• २०८३ बैशाख २७, आईतवार

कवि बेलवासेको ‘चोटहरूको उत्सव’ कवितासंग्रह लोकार्पित

काठमाडौँ ।

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको ‘चोटहरूको उत्सव’ कवितासंग्रह लोकार्पण गरिएको छ । वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

सुनकोसी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने, ‘चोटहरूले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ। चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ। आँसु चुहुन पनि हाँसोभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। दुनियाँमा कविलेखकहरूले चोट पाएर नै सिर्जना गरेका हुन्। कवि बेलवासेका कविता त्यस्तै छन् ।’ चर्चित गायिका आनीले बेलवासेलाई कृतिका लागि बधाई दिँदै भनिन्, ‘महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लाग्छ। बेलवासेले देखेकाभोगेका अनुभव सँगालेर सुन्दर कविता कोर्न सफल्ता सुन्दा आनन्द आउँछ ।’

कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो भन्दै उनले अगाडि भने, ‘अझै बेलवासेका कविता इन्टरभेसन पनि हो । कविता बौद्धिकताले भरिएका छन् । प्रेम दर्शन र भोगाइहरू कवितामा बलशाली बनेर आएका छन् । स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने, ‘पैसा कमाउन नसके पनि साथी र आफन्त कमाएको छु । बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु । उनले अगाडि भने, आफ्नो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरूको रूपलाई कविताको रूप दिने प्रयास मात्र गरेको हुँ ।’

यसअघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मानपत्र सहित सम्मान गरेका थिए। कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानबारे संक्षेपमा प्रकाश पारेका थिए ।कार्यक्रममा लोकार्पित कृतिका कविताहरू कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले वाचन गरेका थिए । प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए ।