‘यथार्थ सत्य नै हो टुकीमुनिको अँध्यारो’
यात्राको सर्वनाम बोकेको जीवनका यात्राहरू अचम्मका हुन्छन् । कहिलेकाहीँ हिँडिएको हुन्छ र पुगिन्छ कहीँ । अनिश्चित जिन्दगीका दिनहरूजस्तै । एक दिनविना उद्देश्य बाटो मोडिएर नयाँसडक हिँडेको म थापाथलीतर्फ लाग्नुपर्यो । मित्रलाई अनायास अफिस पुग्नुपर्ने भएकोले म बीचबाटोमा नै उत्रिएँ । कहाँ पर्खनु भन्ने योजनाविनाको प्रतीक्षा बोकेका मेरा पाउहरू नअलमलीकन सरासर थापाथलीको वाग्मती पुल पूर्व देखिने सुकुम्बासीटोल पछ्याउँदै गए । प्रतीक्षाका पलहरू मात्र व्यतीत गर्ने मेरो आशयले मलाई जता डोर्याउँछन् पाइलाले उतै लागेँ । त्यो सुकुम्बासीटोल सहरबाट बाहिर हुँदो हो त बस्ती नै भनेर लेख्थेँ होला तथापि सानोतिनो बस्ती नै प्रतीत भैरहेथ्यो । परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल र वनस्पति विभागको सन्निकट धेरै अगाडि एउटा टेलिचलचित्रको छायाङ्कनको वर्षौंपछि प्रकाशेश्वर अर्थात् कालमोचन घाटको छेउछाउ पुगेछु । श्री ३ महाराज जङ्गबहादुर राणासँग जोडिएको ऐतिहासिक प्रकाशेश्वर अर्थात् पाञ्चायन मन्दिरमा । निरुद्देश्य नै थियो मेरो त्यस स्थानसँगको साक्षात्कार । म प्रतीक्षाको कठिन घडी बिताउने उद्देश्यले भौतारिँदै थिएँ । प्रतीक्षा संसारका कठिनतम कामहरूमध्ये एक हो जस्तो मलाई लाग्छ । त्यतै कतै केही समय व्यतीत गर्ने उद्देश्यले कुनै वेला चर्चामा रहेको ‘ग्वोथे इन्टिच्युट’ को छेउमा पुगेँ । केही विद्यार्थी र जर्मनी भाषा प्रशिक्षक कहिले जर्मनीमा कहिले नेपालीमा उमेरजन्य मनोविनोदमा व्यस्त थिए । समय कटाउनुपर्ने भएकाले मन्द पदचापमै थिएँ । केही अगाडि बढे, तत्क्षण नै फर्के पनि ।
के-के थरी सोच्दासोच्दै म पुनः मन्दिरको उत्तर द्वार अगाडि आइपुगेछु । अकस्मात आँखा सूचनापाटीमा पुगेर अडिए । सूचनापाटीमा मन्दिर दर्शन तथा अवलोकनसम्बन्धी हिउँदे र वर्षेयामका छुट्टाछुट्टै तालिका रहेछन् । म पुगेको समयमा सूचनाले जनाए अनुुसार प्रवेश नपाइने निश्चित भएपछि म एकाएक पूर्ववत् बाटो फर्केर दक्षिणतर्फको बाटो समात्दै वाग्मतीको किनारतर्फ सोज्झिने जमर्कोमा लागे ।
लक्षविहीन मेरो यात्राको कुनै गन्तव्य भने थिएन । बढदै गएँ आँखाले अनेक दृश्य कैद गर्नथाले । रमाइलो अनुभूति हुनथाल्यो । सहरको कोलाहलबाट पर कुनै नयाँ गाउँबस्तीको छेउमा पुगेकोझैँ आभास भयो । मबाट सहर छोडिइसकेको थियो । सिमखेतको पहेँलो माटोले लिपेझैँ भित्ता, अस्थायीरूपको दृश्य जाहेर गर्न तारले अल्झाइको जस्तापाताको एकपाखे टहरामा झुन्डिएको ‘नेपाल सरकार गृह मन्त्रालय महानगरीय प्रहरी वृत्त, सिंहदरबार प्रहरी बिट काठमाडौँ’ लेखिएको नीलो बोर्डमा मेरा आँखा निकैबेर अडिए ।
