• २०८१ श्रावाण ११ शुक्रबार

विमल वैद्य

राजेन्द्र शलभ

राजेन्द्र शलभ

इलामको शिक्षित एवं व्यापारिक
घरानामा मेरो जन्म भएको हो
बजार कै पुरानो पसल ‘पूर्णभण्डार’
र चन्द्रा प्रिन्टिङ प्रेसमा आउने
स्थानिय एवं बौद्धिक व्यक्तिहरूसंग नै
मेरो बाल्यकाल बित्यो ।
प्रेसका कारणले गर्दा नै
पदमबहादुर देवान, विष्णु नवीन
र माधव भण्डारीहरूको सानिध्य पाएँ ।
स्कूल सकेर काठमाडौं आएँ,
नेपाल ल क्याम्पसमा भर्ना भएँ ।
पढाई सकेर ४४सालमा फेरि इलाम फर्के ।

त्यत्तिबेला नै हो त्यहाँ लेखनको
नयाँ पुस्ताको जग बस्दै थियो
झापाका कृष्ण धरावसी र भरत भूर्तेल
पेशागत रूपमा इलाम बस्न थालेकाले
उनीहरू कै अगुवाईमा १५/२० जनाको
युवा लेखन–पुस्ता तयार भयो ।
हामी लेख्थ्यौं-एक अर्कालाई देखाउंथ्यौँ
यसरी प्रोत्साहित हुँदै अगाडि बढ्न थाल्यौं ।
स्वतन्त्रता र प्रजातन्त्रको लागि
हाम्रो लेखन समूह सक्रिय थियो
तर पछि साथीहरू छुट्दै गए
र ‘कलाकार समूह’ का नाममा
एउटा नाटक ग्रुपको निर्माण भयो
महिनाको एउटा नाटक गथ्र्यौं,
यो क्रम पनि अढाइ-तीन वर्ष पछि बन्द भयो ।
टिकटमा मुक्तक गोष्ठी गथ्र्यौँ
गाह्रो थियो त्यो बेला यस्ता गतिविधि गर्न ।
पछि बेनुप प्रसाईं प्रधान पंच हुनुभयो
र उहाँले नगर प्रतिभा विकाश शाखाको
स्थापना गर्नुभयो–नगरपंचायत भित्रै
त्यो शाखाको साहित्य समिति अन्तर्गत
कार्यक्रम गर्दा प्रशासनको दबाब कम हुने भएर
त्यही शाखा अन्तर्गत गाउँमा
कविता, नाटक र साहित्यिक जागरणका
विभिन्न कामहरू गर्न थाल्यौं ।

४७/४८ साल तिर फेरि काठमाडौं आएँ
यहाँ विष्णु निष्ठुरीसँग पत्रकारिता गर्न थालें
किशोर नेपालको “स्वतन्त्रता” मा आवद्ध भएँ
त्यसपछि ‘नेपाल जागरण’ र “विश्वामित्र”
पत्रिकामा पनि आवद्ध भएँ
नेपाल पत्रकार महासंघमा पनि ३ वर्ष बसें
म काठमाडौं रोजी रोटी खोज्न आएको थिइन
पत्रकारिता मेरा लागि रहरको विषय थियो
त्यसैमा रमाएँ/बसेँ
कुनै पारिवारिक दायित्व थिएन
तर जब श्याम गोयन्काको पत्रिकामा काम गर्ने
तर तलब बुझ्न चाहिं उनको फर्निचर पसल
‘टचउड’ मा धाउनु पर्ने भएपछि
विरक्त लाग्यो ५४/५५सालमा इलाम नै फर्कें
यसरी ८ वर्षको काठमाडौं बसाईले
मलाई पत्रकारिता र साहित्य जगतमा चिनायो
र केही अग्रज माया गर्ने स्रष्टाहरू कमाएँ ।

इलाम फर्के पछि
फेरि आफ्नो व्यवस्थापनमा लागें
‘सुप्रभात’ साप्ताहिकलाई दुई वर्ष पनि
धान्न सकिएन र पत्रकारिता छोडेर
फेरि लेखन तिर नै सक्रिय भएँ
काठमाडौँ बसेको एक दशक त
पुरै लेखनबाट टाढा भइएछ ।
म “भानु प्रतिभा संरक्षण तथा
साहित्य सम्बर्धन समिति” को अध्यक्ष भए ।
यहि क्रममा २०६३ सालमा मोमिलासँग मिलेर
‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’
र २०६६ सालमा ‘इलाम लिट्रेचर फेस्टिभल’जस्ता
८/१० वटा ठूला कार्यक्रमहरू आयोजन गरियो ।
उद्योग वाणिज्य संघका लागि अमेरिकन एम्बेसीले
खोलिदिएको पुस्तकालय भवनलाई
कला–साहित्यका कार्यक्रमहरू गर्ने थलोका रूपमा
विकास गरेर एउटा सार्थक थालनी गरियो
यसको संयोजनमा एउटा छुट्टै किसिमको
आनन्द र सन्तोषको अनुभव गर्छु ।

२०६० मा ‘आकाश छुन खोज्ने मनहरू’
२०७२ मा ‘समय र सपना’
२०७५ मा ‘अक्षर सिम्फोनी’ गरी
तीनवटा कृतिहरू प्रकाशित छन् भने
चौथो संग्रह तयारीमा छ ।
अँ ! पत्रकारिता र लेखन बाहेक
म अचानक ‘समता’ को अभियानमा जोडिएँ
२०६८ साल तिरको कुरा हो-
तीनजना केटाहरू मेरो पसलमा आए
स्कूलका लागि खाली जग्गा खोज्न
शुरूमा त मैले आफ्नै खाली जग्गा
१० वर्षका लागि ‘लिज’मा दिएको थिएँ
पछि उत्तम सञ्जेल, रविन्द्र मिश्रहरूसँग सम्पर्क भयो
स्कूलसँग लगाव बढ्दै गयो
ताप्लेजुङ्ग र पाँचथरमा पनि स्कूल खोल्ने
जिम्मा मैले नै पाए
अहिले पनि स्वयंसेवकका रूपमा काम गर्दैछु-
त्यो स्कूलको व्यवस्थापन समितिको अध्यक्ष भएपछि
आफ्नो छोरालाई बोर्डिङबाट निकालेर त्यहीँ राखें
अरूले मात्र होइन परिवारले समेत गिल्ला गर्यो
छोराको भविष्य बिगार्ने भो भनेर
तर पछि स्कूलले जिल्ला टप गरेपछि
सबैको मुख बन्द भयो
वस्तवमा कुनैपनि काम गर्नका लागि
पैसा होइन लगन चाहिने रहेछ ।

मैले बुझेको कुरा के हो भने-
सत्ता, शक्ति र पैसा शास्वत होइनन्
साहित्य, संगीत र कला नै सत्य हुन्
यसैमा जीवन बिताउने मन छ
अर्काे रहर पनि छ-
त्यो हो नेपाल बुझ्नका लागि- देश डुल्ने
घुम्दा नयाँ परिवेश र नयाँ साथीहरु भेट्छु
अध्ययन, भ्रमण र सत्संगले
मेरो लेखनलाई उर्जा दिन्छ ।
जीवनमा कुनै असन्तोष छैन
पछुतो गर्यो भने जीवन अगाडि बढ्दैन
म सधैं गतिशील भइरहन चाहन्छु
जे छ, त्यसैमा सन्तुष्ट छु ।