सम्झिएछौ
उसले बिर्सिएछ
डिलिट गरेर भूतकाललाई
मेटाएर सम्झनाका पोट्रेटहरू
सम्झिएछौ
उसले बिर्सिएछ ।
म त हतारमा थिएँ
जीवन बग्ने खोला खोज्न,
सपना फुल्ने बगैँचा खोज्न,
निर्वाण मिल्ने स्थान खोज्न
किनभने
हामीले पनि बगाउनु थियोे- जीवन खोलामा
र,मिसिनु थियो कहीँ- कतै
कुनै नीलो समुद्रसँग
फुलाउनु थियो सपना भविष्यको
सुन्दर बगैँचामा
भेटाएर निर्वाण मिल्ने स्थान
प्राप्त गर्नु थियो मोक्ष र,
बिसाइदिनु थियो श्वासप्रश्वासको चौतारीमा
हाम्रो देह र आत्मा
तर सम्झिएछौ
उसले बिर्सिएछ
चुँडालेर बाधाहरू बाँधेका
ओकलेर कसमहरू खाएका
अधुरै छाडी प्रेमकहानी
फगत सम्झिएछौ
उसले भुलेछ
हाम्रो स्वर्गीय मृत्युु खोज्न
म त हतारमा थिएँ ।
(हलेसी तुवाचुङ नगरपालिका,खोटाङनिवासी चरित्र चर्चित साहित्यकार हुन् ।)
[email protected]