समाचार
केही रहरहरू समयसँगै हराउँदैनन्, बरु झन् गहिरिँदै जान्छन्। सोहनको मनमा पनि यस्तै एउटा रहर धेरै वर्षदेखि चुपचाप बाँचिरहेको थियो- आफ्नो शरीरमा एउटा अर्थपूर्ण ट्याटु बनाउने ।
ट्याटु उनको लागि केवल फेसन थिएन । त्यो एउटा सम्झना थियो, एउटा विश्वास थियो, जीवनभर आफूसँगै रहने एउटा चिनो थियो। अरूका हात, काँध वा छातीमा बनेका कलात्मक ट्याटुहरू देख्दा उनी मनमनै सोच्थे, “एक दिन मेरो शरीरमा पनि मेरो जीवनको कथा बोल्ने एउटा ट्याटु हुनेछ।”
तर जीवन आफ्नै गतिमा दौडिरहेको थियो। कामको चाप, जिम्मेवारी र समयको अभावले त्यो रहरलाई बारम्बार पछि धकेलिदियो। रहर मरेन, केवल सही समयको प्रतीक्षामा बसिरह्यो ।
त्यसैबीच शुक्रबार आयो ।
हप्ताभरि काम गरेर थाकेको शरीरलाई केही घण्टा स्वतन्त्रता दिने दिन ।
साथीभाइहरूको फोन आयो ।
“आज राति भेटौँ, मज्जाले रमाइलो गरौँ ।”
सोहनले पनि नाइँ भन्न सकेनन् ।
साँझ पर्दै जाँदा शहरको बत्ती झन् उज्यालिँदै गयो, अनि उनीहरू रातको रमाइलोमा हराउन थाले। सङ्गीतको ताल, साथीहरूको ठट्टा, गिलासहरूको ठोक्किने आवाज, हाँसो र खुसीबीच समय कसरी बित्यो, कसैलाई थाहा भएन। एउटा बारबाट अर्को, अर्कोबाट फेरि अर्को‘ रमाइलोको सिलसिला रातको अन्तिम प्रहरसम्म चलिरह्यो ।
भोलिपल्ट बिहान समुद्र किनारको चिसो हावाले उनलाई केही ताजापन त दियो, तर शरीरमा मदिराको हल्का असर अझै बाँकी थियो ।
हिजो पिएको बियरको धङधङी हटाउन आज पनि उसले एकै सासमा दुई बोटल घटघटी पार्दै बिस्तारै हिँड्दै जाँदा उनको नजर एउटा सानो ट्याटु स्टुडियोमा पुग्यो ।
सिसाभित्र देखिएका सुन्दर डिजाइनहरूले उनको वर्षौँदेखिको रहरलाई फेरि ब्युँझाइदिए ।
उनले हल्का मुस्कुराउँदै मनमनै भने,
“सायद‘ आज नै त्यो दिन हो।”
उनी ढोका खोलेर भित्र पसे
स्टुडियोभित्र छिर्नासाथ सोहनको ध्यान भित्ताभरि सजाइएका ट्याटुका नमुनाहरूमा गयो । कतै सिंहको गर्जन थियो, कतै ड्रागनको ज्वाला, कतै गुलाबका फूल, कतै धार्मिक चिन्हहरू। हरेक चित्रले एउटा कथा बोकेको जस्तो लाग्थ्यो।
काउन्टर पछाडिबाट मुस्कुराउँदै ट्याटु आर्टिस्टले सोधे,
“पहिलो ट्याटु होरु”
सोहनले हल्का मुस्कुराउँदै टाउको हल्लाए।
“हो‘ धेरै वर्षदेखि बनाउने इच्छा थियो।”
“ठीक छ, त्यसो भए राम्रोसँग सोचेर आफ्नो मनपर्ने डिजाइन रोज्नुहोस्। ट्याटु भनेको केही दिनका लागि होइन, जीवनभरिका लागि हो।”
त्यो एउटा वाक्यले सोहनलाई झन् गम्भीर बनायो। उनले हतार गरेनन्। एक(एक गर्दै डिजाइन हेरे। अन्ततः उनको नजर एउटा सानो तर अर्थपूर्ण डिजाइनमा अडियो। त्यही उनको मनमा बस्यो।
ट्याटु बनाउनु धेरै अघि पनि सोहनले आफ्नो राशिअनुसार कुन बनाउदा हुन्छ भनेर पण्डितसँग परामर्श गरेका थिएँ। उहाँले सोहनलाई ‘तराजु’ ९द्यबबिलअभ० को चिन्ह बनाउने सल्लाह दिएका थिएँ तर तराजुको ट्याटु बनाउने कुरा सोहनलाई फिटीकै मनपरेकै थिएन । पण्डितसँग सूर्यको आकृति बनाउँदा कस्ता हुन्छ भनेर सोधेका थिएँ उहाँले हुन्छ भन्नुभएको थियो । अन्ततः सोहनले ‘ॐ’ सहितको सूर्यको ट्याटु बनाउने निर्णय गरे।
आर्टिस्टले डिजाइनको स्थान नापे, छालामा हल्का मार्किङ गरे र सबै तयारी पूरा गरे।
“रेडीरु”
सोहनले गहिरो सास ताने।
“रेडी।”
मेसिनको सानो आवाजसँगै सुईले छालालाई छोयो।
पहिलो स्पर्शले सामान्य चिमोटेजस्तो मात्र लाग्यो। उनले मनमनै सोचे, “यति नै हो भने त सजिलै सहिन्छ।”
तर केही मिनेट बित्न नपाउँदै उनको शरीरले अर्कै प्रतिक्रिया दिन थाल्यो।
कानमा बजिरहेको संगीत बिस्तारै टाढिँदै गयो। आवाजहरू धमिला भए। अनुहारको रङ फिक्का बन्दै गयो। निधारमा पसिनाका साना थोपाहरू देखिन थाले।
आर्टिस्टले उनको अनुहार हेरेर सोधे,
“सबै ठीक छरु”
सोहनले जबर्जस्ती मुस्कुराउँदै भने,
“ठीकै छु‘”
तर वास्तवमा उनी ठीक थिएनन्।
आँखाअघि टाँसिएका सबै चित्रहरू घुम्न थाले। भित्ताहरू हल्लिएजस्ता लागे। शरीर हल्का हुँदै गयो, सास गह्रौँ हुन थाल्यो।
अन्तिम पटक उनले ट्याटु मेसिनको आवाज सुने।
त्यसपछि‘
सबैतिर गहिरो अन्धकार छायो।
कुर्सीमा बसेको शरीर एकाएक ढल्कियो।
हे म्यान, आर यू ओके रु
आर्टिस्टको आवाजसँगै स्टुडियोमा हल्का हल्ला दौडादौड मच्चियो। वरिपरि बसेका ग्राहकहरू पनि उठेर उनीतिर दौडिए।
कसैले पानी ल्यायो, कसैले उनको खुट्टा माथि उठाइदियो, कसैले नाकअगाडि केही चिज ल्याएर सुँघायो।
सानो ट्याटु स्टुडियो केही क्षणका लागि उपचार कक्षजस्तै बनेको थियो। तर यी सबै घटनाबाट सोहन पूर्ण रूपमा अनभिज्ञ थिए। उनी त बेहोशीको गहिरो अन्धकारमा हराइसकेका थिए ।
कतिबेर बित्यो, सोहनलाई कुनै अनुमान थिएन।
उनको चेतना बिस्तारै फर्किन थाल्यो। सुरुमा कानमा अस्पष्ट आवाजहरू सुनिए। कसैले अंग्रेजीमा केही भनिरहेको थियो, कसैले “ही इज् वेकिङ् अप १” भन्दै उत्साहित स्वरमा करायो। बिस्तारै आँखा खुले। छत धमिलो देखियो। केही सेकेन्डपछि अनुहारहरू प्रस्ट हुँदै गए।
