिसको भीडमा लाम लाग्नुपर्दा रिँगटा छुट्थ्यो । मेरो आग्रहमा कहिलेकाहीँ साथमा मन्दिर गई भने पनि ऊ बाहिरैबाट हात जोडेर छुट्टी पाउँथी । घरमै पनि फुपूले सधैँ पूजा गर्ने मन्दिरमा ऊ आक्कलझुक्कल मात्र पस्थी । जब कि म फुर्सद मिले सधैँजसो फुपूको पूजामा सम्मिलित हुन रुचाउँथे । फुर्सदको बेला म किताब पढेर, पुराना गीत गजलहरू सुनेर परिवारसँग समय बिताउन रुचाउँथेँ । ऊचाहिँ डिस्को र क्यासिनोलाई आफ्नो सान मान्थी । सपिङ् र ग्यादरिङ्लाई प्राथमिकता दिन्थी । म तीजमा चिटिक्क गरगहनाले सजिएर, सिँगारिएर व्रत बस्ने, मन्दिर जाने स्वास्नीमानिस देखेर मुग्ध हुन्थेँ । ऊ यसलाई आडम्बर, बन्धन मान्थी । म उसलाई आधा अङ्ग मानेर बराबरीको दर्जा दिन चाहन्थेँ । ऊ मेरो मालिक बन्ने इच्छा राख्दथी ।
जुन सुप्रियालाई म सधैँ अफिसमा देख्दथेँ मधुर मुस्कानका साथ, मीठो बोलीका साथ, त्यस सुप्रियालाई म आज खोजेर पनि कहीँ भेट्टाउँदिनथेँ ।
आफ्नोतर्फबाट म पूर्ण कोसिस गर्थें तर सुप्रियाले यस कुराको कदर गरेको जस्तो कहिल्यै लागेन । म उसको मन राख्न कहिलेकाहीँ ऊसँगै डिस्को र क्यासिनो पनि गैदिन्थेँ, जब कि मलाई घृणा नै लाग्दथ्यो त्यस्ता ठाउँहरूसँग, जहाँ मानिसभित्रको जनावर यस्तरी जागेको हुन्थ्यो कि उसले उचित–अनुचितको सीमा बिर्सिएको हुन्थ्यो । तर सुप्रिया कहिल्यै बुझ्दिनथी यो कुरा । कहिलेकाहीँ त म सोच्न बाध्य हुन्थेँ– सायद म नै गलत छु ।
वास्तवमा मलाई डिस्कोको झिलिमिली लाइटभन्दा जूनको मध्यम उज्यालो प्यारो लाग्थ्यो । क्यासिनोमा जुवा खेलेर पैसा हार्नुभन्दा असहायको सहायता गर्नमा गर्व महसुस हुन्थ्यो । जाँडका ग्लासहरूको आवाजभन्दा स्वास्नीमान्छेको नाडीमा बज्ने चुराहरूको आवाजले मदहोस बनाउँथ्यो मलाई । हाइहिल स्यान्डलको टकटकभन्दा पाउजूको मधुर झङ्कार मनपथ्र्यो । तर सुप्रिया ? थाहा छैन सुप्रिया किन त्यस्ती थिई, जबकि उसकी आमा त्यति नै सोझी, सरल थिइन् । बिचरी मर्ने बेलासम्म यही भनिरहेकी थिइन्– ‘प्रत्यूष, मेरा छोराछोरी किन तपाईं जस्तो भएनन् ?’
