• २०८१ बैशाख ७ शुक्रबार

आठ स्रष्टा सम्मानित

२ साउन २०७८, शनिबार श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेको छ । विगत २६ वर्षदेखि निरन्तररूपमा प्रदान गर्दै आइएका यी सम्मानहरू साहित्यकला मन्दिरका अध्यक्ष श्री बसन्त चौधरी तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् यस कलामन्दिरका सदस्य विशिष्ट सङ्गीतकार श्री रायनले संयुक्तरूपमा प्रदान प्रदान गर्नुभएको छ ।
यस क्रममा नेपाली वैज्ञानिक महावीर पुनआवद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गङ्गादेवी चौधरी स्मृतिसम्मान, अग्रज साहित्यकार तथा पत्रकार प्राध्यापक चूडामणि रेग्मीलाई सरस्वती गद्यसम्मान, वरिष्ठ इतिहास-संस्कृतिविद् प्राडा वीणा पौडेललाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, वरिष्ठ चित्रकार प्राज्ञ श्रीमती रागिनी उपाध्यायलाई अरनिको ललितकलासम्मान, वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्यसम्मान वरिष्ठ देउडागायक प्राज्ञनन्दकृष्ण जोशीलाई नारायणगोपाल सङ्गीतसम्मान, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रङ्गसम्मान तथा प्रसिद्ध युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभासम्मान द्वारा सम्मानित गरिएको छ ।
सामाजिक भौतिक दूरी कायम गरी सीमित स्रष्टाहरूमाझ गरिएको यस ‘स्रष्टासम्मान समारोह’ मा आफ्नो मन्तव्य राख्दै संस्थाका अध्यक्ष कवि श्री बसन्त चौधरीले विगत झन्डै तीस दशकदेखि निरन्तर र भव्य रूपमा आयोजना गर्दै आइएको यो क्रार्यक्रम यस वर्ष कोभिडको महामारीको निष्ठुरी समयले गर्दा सानो रूपमा आयोजना गर्नुपरेको दुखेसो व्यक्त गर्दै भन्नुभयो, ‘धेरै सम्मान र पुरस्कार पाइसक्नुभएका यहाँहरूका लागि यो सम्मान सानै होला तर यो हाम्रो हृदयसँग जोडिएको सम्मान हो र सानै भए पनि यसको प्रेरणाले आगामी दिनमा यहाँहरूको सिर्जनाले सगरमाथा छोओेस् तर पैतालाले चाहिँ भुइँ नछोडोस् ।’
कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा यस संस्थाका सदस्य वरिष्ठ सङ्गीतकार रायनले यस प्रतिकूल अवस्थामा पनि स्रष्टाहरूले आ–आफ्ना विधामा जुन सिर्जना उमारिरहनुभएको छ, त्यो नै आफैँमा प्रशंसनीय छ भन्दै सिर्जनामा गतिशीलता आउनु निश्चय नै महत्वपूर्ण कुरा भएको बताउनु भयो ।
सोही अवसरमा संस्थाका उपाध्यक्ष एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले संख्याका हिसाबले आजको यो उपस्थिति थोरै भए पनि एक स्रष्टा बराबर एक हजार महत्वको उपस्थिति रहेको भन्दै आज सम्मानित स्रष्टाले यस सम्मानलाई नै सम्मानित पारेको बतायनु भयो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूका तर्फबाट वरिष्ट कवि विश्वविमोहन श्रेष्ठले आफ्नो मन्तव्यमा साहित्यकला मन्दिरले नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा अतुलनीय कार्य गरेको र राष्ट्रका मूधन्य स्रष्टाहरूको उपस्थितिमा ओयोजित यो समारोह आफैमा भव्य रहेको बताउनु भयो । उहाँले नेपालमा रहेका करिब तीन सयजति यस्ता संस्थामध्ये योगदानका हिसाबले यो संस्था सर्वोच्च रहेको पनि उल्लेख गर्नुभयो । आज सम्मानित कलाकार रागिनी उपाध्यायले संस्थाका अध्यक्ष बसन्त चौधरीलाई उपहार स्वरूप हनुमानको एक सुन्दर र कलात्मक चित्रकला उपहारस्वरूप प्रदान गर्नुभएको छ ।
त्यस अवसरमा कवि चौधरीले चित्रकार उपाध्यायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो भने उपाध्यायले यो चित्रकलाले कवि चौधरी र साहित्यकला मन्दिरलाई हनुमानको ल्याएको सञ्जीवनी बुटीको काम गर्ने बताउनु भयो ।

१. राष्ट्रिय आविष्कार केन्द्र (गङ्गादेवी चौधरी स्मृतिसम्मान)

 

२. प्राध्यापक चूडामणि रेग्मी (सरस्वती गद्यसम्मान)

 

३. प्रा डा वीणा पौडेल (इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान)

 

४. श्रीमती रागिनी उपाध्याय (अरनिको ललितकलासम्मान)

 

५. विश्वविमोहन श्रेष्ठ (गोपालप्रसाद रिमाल काव्यसम्मान)

 

६. प्राज्ञ नन्दकृष्ण जोशी (नारायणगोपाल सङ्गीतसम्मान)

 

७. वीरेन्द्र हमाल (बालकृष्ण सम रङ्गसम्मान)

 

 

८. सन्दीप लामिछाने (नेपाल नवप्रतिभासम्मान)