• २०८३ श्रावण १३, बुधबार

‘नागार्जुन वाङमय जदौ सम्मान र पुरस्कार’ प्रदान

काठमाडौँ ।

साहित्यकार, रेडियोकर्मी तथा सामाजिक अभियन्ता दाहाल यज्ञनिधिको ७३औँ जन्मजयन्तीका अवसरमा नागार्जुन वाङमय प्रतिष्ठानले ‘नागार्जुन वाङमय जदौ सम्मान र पुरस्कार’ वितरणसहित रचनावाचन र व्यक्तित्व चर्चा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा सुधा त्रिपाठी, साहित्यकारहरू रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, डा. विनोद मञ्जन, डा. हरिप्रसाद सिलवाल, डा. रमेश शुभेच्छु, पवित्रा सुनार ‘सानु’ लाई ‘नागार्जुन वाङ्मय जदौ सम्मान–२०८३’ प्रदान गरियो। यसैगरी रु.११हजार राशिको ‘नागार्जुन जदौ पुरस्कार–२०८३’ राससका पत्रकार एवं प्रतिष्ठानका पूर्वअध्यक्ष प्रकाश सिलवाललाई प्रदान गरियो । वरिष्ठ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. डा. त्रिपाठीले सो पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कार चयनका लागि साहित्यका डा. विनोद मञ्जनको संयोजकत्वमा प्रतिष्ठानका पूर्वअध्यक्ष रोजन राई र पूर्वउपाध्यक्ष गौरी दाहाल सम्मिलित चयन समिति गठन गरिएको थियो ।

त्यस अवसरमा दाहाल यज्ञनिधिको निबन्धकारिताबारे डा. हरिप्रसाद सिलवाल, पुरस्कार चयनबारे डा मञ्जन, दाहालको समग्र व्यक्तित्वबारे डा रमेश शुभेच्छु र सीमान्तकृत वर्गको उत्थानमा दाहालको योगदानबारे पवित्रा सुनार ‘सानु’ले प्रकाश पार्दै सामाजिक रूपान्तरणका लागि दाहालकले उत्प्रेरकको भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा कवि ‘शुक्राचार्य’ ले दाहाल यज्ञनिधिका साथै आफ्ना आधा दर्जन कविता प्रस्तुत गरिएको थियो । यस्तै कवि पूर्ण विरामका कविता वाचन प्रतियोगितामा समाविष्टमध्ये प्रमोद भण्डारीलाई पुरस्कृत गरियो ।

कार्यक्रममा लक्ष्मण अधिकारी, रामदेव पाण्डे, माधव अटल, गङ्गा खतिवडा, अनुराधा थापा, दिनेश खरेल, कृष्णप्रसाद जस्ताघरे, अमरदीप सुनुवारलगायतले रचना वाचन गर्नुभयो । स्रष्टा यज्ञनिधिका धर्मपत्नी सुधा दाहालले यज्ञनिधिको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउन प्रकाशन र प्रसारणका साथै सम्मान–पुरस्कार वितरणको परम्परालाई निरन्तरता दिइने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दील पौडेलले लोकतान्त्रिक साहित्यिक आन्दोलन र संस्कृति रूपान्तरणमा दाहालको योगदान अविस्मरणीय भएको बताउनुभयो ।

खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मनुभएका दाहालको २०७९ साउन २५ गते निधन भएको हो । सो प्रतिष्ठानका पूर्वअध्यक्ष र लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका सूत्रधारले शिक्षा, साहित्य, संस्कृति, सञ्चार र समाजसेवाका क्षेत्रमा दिनुभएको योगदान अविस्मरणीय छ ।