हिन्दी–व्यक्ति
काठमाडौँ ।
सुदूरपश्चिममा रहेर गजल साधनामा सक्रिय गजलकार तारा पल्लवीको पहिलो गजलसङ्ग्रह ‘सिरानी’ सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा प्रकाशित कृतिको शनिबार काठमाडौँमा आयोजित समारोहबीच नेपाली गजलका अग्रज ज्ञानुवाकर पौडेल, गजलकार ललिजन रावललगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
नारी मनका पीडा, संवेदना र विद्रोहका स्वरलाई मुखरित गर्ने पल्लवीको यस सङ्ग्रहमा आठ दर्जनभन्दा बढी गजल सङ्कलित छन् । विमोचन समारोहका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले सुदूरपश्चिम नेपाली गजलको उर्वर भूमि बनेको उल्लेख गर्दै तारा पल्लवी धारिला र प्रभावकारी गजल लेख्ने स्रष्टा भएको बताउनुभयो । सभाध्यक्ष ललिजन रावलले पल्लवीको गजलशिल्प सशक्त रहेको उल्लेख गर्दै उहाँका गजलले समकालीन गजलकारहरूका लागि सिर्जनात्मक चुनौती प्रस्तुत गरेको धारणा राख्नुभयो ।
कृतिमाथि समीक्षा गर्दै डा. रमेश शुभेच्छुले सूक्ष्म विषयलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्नु पल्लवीको विशेषता रहेको बताउनुभयो । अर्का समीक्षक डा. नारायण गैरेले पल्लवीका गजलमा नारी चेतना र विद्रोही संवेदनाको सशक्त समन्वय रहेको टिप्पणी गर्नुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले सुदूरपश्चिमबाट तारा पल्लवीजस्ता गजलकारको उदय हुनु नेपाली गजलका लागि सकारात्मक संकेत भएको बताउनुभयो ।
कृतिकार तारा पल्लवीले धनगढीको गजल वातावरणबाट प्रेरित भएर पहिलो कृतिका रूपमा गजलसङ्ग्रह प्रकाशित गरेको बताउँदै समीक्षकहरूको विश्लेषणले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा उहाँले सङ्ग्रहका केही गजल पनि वाचन गर्नुभएको थियो । प्रिया पत्थर साहित्य परिषद्, धनगढीकी अध्यक्ष हेमन्ती जोशीले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सुदूरपश्चिमका स्रष्टाप्रति राजधानीको बढ्दो चासो सकारात्मक भएको बताउनुभयो । साहित्यकार पार्वती भट्टले कृतिकारको साहित्यिक यात्रामाथि संक्षिप्त प्रकाश पार्नुभएको थियो ।