म के भन्न सक्थेँ र ! तर मैले मनले प्रयास गरेथेँ उनलाई बचाउन । यही कोसिसमा बिहेको लगत्तैपछि म सुप्रिया र उसकी आमालाई लिएर अमेरिकासम्म पुगेँ तर क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको थियो । अमेरिका त के, दुनियाँको कुनै पनि ठाउँमा ठीक हुनसक्ने अवस्था थिएन । तथापि मैले गरेको प्रयासका लागि सुप्रियाकी आमा मनैदेखि आभारी थिइन् । उनी बारम्बार मलाई धन्यवाद भन्थिन्, आशिष दिन्थिन्, ठूलै उपकार मान्थिन् मेरो । तर सुप्रियाका लागि यस्ता सबै कुरा सामान्य हुन्थे । ऊ त मेरो सम्पत्तिमा आफ्नो पूर्ण अधिकार मान्थी । जताउँथी । म चाहन्थेँ– ऊ ममाथि आफ्नो अधिकार जताओस् । मनले आफ्नो मानोस् । तर उसका लागि त मेरो धन–सम्पत्ति नै सबै कुरा थियो । सायद यही पिरोधाभासका कारण हाम्रो वैवाहिक जीवन मैले चाहेर पनि सोचेजस्तो हुनसकेन ।
सुप्रिया सुन्दर, अति सुन्दर थिई– मुख बन्द राख्दासम्म । बोल्न मुख खोलेपछि उसको त्यो सुन्दरताको कुनै चार्म बाँकी रहन्थेन ।
सुप्रियासँग मेरो बिहे भएको वर्ष दिन बित्दानबित्दै सुप्रियाकी आमाको मृत्यु भयो । एक्लिएका उसका भाइ र बहिनीलाई सुप्रियाले डेरामा छोड्न मानिन । आफ्ना भाइ र बहिनीलाई हाम्रो घरमा ल्याउन आग्रह के, दवाव नै दिई । हजुरबुबाले त उसको कुरा सुन्न पनि चाहनुभएको थिएन तर बुबाले अनिच्छापूर्वक, अर्को कुनै व्यवस्था नहुन्जेलसम्मका लागि भनेर उसको कुरा मानिदिनुभयो ।
उहाँका अनुभवी आँखाले सुप्रियाको सम्पत्तिप्रतिको लोभ, लालच र सम्बन्धप्रतिको बेवास्ता छाम्न भ्याइसकेका थिए सायद । त्यसैले उहाँले कलह–क्लेशको साटो त्यो बाटो रोज्नुभएको थियो । उहाँको आँखामा मेरा लागि चिन्ता प्रस्टै देख्न थालेको थिएँ मैले त्योताका । त्यसैले पनि झन् धेरै गिल्टी फिल गर्थें म–आफ्नो गलत डिसिजनप्रति ।
मेरा लागि सुप्रियाका भाइ–बहिनीहरू मेरा आफ्नै भाइ बहिनीसरह थिए । त्यसैले मैले त विरोध गर्ने कुरै थिएन अतः १९ वर्षको सुमन्त र सोह्र वर्षकी श्रेया, प्रधान निवासमा भित्रिए । त्यसबेला केही समयका लागि भनेर भित्रिएका भए पनि उनीहरू आज चार वर्ष बितिसक्दा पनि प्रधान निवासमै थिए । हुन त केही महिना बितेपछि बुबाले उनीहरूको अन्तै व्यवस्था गरिदिन नखोज्नुभएको पनि होइन तर सुप्रियाले मानिन । बुबाको मृत्युपछि मैले पनि कोसिस गरेको थिएँ तर सुप्रियाको कलह र रुवावासीसँग मेरो केही सीप लागेन ।