बोर्डछेउमा कुनै प्रहरी जवानको पिटी ड्रेस मङ्सिरको मलिनो घाममा सुक्दैथियो । मलाई अझै साइनबोर्डमा लेखिएका कुराहरू पढ्न मन लाग्यो । अलि नजिक पुगेँ । त्यहाँ जानकारीका लागि निकै कुराहरू लेखिएका थिए । महानगरीय प्रहरी परिसर, प्रहरी कन्ट्रोल, नायव प्रहरी निरीक्षकलगायत ड्युटी अधिकृतको टेलिफोनसमेत लेखिएको थियो । मलाई उक्त स्थानको फोटो खिच्न मन लाग्यो । ड्युटीमा रहेकोे प्रहरीसँग अनुमति लिएर भए पनि फोटो खिच्छु भन्ने थियो तर ड्युटीवाला प्रहरीले म नजिक पुगेको अवस्थाप्रति कुनै प्रतिक्रिया नदेखाएपछि मैले खुसुक्क फोटो लिएँ । ठूलै उपलब्धिजस्तो लाग्यो आफूलाई । आँखाको स्वभाव नै हो नयाँ ठाउँको नवीन आस्वाद लिनु, मनको सहज भाव नै कौतुहलता जस्तै । हेर्दैजाँदा वाग्मती किनारको सुकुम्बासीटोलको अनेकन दृश्य, गतिविधि र त्यहाँको थप कुराहरू जान्न मन लाग्यो । निस्फिक्रीसँग जता मन लाग्यो त्यतै पाइलाहरू बढाउँदै गर्दा आँखा टक्क गएर एक हजार लिटरको हिलटेक ट्याङ्कीमा टाँसिएको सानो सेतो साइनबोर्डमा पुगेर अडिए । आँखाको दृष्टिलाई अलि गौण बनाएर केन्द्रीकृत गरेँ साइनबोर्डमा लेखिएको थियो ‘काठमाडौ छाप्रो होटल’ सेतो पृष्टभूमिमा रातो अक्षर । नामको मुनि रातै अक्षरमा नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बर र नीलो रङको वर्गाकार थियो वाइफाइको प्रतीक झल्कने सङ्केत । अचम्म लाग्यो, सुकुम्बासी बस्तीभित्रको छाप्रो होटल सुविधासम्पन्न छ, प्रविधियुक्त छ, सुकुम्बासी पीडा हराएका अनुहार छन् । मैले एउटा सुकुम्बासीटोलमा अनेक लीला देखेँ ।
जसको प्रतीक्षामा थिएँ उताबाट केही समय लाग्नसक्ने सूचना पाएपछि अझै उत्सुक हँदै ढुक्कले अगाडि बढें । कतै कुखुरा चरिरहेका, कतै हाँसहरू होटल-रेष्टुरेन्टको भाडा माझेर बनेको हिलोमा चुच्चो गाडदै ढलपलाई रहेका दृश्य बाक्लै देखिए ।
सुकुम्बासीटोलका कथाहरू यतिमै सीमित थिएनन् दृश्यान्तमा मात्र । सिन्धुपाल्चोक जिल्ला चौतारा आफ्नो थाकथलो बताउने कृष्ण पौडेलको जीवन अठार वर्षदेखि प्रकाशेश्वरको मूलढोका अगाडिपट्टि सुकुम्बासीकै रूपमा रहेछ । मलाई मात्र होइन मेरा पैतालाहरूलाई समेत कौतुहलता लाग्यो र कदमले तिनै काला पौडेलको गाई गोठतिर डोर्यायो । दुई गाई तीन बाच्छाका छेउमा तानिदै पुगेँ । चौताराको पाखोबारीले जहानको हातमुख जोर्न मुुस्किल परेपछि पौडेल परिवार काठमाडौँ छिरेको रहेछ । अठार वर्षदेखि नामकरण हुननसकेको सुकुम्बासीबस्तीमा गौसेवा गरेर बसेको दुखेसो सुनाए उनले । मैले उनको कथा सुनिरहेँ, सुन्नुसिवाय केही थिएन उनका लागि मेरोतर्फको मल्हमपट्टी । कृष्णका दुई छोराछोरी एउटा सात र अर्को दसमा नजिकैको गुह्येश्वरी स्कुलमा पढ्दा रहेछन । जीवन गुजाराको स्रोत बस तिनै चोक्रे गाई ।
प्रकाशेश्वर पाञ्चायन मन्दिरको मूलप्रवेशद्वारमाथि १९०६ सालमा श्री ३ जङ्गबहादुरले बनाएको १९९० को महाभूकम्पले भत्किएपछि पटकपटक पुनर्निर्माण भएको विवरणात्मक शिलालेख रहेछ । विडम्बना झन्डै एकसय पचास, साठी घरधुरी भएको बस्तीको न कुनै नाम, न कुनै लगत, न केही निस्सा । विना निस्सा नेपाल विद्युत प्राधिकरणले बिजुलीबत्तीको मिटर जडान गरी बिजुलीबत्ती उपलब्ध गराएको देखेर भने ताजुक नै लाग्यो र अझै केही जिज्ञासाले तानिँदै लसुन र रायोको साग झुलिरहेको सानो छाप्रो अगाडिको बारीछेउ पुगेँ । दुई जोईपोइ र एक छोरी घाम तापिरहेका थिए । अपरिचित अनुहार देखेर उनीहरूले सोधे- ‘राहत दिन आउनुभएको हो ?’ लामो समय कोरोनाका कारण भएको लकडाउन । रोजगारविहीन जीवन । दैनिक गुजाराको सङ्घर्ष सबैले झेलिरहेकै थिए । पक्कै त्यसबस्तीले पनि झेल्यो र मलाई प्रश्न गर्यो आशामिश्रित ।
मैले आफ्नो लेखकीय परिचय दिएँ । कतिबुझे थाहा छैन । पत्रकार हो भनेर पुनः प्रश्न गरे । मैले पत्रिकामा पनि लेख्छु भनेपछि अलिक सहज भए उनीहरू । नुवाकोटको बेल्कोटगढी उनीहरूको मूल थलो रहेछ । तामाङ थर बताउने अधबैँसे पुरुष पहिला वैद्य गल्ती भनिने स्थानीय एक राणाकोमा काम गर्दा रहेछन् । राणापरिवार विदेशिएपछि परिवारसहित सुकुम्बासीबस्तीमा नै १४ वर्षदेखि बस्दै आएको बताए उनले । बूढाबूढी र छोरी यही बस्तीमा र छोरो क्षेत्रपाटीमा डेरा गरी बस्ने र सरकारले जग्गा दर्ता गरिदिन्छ भन्ने उनीहरूको आशा ।
जीवन भोगाइका आ- आफ्नै कथा हुन्छन् । । कथा, उपकथा नभएका पात्र सायदै होलान् । थापाथलीस्थित श्री ३ जङ्गबहादुर राणाको विरासत थामेको प्रकाशेश्वर अगाडिको सुकुम्बासीबस्तीमा तिनै राणा खलकको चाकरी गर्दागर्दै घरवारविहीन भएकाहरू, भाग्य खोसिएकाहरू, परिवार बिछोडिएकाहरू, पहिरोले घर पुरेकोहरू, बाढीले जहान बगाएकाहरू सुकुम्बासीका रूपमा प्रशस्त रहेछन् । बस्तीमा उमेरले नब्बे, नागरिकता अनुसार अठासी वर्षकी जेष्ठ नागरिकको छुट्टै कथा छ । रामेछापको आफ्नो पुख्र्यौली गाउँ पुगेर उनी वृद्धभत्ता थाप्न सक्दिनन् । नाति गएर ल्याउँदो रहेछ । कमिसन खाइदिन्छ रे । कहिले दिएन भनेर भन्छ रे ! उनको दुखेसो आफ्नै खालको थियो । दुई महिला स्थानीय बजारबाट तरकारी लिएर बेच्दा रहेछन् । झस्स उनीहरूको कुरा सुनियो । ‘साइकल चढ्नेले स्कुटी त सजिलै चढ्नसक्छ रे दिदी’, एउटीले भनिन् । अर्किले सही थाप्दै भनेको सुनेँ- ‘त्यसो भए किनौँ न त हामी । बस्तीभित्र विपन्न मात्र छैनन् सम्पन्न पनि छन भन्ने कुराको प्रमाण मात्र यहाँ उजागर गर्न खोजेको हुँ ।’ १५०- १६० घरघुरीभित्र चार- पाँचवटा किराना पसल छ । धराने कालो बङ्गुर पाइन्छ भनेर लेखिएको बोर्डसहितको पसल छ । चियाखाजाका पसल थुप्रै छन् । बस्तीका चियापसलमा लाग्छ बस्तीभित्रै उत्पादित निम्नकोटीको मदिरा मनग्य छ । बस्तीको प्रारम्भमै ‘विपन्न सहयोगी संस्था’ पनि छ । डम्बरकुमारी तामाङको अध्यक्षतामा रहेको गैरसरकारी संस्थाको पनि आफ्नै कथा रहेछ । ‘सहयोग गर्छौंं संस्था बनाउनूस् !’ भन्नेहरू थुप्रै आएछन् । डम्बरकुमारीलाई क- कसले भने कोको आए खासै हेक्का भएन । फेरि आउँछौँ भने । के- के सोधे, फाराम भराए तर तिनीहरू आएनन् । नयाँ भने त्यस्तै के- के फाराम भर्न आउँछन रे । तर राहत र सहयोगको कुरा मात्र गर्छन् । काम गर्दैनन् भन्ने गुनासो एकछिन मैले पनि सुनेँ ।