उनले आफूलाई ट्याटु स्टुडियोको कुर्सीमै अडेस लागेर बसेको अवस्थामा पाए। निधार, घाँटी र ढाड पसिनाले निथ्रुक्क भिजेका थिए। सास केही छिटो चलिरहेको थियो।
वरिपरि पाँच–छ जना विदेशीहरू उभिएका थिए। ट्याटु आर्टिस्टको अनुहारमा चिन्ताको ठाउँमा अब राहतको मुस्कान देखिन्थ्यो।
“आर यू ओके नाउ” आर्टिस्टले सोधे।
सोहनले केही नबोली टाउको मात्र हल्लाए। लाज, अन्योल र डर सबै मिसिएको भाव उनको अनुहारमा प्रस्ट देखिन्थ्यो।
त्यत्तिकैमा एक जना विदेशी युवकले ठट्टा गर्दै भन्यो,
“ब्रो, सच अ टाइनी ट्याटू, यान्ड यू ब्ल्याक्ड आउटरुरु
अर्कोले हाँस्दै थप्यो,
“दा ट्याटु इजन्ट फिनिस्ड येट, बट यू अलरेडी फिनिस्ड योरसेल्फू
त्यो सुन्नासाथ पूरा स्टुडियो हाँसोले गुञ्जियो।
सोहनलाई पनि आफ्नो अवस्था सम्झँदा हाँसो रोक्न गाह्रो भयो। लाजले गाला राताम्मे भए तापनि उनी पनि मुसुक्क हाँसिदिए।
त्यसपछि एक जना महिलाले फ्रिजबाट चिसो फ्यान्टाको क्यान निकालेर उनको हातमा दिँदै
मुस्कुराउँदै सोधिन्, “तिम्रो माथिल्लो पाखुरामा यो ट्याटु बनाएपछि अहिले कस्तो महसुस भइरहेको छरु पक्कै पनि आत्मसन्तुष्टि भएको होला, हैनरु”
उनले सोहनलाई भनेकी एउटा कुरा सोहनका मनमा सधैंका लागि अङ्कित भएर रह्यो।
सोहनले धन्यवाद भन्दै बिस्तारै फ्यान्टाको चुस्की लिए। चिसो पेय शरीरभित्र पस्दै जाँदा उनलाई केही सहज महसुस भयो। गहिरो सास फेरे।
त्यसपछि उनले आफ्नो हाततिर हेरे।
जहाँ ट्याटु बनिरहेको थियो, त्यहाँ सानो तर निकै सुन्दर डिजाइन पूरा भइसकेको थियो।
उनी अचम्ममा परे।
“ट्याटु‘ सकियोरु”
आर्टिस्ट मुस्कुराए।
“हो। तपाईं बेहोस हुनुभन्दा अगाडि धेरैजसो काम सकिइसकेको थियो । तपाईंको अवस्था सामान्य भएपछि बाँकी भाग पनि पूरा गरिदियौँ ।”
सोहनले फेरि आफ्नो ट्याटुतिर हेरे। वर्षौँदेखि मनमा बोकेको रहर आखिर पूरा भएको थियो ।
तर त्यो ट्याटुसँग अब अर्को सम्झना पनि सदाका लागि जोडिएको थियो-पहिलो ट्याटु, पहिलो ब्ल्याकआउट, र पूरा स्टुडियोलाई हँसाएको त्यो अविस्मरणीय घटना।
बाहिर निस्कँदा उनले फेरि एकपटक सबैलाई धन्यवाद दिए।
ढोकाबाट बाहिर निस्कँदै उनी आफैँसँग मुस्कुराउँदै बर्बराए,
“ट्याटुको पीडा त केही रहेनछ‘ तर बेहोस भएको लाजचाहिँ जीवनभरि सम्झिइरहने भएँ !”