मेरा लागि यस घरको अर्को महत्वपूर्ण व्यक्ति थियो वासु । अर्थात् वासुदेव थापा । दुब्लो–पातलो, अल्पभाषी वासुलाई हेरेर कसैले पनि भन्न सक्थेन उसको त्यो पातलो ज्यानभित्र सगर जत्रै मन र मुटु अटाएको थियो भनेर । बाटोघाटोमा भेटिएका घाइते भुस्याहा कुकुर, चराचुरुङ्गी र जनावरलाई समेत उठाएर अस्पताल पुर्याउने ऊ कैयौँपटक मजाकको पात्र बन्न पुग्थ्यो । गहुँ गोरो वर्णको ऊ आफ्ना आँखाका कारण बडो आकर्षक देखिन्थ्यो । लामालामा परेलाले ढाकेका उसका गहिरा, काला आँखा नपत्याउँदो रुपले ठूला थिए । मैले अरू कुनै पुरुषको त्यति आकर्षक आँखा देखेको थिइनँ ।
त्यसो त ऊ हाम्रो घरको ड्राइभरको छोरो थियो । हजुरबुबा र बुबालाई खुब रिझाएका थिए वासुको बाबुले । त्यसैले वासुलाई मेरा हजुरबुबा र बुबाले कहिल्यै मलाईभन्दा फरक व्यवहार गर्नुभएन । आमाविनाको वासुका लागि प्रधान मेन्सनमा मलाईजत्तिकै छुट थियो । झन् वासुको बाबुको मृत्युपछि त वासु प्रधान निवासको सदस्य नै भएको थियो । सँगै हुर्किबढेका हामीबीचको मित्रतालाई मानिसहरू कृष्ण–सुदामाको मित्रताको संज्ञा दिन्थे ।
अनौठो थियो वासुको स्वभाव । ऊ धेरै बेर एकै ठाउँमा टिक्न सक्दैनथ्यो । एक ठाउँबाट अर्को ठाउँ घुमिरहन्थ्यो । न काम गर्ने जाँगर थियो, न पैसा कमाउने इच्छा । जहाँ जे भेट्यो त्यही खायो, जहाँ जे पायो त्यही लगायो ।
बुबा हुन्जेल उहाँले कति कोसिस गर्नुभयो उसलाई कुनै काममा लगाउन तर वासु त वासु नै थियो । ऊ कहीँ टिकेन । त्यसपछि मैले कति प्रयास गरेँ तर त्यो घुमन्तेलाई सही बाटोमा ल्याउन सकिनँ ।
सुप्रिया घरमा नभएको बेला ऊ निर्धक्क हाम्रै बेडरुममा, हाम्रै बेडमा सुतिदिन्थ्यो । मेरा लुगाहरू चाहे उसलाई फिट होस् या नहोस्–कसैसँग नसोधी लगाइदिन्थ्यो, जुन सुप्रियालाई पटक्कै मन पर्दैनथ्यो ।
आफ्नो मन नपराइलाई लुकाउने कोसिस पनि गर्दिनथी ऊ । स–साना कुरामा अपमान गरिदिन्थी उसको तर वासु अपमानित हुनेहरूमा कहाँ पथ्र्यो र ?
सुप्रिया उसलाई ‘जुका’ भन्थी जुन मेरो शरीरमा टाँसिएर रगत चुसिरहेछ ।
अरूका लागि जे भए पनि मेरा लागि ऊ एउटै मात्र यस्तो साथी थियोे, जो परिआएको खण्डमा ज्यान दिन मात्र होइन, ज्यान लिन पनि पछि पर्ने थिएन । थाहा छैन मेरो यस विश्वासको आधार के थियो ? तर म उसमाथि अटुट विश्वास गर्थें, यो सत्य हो ।
