समाचार

काठमाडौँ ।
काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मी भक्त स्याङ्तानको कथा संग्रह ‘डम्फुको आत्मालाप’ विमोचन गरिएको छ ।प्राध्यापक अरुण गुप्तो, निबन्धकार कुमारी लामा र सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् ।
प्राध्यापक अरुण गुप्तोले ‘डम्फुको आत्मालाप’ आमपाठकले नबुझ्ने तामाङ सभ्यताका विम्ब र चित्रलिपिहरु सहजै बुझिनेगरी लेखिएको दस्तावेजका रुपमा रहेको व्यक्त गरेका थिए । सञ्चारकर्मी तथा निर्देशक फूलमान बलले भने, ‘डम्फुको आत्मालाप तामाङ समुदायको आत्मा हो, तामाङको मर्म हो, तामाङको इतिहास पनि हो । यो कथा संग्रहले नेपाली साहित्यलाई नै मजबजुत बनाउँछ ।’ उनले यो कथा संग्रहले तामाङ समुदायका संस्कृति, पहिचान र जरो बुझ्न सघाउने बताए ।
निबन्धकार कुमारी लामाले नाराबाजी नगरीकन, नचिच्याईकन सालिन ढंगले आफ्नो पहिचानको दाबीलाई सशक्त ढंगले प्रस्तुत गरिएको कृतिका रुपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘तामाङ संस्कृति अध्ययनका लागि यो पुस्तक उत्तिकै उपयोगी छ ।’
आफ्नो पहिलो कथासंग्रह लिएर आएका लेखक भक्त स्याङतानले आफूले देखेका, भोगेका, भेटेका र सुनेका कथाहरुलाई नै उनेर यो संग्रह तयार पारेको बताए । कथा संग्रहमा लुङ्दर, छ्योर्तेन, न्होरला, डम्फुको आत्मालाप, म्लाङगैको आपा आदि शीर्षकका तामाङ समुदायका पात्रलाई केन्द्रमा राखेर लेखिएका ११ वटा कथा संग्रहित छन् । ‘डम्फुको आत्मालाप’लाई सांग्रिला बुक्सबाट प्रकाशित गरिएको हो ।