समाचार
काठमाडौँ ।
नेपाल–रुस साहित्य समाज र रुसी सदन काठमाडौंको आयोजनामा रुस र नेपालका समकालीन महिला स्रष्टाहरूका कविता समेटिएको द्वैभाषिक कविता संग्रह ‘मातृभूमि र प्रेम’ को नेपालमा लोकार्पण सम्पन्न भयो । कमलपोखरीस्थित रुसी सदनको हलमा सम्पन्न साहित्यिक कार्यक्रममा पुस्तकको विमोचन प्रमुख अतिथी रुसी दूतावासका रिनचेन राख्शायेभ, नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंह, उपाध्यक्ष चन्द्रकान्त आचार्य ,रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभा, कवि एवं पत्रकार अभय श्रेष्ठ, कवि, गीतकार, निबन्धकार एवं समालोचक प्रा.डा. गीता त्रिपाठी, नइ एकेडेमीका अध्यक्ष इन्दिरा प्रसाई, वरिष्ठ कवि उषा शेरचन, नेपाल–रुस साहित्य समाजका महासचिव रामबिन्दु श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो ।
रुस–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित यस पुस्तकमा २० नेपाली र २१ रूसी कवयित्रीहरुका कविताहरू समेटिएका छन् । नेपाली र रूसी भाषामा प्रकाशित यस संग्रहमा नेपाली तर्फ शकुन्तला जोशी , राधिका कल्पित, अल्का मल्ल , लक्ष्मी माली, सुलोचना मानन्धर, मोमिला, कल्पना पौडेल जिज्ञासु, इन्दिरा प्रसाई, रजनीमिला, प्रगति राई, सुनिता राई कन्दङ्वा, सुष्मा खत्री रञ्जित , लक्ष्मी रुम्बा , नाज कुमारी सिंह , गीता त्रिपाठी, बिमला तुम्खेवा, लक्ष्मी थापा, कुन्ता शर्मा (चौलागााँई) , उषा शेरचन, निभा शाहहरूका कविताहरू समेटिएकाछन् । महिला, प्रेम, मातृभूमि, शान्ति र मानवीय मूल्यमान्यताहरूमा केन्द्रित यसका विषयवस्तुहरूले दुई देशका आआफ्नो विशिष्टता झल्काउनुका साथै साहित्यिक र सांस्कृतिक समबिन्दु र मित्रतालाई प्रतिबिम्बित गर्दछ ।
कार्यक्रमको शुरुमा नेपालसँग सहकार्य र मैत्री समाजको साहित्यिक आयोगकी अध्यक्ष तमारा पत्योम्किनाले मस्कोबाट पठाएको भिडियो अभिवादन प्रदर्शन गरिएको थियो । चन्द्रकान्त आचार्यको स्वागत मन्तव्यबाट शुरु साहित्यिक सत्रमा रामविन्दु श्रेष्ठले ‘मातृभूमि र प्रेम’ पुस्तकको इतिहास र तोल्स्तयको विरासतमाथि प्रकाश, प्रा. डा. गीता त्रिपाठी र कवि अभय श्रेष्ठले संग्रहमाथि समीक्षा टिप्पणी प्रस्तुत गरेका थिए । प्रमुख अतिथि रिन्चेन राख्शायेभले यस संग्रहलाई दुई राष्ट्रहरू बीचको साहित्यिक पुलको रूपमा वर्णन गरे भने रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले पुस्तकलाई प्रेमको गहिरो अन्वेषण र सकारात्मक परिवर्तन तर्फ प्रेरित गर्ने साहित्यिक शक्तिको रुपमा प्रशंसा गरिन् । रुसमा ‘मातृभूमी र प्रेम’ संग्रहको विमोचन र समीक्षा अगस्ट ५, २०२६ मा रूसी लेखक संघको वार्षिकोत्सव कार्यक्रमका बीच मस्कोस्थित संघको ह्वाइट हलमा भव्यरुपमा आयोजना भएको थियो ।
नेपाल–रुस साहित्य समाज र विश्व नेपाली साहित्य महासंघको सहकार्यमा रुस नेपाल सहकार्य तथा मैत्री समाज (रुनेसमैस) बाट प्रकाशित यो पुस्तकको संयोजन तथा सम्पादन रूसी लेखीका तथा रुनेसमैस साहित्यिक आयोगकी अध्यक्ष तमारा पत्योम्किनाले गरेकी हुन । नेपाली र रूसी नारी स्रष्टाहरूका सिर्जनालाई एउटै संग्रहमा समेटेर उहाँले दुई देशबीचको साहित्यिक आत्मीयताको एउटा सुन्दर सेतु निर्माण गर्नुभएको छ । यस संग्रहको नेपालीमा अनुवाद रामविन्दु श्रेष्ठ, दीपेश दाहाल गगन, सन्तोष पोखरेल, नाज सिंह, धनन्जय श्रेष्ठ, गोविन्द प्रसाद गौतम, कला दाहाल पोखरेल, पूर्णिमा भट्टराई, रुपेश ठाडा मगर, लिलिया स्ट्रलत्सोवा, मारिया लितेइलोभा, दीनानाथ राजभण्डारीहरूको टोलीले गरेका हो ।
कार्यक्रमको अर्को आकर्षण महान रूसी लेखक लेभ तोल्स्तोयको १९८औं जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्व बारेमा वक्ताहरुलेस्मरण गरे । कार्यक्रमको संचालन रुसी सांस्कृतिक केन्द्रकी भावना न्यौपान गर्नुभएको थियो । सभापतिको आसनबाट अध्यक्ष विष्णुबहादुर सिंहले नेपाल र रुसबीचको साहित्यिक सम्बन्ध दिगो संवाद, अनुवाद र सहकार्यतर्फ जानुपर्नेमा जोड दिंदै धन्यवाद ज्ञापनसहित समापन गर्नुभएको थियो।
‘मातृभूमि र प्रेम’ केवल कविता संग्रह मात्र नभई दुई देशका नारी स्रष्टाहरूका सिर्जनामार्फत जोडिएको साहित्यिक, सांस्कृतिक र भावनात्मक सम्बन्धको एउटा सुन्दर दस्तावेज हो भन्ने वक्ताहरुको राय थियो । संग्रहका स्रष्टाहरू तथा साहित्यानुरागीहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त लोकार्पण समारोह आफैमा भव्य र सभ्य थियो र यो नेपाल र रुसको दुइदेश बीभको मित्रताको इतिहासमा महत्वपूर्ण घट्ना पनि हो । साहित्यले जोडेको नेपाल–रुसबीचको यो आत्मीय सम्बन्ध अझ गहिरिँदै जाओस्, साहित्यिक तथा सांस्कृतिक मैत्री अझ सुदृढ हुँदै जाओस् ।