हजुरबुबाको मृत्युपछि थाहा छैन उसलाई के सनक चढ्यो, अथवा सुप्रियाको कुन व्यवहारले बिझायो, ऊ उतै बस्ने गरी पोखरा जान तम्सियो । कति सम्झाएँ काठमाडौँमै केही काम गर भनेर तर ऊ त वासु न ठहरियो ? सम्झाएर सम्झने खालको भइदिएको भए आज ऊ पनि मेरै हाराहारीमा उभिएको हुने थियो सायद ।
पोखरामै पनि उसका लागि मैले कुनै व्यवसाय सुरु गरिदिने कोसिस गरेँ तर उसले भन्यो– ‘यार ! त्यसै पनि तेरी स्वास्नी तातो चिम्टाले डामे पनि तेरो शरीर नछोड्ने जुका भन्छे मलाई, त्यसमाथि मेरो बिजनेसका लागि पोखरासम्म पैसा लगाउन पुगिस् भने थाहा छैन के गर्छे ? त्यही पनि यतिका सब त गरि नै रहेको छस् मेरा लागि, अब त कमसेकम मलाई आफैँ केही गर्ने कोसिस गर्न दे ? तेरो पिठ्यूँविना बाँच्न सिक्न त दे…।’
उसको स्वरको कम्पनले मलाई भित्रसम्म हल्लाएको थियो । मैले भन्न खोजेथेँ–‘…वासु…यार…।’
‘छोड्न यार…,’ उसले आँखा पुछेर मेरो पिठ्यूँमा धाप मार्दै भनेथ्यो– ‘केही गर्न सकिनँ भने तँ त छँदैछस् नि, अन्त कहाँ जान्छु र म । मुल्लाह की दौड मस्जिद तक…।’
त्यसपछि आफ्ना सीमित सामानहरूको साथ ऊ पोखरा हिँडेथ्यो ।
ऊ घरबाट निस्केपछि सुप्रियाले मुक्तिको सास फेरेकी थिई । म कैयौँ दिन सामान्य हुन सकेको थिइनँ । तर हप्ता दिन बित्दानबित्दै ऊ फेरि काठमाडौँमै थियो । मेरो सामुन्ने ।
‘यार, हप्ता बित्दानबित्दै यस्तो लाग्यो– मैले तँलाई नदेखेको शताब्दी बितिसक्यो । तँसँग अलग बस्ने बानी जो छैन, अब बानी नपर्दासम्म त…।’
थाहा छैन ऊ अरू केके भनिरह्यो तर मैले उसको अनुहारमा मप्रति अनौठो स्नेह छल्किरहेको बाहेक अरू केही सुनिनँ, अरू केही देखिनँ ।
उसलाई फेरि घरमा देखेर सुप्रियाले नाक खुम्च्याउँदै भनी– ‘प्रधान निवासको भात नै यस्तो छ कि यसको लत लागेकाहरूलाई बाहिरको भात पच्दैपच्दैन ।’
‘सुप्रिया, बोल्दा दायाँबायाँ हेरेर बोल्ने गर किनभने यहाँको भातमा बाँधिनेहरू अरू पनि थुप्रै छन् ।’ वासुको जवाफले सुप्रियाको दिमाग घुमाइदिन्थ्यो । उसले च्याँठिदै भनेकी थिई ‘सटअप ! औकात हेरेर बोल्ने गर, यो सोचेर बोल्ने गर कि कहाँ उभिएका छौ !’
‘म त्यो छतमुनि उभिएको छु, जहाँ मेरो जरा नभए पनि जिन्दगी अवश्य जोडिएको छ, जुन कुनै सुप्रियाको प्रयासले टुट्ने त के, हल्लनेवाला पनि छैन ।’ वासुको जबाफ यस्तै हुन्थ्यो जसका कारण सुप्रियाले निरुत्तर हुनैपर्दथ्यो ।