डम्बरकुमारीको सानो पसल छ । त्यहीँ छ सहयोगी संस्थाको कार्यालय । ‘साइनबोर्ड आफ्नै हातले लेखेको सर !’ भन्दै बोले सिंहबहादुर लामा । मैले भनेँ- ‘राम्रो नि !’ सिन्धुपाल्चोक जिल्ला थुम्मपाखर घर रहेछ सिंहबहादुरको । सोधेँ- ‘संस्थाको अध्यक्षचाहिँ को नि तपाईं कि छोरी ?’ त्यहाँ रहेका सबै गलल्ल हाँसे । डम्बरकुमारीले भनिन्- ‘ऊ त मेरो बूढो !’ उनीहरूको पनि छुट्टै कथा होला । मैले खोतल्न चाहिनँ । टेस्ट फेल डम्बरकुमारीको योजना संस्था चलाउने र बस्तीभित्रका विपन्नलाई सेवा गर्ने इच्छा छ । त्यो इच्छा पूरा होस् भन्ने मैले कामना गरेँ । ‘पुर्जा बनाउनु छ । निस्सा लिनु छ । थुप्रै काम छ सर यो संस्थाको’ उनले भनिन् । मैले मनमनै सोचेँ एकातिर घर छ । नागरिकता छ । जमिन छ । सामाजिक सुरक्षाभत्ता खाएका छन् । कुराचाहिँ सरकारी पर्ति जमिन वाग्मतीको किनार दर्ता गरेर निस्सा लिने गर्छन् । म आफैँ रनभुल्लमा परिरहेको थिएँ । सुकुम्बासी बस्तीभित्रको कथा त्यहाँका वास्तविक पात्रहरूको सोच र मनोविज्ञानले मेरो पनि मन खलबलियो । कहिले राजनीतिक कार्यकर्ता । कहिले खोज- अनुसन्धानका विद्यार्थीहरू पुगेर थुप्रै प्रश्न सोध्ने र भराउने रहेछन् अनेकौँ फाराम ।
सानो बस्तीका ठूलाठूला कथाहरू । कथाभित्रका व्यथा उति । मोरङ पथरीकी एक महिलाले भनिन्- ‘श्रीमान् ट्र्याक्टर चलाउँछन् । उनको कमाइ उनैलाई रक्सी खान ठिक्क छ । दुई बच्चा यही बस्तीमा जन्मिए । नजिकैको प्रसूती गृहसम्म लान सकेनन् । झन्डै ज्यान गयो ।’ पाँच केटाकेटीसहित उनीहरूको परिवार पुर्जा पाउने आशमा बस्तीभित्रै छ । पटकपटक सुकुम्बासी समस्या समाधान आयोग बनिसक्दा पनि वाग्मतीकिनारको अवस्था ज्युँ का त्युँ छ । उच्चस्तरीय एकीकृत वाग्मती- सभ्यता विकास समिति पनि मौन छ । कथा र व्यथा विकराल बोकेर सुकुम्बासीबस्ती पर्खिरहेछ लालपुर्जा ।
प्रकाशेश्वर आसपासको वैध गल्लीको पुर्जावाल घर- जमिनको विकासका निमित्त ‘थापाथली विकास समाज’ छ । सडक, बत्ती, पानी, फोहरमैला सबैको व्यवस्थापन र विकासका लागि समाज सायद क्रियाशील नै होला । विडम्बना आफ्नै कार्यालय अगाडिको सुकुम्बासीबस्तीको दयनीय अवस्थाबारे समाज बेखबर त नहोला तर मौनचाहिँ छ । बस्तीभित्र ट्याङ्की नम्बर- ४ लेखिएको खानेपानीको ट्याङ्कीले भन्छ, शनिबार, मङ्गलबार र बिहीबार बिहान ७ देखि ९ पानी उपलब्ध छ । पानीट्याङ्की वरपरको पुरानो हिलोमा हाँस र लौकाट केही चुच्चो गाड्दैछन् त केही कुखुरा नङ्ग्राले खोस्रदै चुच्चोले टिप्दैछन् कीरा- फट्याङग्र्राहरू । बस्तीको सामुन्ने प्रकाशेश्वर पाञ्चायन मन्दिर छ । बस्तीभित्रै छ ‘थापाथली भ्याली मण्डली’ लेखिएको चर्च । ईश्वरले दिन्छन् जीवनमा उज्यालो प्रकाश । ईश्वरसँग नै मागिन्छ सुख- शान्तिका आशीर्वादहरू । बस्तीमा दुःख छ, कष्टकर छ जीवन । ठूलो विभेद छ वारि र पारिको बस्ती । थाहा छैन विभेद राज्यको कि ईश्वरको ? भनिन्छ ईश्वर भेद गर्दैनन् । वाग्मतीले पनि गर्दिनन् । लाग्छ, बस्तीको कथा स्वयंमा विभेदकारी छ तर अनेकतामा एकताले बाँधिएको भने देखिन्छ ।
