• २०८१ श्रावाण ११ शुक्रबार

नेपालीमा अनुदित ‘अमृता प्रितमका कविताहरु’ सार्वजनिक

काठमाडौंँ, भारतीय चर्चित कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ । कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रा लि ले अमृता प्रितमका छानिएका कविता पुस्तक सार्वजनिक गरेको हो । शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र अनुवादक केसीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा कवि तुलसी दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूयी रहेको टिप्पणी गरे । अमृतासँगको आफ्नो पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दीभाषामा संयुक्त रुपमा साहित्यिक गतिविधि गरेको बताए । उनले अमृताले नेपाली आदिकवि भानुभक्त माथि लिखित टिप्पणी समेत गरेको कार्यक्रम मार्फत जानकारी दिए ।

अनुवादकै विषयमा बोल्दै उनले नेपाली कवितालाई अन्यभाषामा अनुवाद गर्नु अत्यावश्यक रहेको बताए । उक्त कार्यका लागि एकल, संयुक्त वा सामूहिक रूपमा प्रयास गर्नुपर्ने बताए । यसैगरी कवि भूपाल राईले अनुवादका क्रममा रीमाले अमृतामाथि अन्याय नगरेको टिप्पणी गरे । कुनै पनि विषय अनुवाद भएर आउँदा लेखकको शैलीसहित आउनुपर्ने बताउँदै त्यो कोसिस रीमाले गरेको बताए । अनुवाद सांस्कृतिक सेतुको काम हो । हुबहु नआउन सक्छ तर कोसिस गर्नुपर्छ । विदेशी अनुवाद गरे नेपालीपन आउनुपर्छ भन्नेहरू पनि छन् तर त्यसको विपक्षमा छु म, उनले भने, जस्तो सेक्सपियरको अनुवाद गर्दा सेक्सपियरकै लेखन आउनुपर्छ । त्यसमा भानुभक्तको स्वाद आउनु हुँदैन । यसमा रिमाले त्यो प्रयास गरेको छ । यथाशक्य कोसिस गरेको छ अमृता प्रितमलाई अन्याय गरेको छैन ।

अनुवादमा जनताको करमा चलेका प्रज्ञा लगायत राज्यको कोषबाट स्थापित संस्थाले अनुवाद लगायतको काम नगरेकोमा असन्तुष्टि जनाउँदै उनले त्यस्तो काम निजी प्रकाशन गृहले गरेकोमा तारिफ गरे । यस्तै, कवि ज्योति जंगलले अमृताको लेखनको प्रशंसा गर्दै उनको काव्यिक शैली पृथक रहेको दाबा गरिन् । अमृताले आफू, आफ्नो सत्व र आत्मप्रेम कवितामा बिसाएको उनको भनाइ थियो । अनुवादक रीमाले यसै कविताको अनुवाद गरेर राखेकोमा पुस्तकको रुपमा प्रकाशित भएकोमा खुसी व्यक्त गरिन् । अमृताका शक्तिशाली कविता नेपालीमा अनुवाद हुँदा त्यसको सकारात्मक प्रभाव साहित्यिक क्षेत्रमा पर्ने दाबी उनको थियो ।

उनले कार्यक्रममा साहिर र इमरोजसँगको प्रेमको विषयमा पनि बोलेकी थिइन् । जुन प्रेमले उनको कवि मन अझ कोमल भएको आँकलन उनको थियो । अमृताको जीवन नै आमव्यक्तिको भन्दा फरक थियो, त्यसैले उनलाई कवि बनायो जस्तो लाग्छ तर साहिर र इमरोजको प्रेमले उनी कवि भएकी होइनन् कवि पहिल्यै थिइन् । तर जुन दर्द उनका कवितामा छ त्यो प्रेमले आएको हुनुपर्छ, उनले भनिन् । कविहरू स्वप्निल स्मृति र लक्ष्मी रुम्बाले अमृताका कविता पनि वाचन गरेको पुस्तक लोकार्पण कार्यक्रमको सहजीकरण बाबु त्रिपाठीले गरेका थिए । ५२ कविता भएको उक्त पुस्तकको नेपाली मूल्य २९९ राखिएको छ ।