सुरुसुरुमा म मध्यस्थता गर्ने, हस्तक्षेप गर्ने कोसिस गर्दथेँ तर यो त सधैँको किचलो थियो । कहिल्यै नटुङ्गिने । त्यसैले म तटस्थ बस्थेँ, तमासा हेर्थें, बस् । म कसैको पक्षमा लागेर कहिल्यै बोल्थिनँ । त्यसैले पनि सुप्रिया झन् बढ्ता चिढिन्थी । ऊ चाहन्थी– म वासुलाई यस्तरी अपमानित गरेर घरबाट निकालौँ– ऊ फेरि फर्केर फेरि कहिल्यै प्रधान निवासमा नआओस् ।
जब वासु र म चेस खेल्न बस्थ्यौँ तब म दुनियाँ बिर्सन्थेँ । तर, आजसम्मको हाम्रो खेलमा जित सधैँ मेरो नै हुन्थ्यो । वासु ज्यान लडाएर कोसिस गर्दथ्यो मलाई हराउने तर सक्दैनथ्यो । उसको ठूलो अभिलाषा थियो एकपटक मलाई चेसमा हराउने तर चेसको बाजीमा उसले मात्र होइन, आजसम्म मसँग चेस खेल्ने कसैले पनि मलाई जित्न सकेको थिएन । कहिलेकाहीँ म हाँसो गर्दै उसँग भन्थेँ– ‘तँलाई त्यति नै रहर छ मलाई हराउने भने म हारिदिन्छु नि त, तँसँग हार्नमा मलाई केही आपत्ति छैन…।’
‘तर मलाई आपत्ति छ…,’ ऊ तीव्र विरोधका साथ भन्दथ्यो– ‘जित भनेको आफ्नो कोसिसले हुनुपर्दछ । यसरी त… जित र दयामा के फरक रह्यो र…? हेरिराख् एकदिन म तँलाई हराएरै छोड्छु, चाहे अरू कसैको दिमाग सापट लिएर नै सही, म तँलाई हराउँछु, पक्का…।’
उसको त्यो अभिलाषा अहिले आएर पूरा भएथ्यो– बिनीको मद्दतले !
पोखरा बसे पनि ऊ हप्ता–दस दिनमा काठमाडौँ आइपुगेकै हुन्थ्यो । कहिलेकाहीँ मै पनि पोखरा पुगिदिन्थेँ । हाम्रो मित्रता आज पनि कायमै थियो । यसमा सुप्रियाको या अरू कसैको नजर लाग्नसकेको थिएन ।
०००
अचानक एयरहोस्टेसले आएर मेरो ध्यान भङग गरी । फर्याक र फुरुक गरेर विनाकाममा दसफेर मेरोछेउबाट ओहरदोहोर गरिरहेकी उसलाई देखेर मलाई त्यसैत्यसै अरूचि जागेर आयो उसप्रति । मैले उपेक्षापूर्वक टाउको बटारेर बाहिर हेरेँ ।
त्यो सानो झ्यालबाट देखिएको जति दृश्यमा सिमलको भुवाजस्ता हल्काफुल्का बादलका टुक्राहरू यताबाट उता दौडिरहेको देखिन्थ्यो । तल, धेरै तल कुनै बालकले आफ्नो कपीमा कोरेको बाङ्गोटिङ्गो घर्काजस्तै आकारको खोला बगिरहेको देखिन्थ्यो । पहाडका थुम्काहरू आफू अग्लो देखिन एकआपसमा प्रतिस्पर्धा गरिरहेझैँ देखिन्थे ।
प्लेनको यात्रा मेरो रोजाइमा कहिल्यै परेन । मलाई ड्राइभ गर्नै मजा लाग्थ्यो । गाडीमा आफूलाई मनपरेको गीत बजाएर त्यसैको धुनमा गुनगुनाउँदै ड्राइभ गर्न मलाई खुब मन पथ्र्यो । प्लेनको यात्रा त मलाई बाध्यताजस्तै लाग्थ्यो । त्यसो त मेरो जीवनमा अरू पनि यस्ता थुप्रै बाध्यता थिए, जसलाई म बेहोरिरहेको थिएँ । थाहा छैन किन ? के म साह्रै कमजोर थिएँ ?
त्यसबेला मलाई फुपूको एकदमै याद आयो ।
मेरी फुपू ! मेरा बुबाकी दिदी, कुवेरमानको प्रतिष्ठित र सम्पन्न परिवारमा खोटो भाग्य लिएर जन्मिएकी एक मात्र छोरी । मैले आफ्नी आमाको काख र स्नेह त पाउन सकिनँ तर फुपूको आफ्नोपनमा सधैँ आमाको ममता र वात्सल्य भेट्टाएँ । बुबाभन्दा करिब ४० मिनेट मात्र जेठी, बुबासँग गर्भ सेयर गरेर जन्मिएकी फुपूको जीवन जसरी बित्यो, त्यो सुन्दा पनि कहाली लाग्छ ।
उहाँले भोगेर आउनुभएको त्यो कहालीलाग्दो जीवनको त कल्पना पनि गर्न सक्थिनँ म ।
मैले सुनेअनुसार त्यो जमानामा नर्सिङ् पढ्दैगरेकी फुपूले आफैँलाई पढाउने एकजना टिचरलाई मनपराउनु भएको थियो तर हजुरबुबाको कट्टरताले गर्दा उहाँको त्यो मनपराइ सम्बन्धमा परिणत हुन पाएन । हुन त हजुरबुबाले उहाँलाई रोज्ने मौका दिनुभएको थियो रे– या त बाबुआमाको इज्जत र अथाह सम्पत्ति, मानसम्मान या फेरि एकदमै कमजोर आर्थिक स्थितिको, एकदमै ठूलो परिवारको जिम्मेवारी बोकेको बाहुन परिवारको केटा ।
हजुरबुबाले स्पष्ट भनिदिनु भएथ्यो– आफ्नो जातभन्दा बाहिर गएर आफूले रोजेको केटासँग विवाह गर्ने भए फुपूले लगाएको लुगामा घर छोडेर जाने हिम्मत गर्नुपर्नेछ ।
त्यसबेला थाहा छैन के सोचेर फुपूले त्यो हिम्मत गर्न सक्नु भएनछ । सायद उहाँको संस्कारले त्यसरी सबै चीज लत्याएर, सबै नाता तोडेर जान दिएन उहाँलाई । उहाँले आफ्नो खुसीलाई भन्दा परिवारको इज्जत र साथलाई महत्व दिएर त्यस सम्बन्धलाई त्यतिकै छोडिदिनुभयो ।
त्यसको केही समयपछि हजुरबुबाले खोजेको, आफ्नो जातको, आफ्नो स्तरको केटासँग बडो धुमधामका साथ उहाँको बिहे भयो तर उहाँको दुर्भाग्य– वैवाहिक जीवनको सुख उहाँको भाग्यमै थिएन सायद । बिहे गरेको वर्ष दिन पनि नहुँदै दुर्घटनामा परेर उहाँका पतिको मृत्यु भयो ।
उहाँका पतिको परिवारले त्यस मृत्युको जिम्मेवार उहाँलाई
नै मानेर घरबाट निकालिदिए । फलस्वरूप छ महिनाकी गर्भवती फुपू प्रधान निवास फर्कनुभयो ।
यस घटनाले हजुरबुबालाई ठूलो आघात पुर्यायो । आफ्नो कट्टरतामाथि पछुताउनुभएको हजुरबुबाले सायद त्यसैले पनि होला बुबाको र मेरो अन्तरजातीय बिहे त्यति सजिलै स्वीकार्नु भएको ।
त्यो दिन र आजको दिन ! फुपूले मानौँ आफूलाई सारा संसारबाट अलग गराउनुभयो । न घरबाट बाहिर कहीँ जानुहुन्थ्यो, न रङ्गीन लुगा लगाउनुहुन्थ्यो, न हामीसरहको खाना खानुहुन्थ्यो । उहाँ आफ्नो खाना छुट्टै भन्छामा बनाउनुहुन्थ्यो । आफैँले बनाएको रुखोसुखो खाएर या त आफ्नो कोठामा या फेरि पूजाकोठामा बसेर प्रार्थना गरिरहनुहुन्थ्यो । अथवा सोचिरहनुहुन्थ्यो । त्यसबाहेक उहाँको जाने यौटै ठाउँ थियो– डाक्टर महतको क्लिनिक । डाक्टर सुबोध महत नाम चलेका फिजिसियन थिए । वर्षौंवर्षदेखि फुपूको स्वस्थ्यसम्बन्धी सबै खाले समस्या उनैले हेर्थे । फुपू बिरामी पनि त भैरहनुहुन्थ्यो !
त्यसपछि पनि हजुरबुबा र बुबाले कत्ति कोसिस गर्नुभयो, उहाँलाई नर्मल लाइफमा फर्काउन तर कसैको केही सीप लागेन ।
धेरै वर्ष बितिसकेको थियो । उहाँको गर्भे टुहुरो सन्तान सुदर्शन अब जवान भैसकेको थियो तर फुपूको दिनचर्या उस्तै थियो । सुदर्शन मभन्दा जेठो थियो तर फूपुलाई उसको बिहेको कुनै चिन्ता थिएन सायद । मैले कुरा चलाएको थिएँ दुईचारफेर तर न सुदर्शनले न फूपूले कुनै चासो देखाए । त्यसैले मैले पनि चिन्ता गर्न छोडिदिएँ
हजुरबुबाले आफू मर्नुभन्दा केही समयअघि थापाथलीको पुरानो घर, टन्न सेयर र सम्पत्ति उहाँको नाममा गरेर छोड्नुभएको थियो तर फुपूले त्यो लिन मान्नु भएन । मैले जिद्दी गर्दा गहभरि आँसु पारेर भन्नुभयो– ‘तेरो यत्रो ठूलो घरमा एउटै कोठा ओगटेकी छु बाबु मैले । योभन्दा धेरै मलाई चाहिँदा पनि चाहिँदैन, धेरै कुराबाट वञ्चित हुँदैआएकी छु, अब…अब रित्तो दरबार दिएर घर र परिवारबाट अलग नगर मलाई । बिन्ती…।’
उहाँले त्यसो भनेपछि मैले केही भन्न सकिनँ । फुपू आज पनि हामीसँगै हुनुहुन्थ्यो र साथै उहाँको छोरा सुदर्शन पनि ।
सुदर्शन एकदमै दब्बु स्वभावको, कसैको पनि आँखामा हेरेर नबोल्ने, दुब्लो न दुब्लो दिशा–भ्रमित युवक थियो । हरदम सोचिरहने, सबैसँग दब्ने, डराउने सुदर्शन कुनै काममा टिक्न सक्थेन । त्यसैले हल्लेर खान्थ्यो ।
फुपू कहिले पनि कडा स्वरमा बोल्नु हुन्नथ्यो तर पनि मलाई सधैँ यही लाग्थ्यो– सुदर्शन फुपूसँग अत्यधिक डराउँथ्यो, कुन्नि किन हो सधैं बँच्न खोज्थ्यो उहाँको अगाडि पर्नबाट ? तर मेरा लागि त फुपू आमाकै स्वरूप हुनुहुन्थ्यो । उहाँ मेरो एकदमै ख्याल राख्नुहुन्थ्यो । अचेल त झन् म अक्सर बिरामी परिरहने भएकाले मेरो रेखदेख उहाँले नै गर्नुहुन्थ्यो । यहाँसम्म कि सुप्रिया समेत ‘म त बिरामी मान्छेसँग बसेँ भने आफू पनि बिरामीजस्तै हुन्छु, हजुर प्लिज नराम्रो नमानिस्योस् है ! अचेल त झन् यतिधेरै पसीना आउँछ हजुरलाई, यो पसीनाको गन्धले गर्दा म त सुत्न पनि सक्तिनँ हजुरसँग, त्यसैले म तलै सुत्छु । त्यसमाथि पनि हजुरको आवश्यकताका सबै सामान यहाँ छँदैछन्, केही चाहिए काकालाई इन्टरकममा तल खबर गर्न लागाइस्योसन् है…!’ भनेर तलको आफ्नो बेडरुममा सुत्न जान्थी, जसलाई उसकी बहिनी श्रेया ‘दिदीको कोप भवन’ भन्थी । यस्तोमा बाथको कारण सितिमिती माथि उक्लन नखोज्ने मेरी फुपू नै यस्तो हुनुहुन्थ्यो जो मेरो खाना र औषधीको खोजखबर राख्न दुई तलामाथि उक्लनुहुन्थ्यो । मेरो चिन्ता गर्नुहुन्थ्यो । उहाँको उपस्थितिले मलाई आमाको कमी पूरा भएको अनूभूति गराउँथ्यो ।
त्यस घरको अर्को एउटा महत्वपूर्ण व्यक्ति थियो कमलकान्त । त्यसो त ऊ मेरो घरमा बस्तैनथ्यो । तथापि उसको धेरैजसो समय मेरैवरिपरि बित्दथ्यो । ऊ मेरो लिगल एडभाइजर मात्र नभएर मेरो राइट ह्यान्ड नै थियो । ऊ नै एउटा यस्तो व्यक्ति थियो जोसँग म बिजनेससँग सम्बन्धित मात्र होइन, त्यसबाहेकका हरेक कुरामा डिस्कस गर्थें । उसँग डिसकस नगरी कुनै निर्णय गर्थिनँ ।
एकदम कम बोल्ने, आँखामा अनौठो चमक भएको कमलकान्तको वासस्थान प्रधान निवासबाट त्यति टाढा थिएन । घरनजिकै भए तापनि ऊ केवल सुत्नको लागि मात्र पुग्न भ्याउँथ्यो त्यहाँ । बाँकीे उसको सारा समय मेरोवरिपरि नै बित्दथ्यो, चाहे त्यो अफिसमा होस् या घरमा । सुप्रिया उसलाई पनि देखिसहन्नथी । सधैँ भन्थी– ‘खैरा आँखा भएको मान्छेको कहिल्यै भरासा गर्नहुन्न ।’
फुपू भन्नुहुन्थ्यो– ‘भन्दछन् चोरको आँखामा मात्र यस्तो खालको चमक हुन्छ रे, तर थाहा छैन वकिलको आँखामा यो चमक कसरी आयो…।’
उनीहरूले जे भने पनि मलाई कमलकान्तमाथि भरोसा लाग्दथ्यो । त्यसैले हो या आफ्नो अस्वस्थताको कारण अथवा अचेल एकदमै धेरै नकारात्मक सोचाइ राख्न थालेको भएर हो, मैले कमलकान्तसँग आफ्नो ‘विल’ (वारिसनामा) बनाउन लगाएथेँ, जुन उसैसँग सुरक्षित थियो ।
मेरो घरसँग जोडिएका हरेक मान्छेहरू यस्ता थिए, जसलाई हजुरबुबा र बुबाले कहीँ न कहीँ सहयोग नै गर्नुभएको थियो । हुन त कमलको बाबुको मृत्यु मेरो बुबाको गाडीसँग ठोक्किएर भएको थियो तथापि यसमा बुबाको कुनै गल्ती थिएन । तर पनि बुबाले उनीहरूका सारा परिवारको जिम्मेवारी उठाउनुभयो । कमललाई पढाइलेखाई वकिल बन्न मद्दत गर्नुभयो । उसकी बहिनीको राम्रो घरको केटा खोजेर बिहे गरिदिनुभयो । उसकी आमाको नाममा धेरै पहिले नै, सानै सही, घर किनिदिनुभयो । यसरी लगभग भोकभोकै बाँचिरहेको कमलकान्तको परिवारको जीवनस्तर मेरा हजुरबुबा र बुबाले कहाँबाट कहाँ पुर्याइदिनुभयो । तर पनि कहिलेकाहीँ मलाई लाग्दथ्यो, कमलकान्तले आफ्नो बाबुको दुःखद मृत्युलाई अझैसम्म बिर्सन सकेको थिएन । मलाई देखेपिच्छे उसको आँखामा अनौठो भाव उत्रेको अनुभूत गर्थें म । उसको आँखाको त्यो अनौठो भाव, के त्यो मेरो भ्रम मात्रै थियो त…?
क्रमशः