आफ्नो थलोकिलो छोडेर सहरीया सुखसयल पनि कतिपय अवस्थामा घातक हुन्छन् भन्ने कथा छन् । अनावश्यक आश्वासनको आशले पर्ति जमिनको पुर्जा पाउने सपना छ । अहिले ती सपना कोरा हुन भन्ने कल्पनासमेत गर्ने तहमा छैनन् जस्तो लाग्छ बस्तीभित्रका मान्छेहरू ।
करिब दुई दशक हुनलाग्यो । न सरकार, न स्थानीय तह, न स्वयं बस्तीका मानिस- त्यो विकराल अवस्थाप्रति केही गरौँ भन्ने तहमा छैनन् कि कुन्नि ? जीवन चलाइरहेकै छन् । भित्र पीडा भए पनि हाँसिरहेकै देखिन्छन् मानिसहरू । लाग्छ कतिपय मानिस सुकुम्बासीका नाममा पुर्जा हडप्न पनि बसेका छन कि ? न कसैको लगत छ, न विवरण । न अनुगमन, न कुनै निकायको पहलकदमी । विचित्रको बस्ती ।
थापाथली वाग्मतीकिनारमा को बिर्तावाल, को सुकुम्बासी, को हुकुमबासी जान्दछिन् भने उनै वाग्मतीले जान्लिन् । कथा जस्तोसुकै भए पनि लेखनीको क्रममा मैले थापाथलीस्थित वाग्मतीकिनारको बस्तीभित्र पीडा देखेँ, भयावहता देखेँ, त्यहाँ जीवन बाँच्नेहरूका आँखामा उदासीनता देखेँ भने फाट्टफुट्ट उत्साह पनि । धेरै त पाञ्चायन मन्दिरको प्रज्वल आरती अगाडि अन्धकार देखेँ ।
सहरको मध्यमा भेटिएको तर सुदुर गाउँको बस्तीमा पुगेको आभास भैरहेथ्यो र बिर्सिरहेथेँ मैले सहरको रमझम । आँखामा उत्साह र मनमा कौतहुल अझै थियो । भित्रभित्रसम्म सुकुमबासी बस्तीलाई छाम्न मन नभएको होइन, त्यतिवेलै मोबाइलमा घन्टी बज्यो । उताबाट आवाज आयो- ‘आऊ अब !’ म बस्तीको दृश्य आँखामा राखेर बस्ती बाहिर निस्केँ । बाहिर थापाथली सवारीसाधन र मानिसहरूको भीडमा मस्त थियो । मेरो मनमा भने सुकुम्बासी बस्तीका कुराहरू आँखामा दृश्य झलझली आइरहे । थापाथलीको यही बाटो भएर देश हाँक्ने, विकास ल्याउने, समृद्धि दिने, बस्तीलाई व्यवस्थित पार्ने आश्वासनका नारा लगाएर देशको अभिभावक हुँ भन्ने नेता हुइँकिए र हुइँकिरहेछन् तर किन एकछिन अडिएर सुकुम्बासीका समस्या सम्बोधन गर्दैनन् ? व्यवस्थापनमा किन तदारूकता देखाउँदैनन् ? किन छुँदैन बस्तीभित्रका करूण पीडाले उनीहरूको मन । यही राजधानीको विकासशील मुटुमा ढुकढुकाउन नसकेको यौटा बस्ती कति पीडाहरू बोकेर बसेको छ र पीडापीडामा पर्खिरहेको छ वषौँदे खि वैधानिक बन्न लालपुर्जा । एकैछिनको अप्रत्यासित प्रतीक्षाले सहरभित्रको गाउँ र त्यसका पीडाहरू अनभूत गर्न पाउँदा आश्चर्य लागिरहेको छ । यो पीडाको बारेमा धेरैलाई थाहा नहुनसक्छ ।
(घिमिरेचर्चित साहित्यकार हुन)
[email protected]