• २०८१ भाद्र २४ सोमबार

समुद्र

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

यसपटक पनि
उसै गरी स्वागत गर्‍यो समुद्रले
उसको छालले मेरो खुट्टामा छोएर
जसरी उसले गरेको थियो
स्वागत अघिल्लो पटक मलाई भेट्दा ।

पहिलो भेटमा
मैले त केही भनिनँ उसलाई
दिएको वचन पूरा भएन भने
आफैलाई भारी हुन्छ
जसरी हुन्छन् प्रेमको शुरूशुरूमा
गरिएका ठुलठुला बाचा
पछिपछि आफैलाई गह्रुङ्गो ।

तर उसले भनेको थियो – फेरि आउदा
तिमी अलिक साँझतिर आउनु
म त्यो बेला
अलिक ठूलो छाल बनेर उर्लन्छु र अग्लो हुन्छ
मलाई अग्लो बनेर
तिम्रो शीरमा पुग्न मन छ
टाउकोमा चढेर हेर्दा के के देखिन्छ
त्यो सबै हेर्न मन छ!

उसले भने जस्तै
साँझ पर्न थालेपछि
पुगेको थिएँ उसको किनारमा
ऊ हावाको बेगमा लहर वनेर आयो र खुट्टा छोयो
छाल बनेर उठ्यो र टाउको टेक्यो
सोधें – के देख्यौ त ?
भन्यो – नयाँ केही देखिनँ
जता हेरे पनि आफैलाई मात्र देखेँ
तर खुशीको कुरा
मैले तिम्रो टाउकोमा टेकेँ ।
भनेँ – शुरूशुरूमा खुट्टा छुनेले नै
बिस्तारै बिस्तारै टाउकोमा टेक्छन्
आफैलाई मात्र अग्लो देख्नेले
बाँकी सबैलाई होचो ठान्छन् ।
सोधें – तिमी यति ठूलो भएर पनि
किन यस्तो नुनिलो र चर्को भा’को ?
ऊ बोलेन ।

तिर्खा लागेको थियो
नजिकैको धारामा गएँ
र पानी खाएँ
धारालाई सोधेँ –
पाइपमा थुनिएर बस्नु भन्दा
तिमीलाई पनि खुल्ला भएर
समुद्र जस्तै ठूलो हुन मन लाग्दैन ?
धारोले जवाफ दियो –
ठूलो भएर नुनिलो र चर्को हुनुभन्दा
मलाई त सानै बनेर
स्वादिलो र मीठो हुन मन लाग्छ !


बालकृष्ण कट्टेल


मउगा चच्चा

गड़िया

छोरी