गीत
काठमाडौँ ।
नेपाल स्रष्टा समाजले कवि मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि–आलाप’ लोकार्पण गरेको छ । नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा .नवराज लम्साल, पवन आलोक, डा. ज्ञानु अधिकारी र कवि पाठक लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमले विचार,भावना र अनुभूतिले मात्र सुन्दर कविता जन्मिने बताए । राम्रा कविता वेदका मन्त्र जस्ता हुने भन्दै उनले पाठकको मस्तिष्क र ह्रृदयले काम पाएमात्र कविता राम्रा हुने कुरामा जोड दिए । ‘समकालीन कवितामा कवि पाठकको उपस्थिति संवेदना, प्रेम, करुणा, मातृत्व, करुवा, अनुभूति लगायतका पक्षहरूमा रहेको छ । धेरैजसो कविताहरू अनुभुतिपरक र संवेदनात्मक रहेका छन् ।’ उनले भने ।
कृतिमाथि चर्चा गर्दै चर्चित कवि डा. नवराज लम्सालले कविता लेख्नु गम्भीर विषय भएको बताए । उनले विचारको अभिव्यक्ति कविता भएको भन्दै अनुभूतिलाई बिम्बमार्फत बाहिर पठाउने क्षमता कविमा हुने बताए । डा. लम्सालको ठोकुवा थियो, ‘आजका कविता कमजोर छैनन् ।’ मधुका कविताहरू बलशाली बनेर आएको भन्दै उनले अगाडि भने, ‘मधुका कविताको हरेक हरफमा अलग कविता छ। संरचना, विषय, संगठन, अनुभूतिका हिसावले उनका कविता सुन्दर छन् । ‘डा. लम्सालले नेपाली साहित्यमा देखिएका विकृतिहरूबारे समेत चर्चा गरे । अर्का चर्चाकार डा. ज्ञानु अधिकारीले कवि पाठकका कविताले पाठकलाई सोचनीय बनाउँछ, संवेदित बनाएर सहभाव र समभावमा पुर्याउँछ मधुका कविताले समाजको आत्माको आवाज बोलेको बताइन ।
