• २०८३ श्रावण २, शनिबार

अमेरिकामा भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना

काठमाडौँ ।

क्यालिफोर्नियाको रिचमण्ड सिटीस्थित नेपाली सामुदायिक भवनमा २१३औँ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोर्नियाको योजना र पहलमा उक्त सालिक स्थापना गरिएको हो। यही जुलाई महिनाको १२ तारिख आइतबार वरिष्ठ रेडियो प्रस्तोता तथा कवि डा. नवराज लम्साल र रिचमण्ड सिटीका मेयर इडवार्डो मार्टिनेजले संयुक्त रूपमा उक्त सालिकको अनावरण गरेका थिए । उक्त अनावरण समारोहमा चर्चित रेडियो कार्यक्रम ‘बुलबुल’ का परिकल्पनाकार तथा प्रस्तोता अच्युत घिमिरे, हर्कुलिस् सिटी काउन्सिलका सदस्य डिल्ली भट्टराई, न्यान्सका अध्यक्ष प्रितेश कार्की लगायत बे एरियाका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा साहित्यानुरागीहरूको बाक्लो उपस्थिति थियो।कार्यक्रममा लस एन्जलसबाट च्याप्टर अध्यक्ष मोहन निउरे, डन कार्की, केशी श्रेष्ठ, सिक्किम च्याप्टरबाट बिष्णुमाया कट्टेल लगायत अन्य अतिथिहरुको सहोभागिता थियो । सान फ्रान्सिस्को बे एरियाका नेपाली समुदायको उल्लेखनीय उपस्थितिले समारोहलाई थप भव्य, ऐतिहासिक र स्मरणीय बनाएको थियो ।

सालिक अनावरणकै दिन अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले सामुदायिक भवनको सभाहलमा प्रतियोगितात्मक कविता वाचन, भानु विशेष च्याप्टरको मुखपत्र ‘समुद्रपारिका सिर्जना’ को लोकार्पण, सगरमाथा आरोहीहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रमसहित भव्य साहित्यिक कार्यक्रम समेत आयोजना गरेको थियो । अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता कवि डा. नवराज लम्सालले गरेका थिए । बे एरियाका सक्रिय साहित्यकारहरू तथा अन्य बौद्धिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई सुप्रसिद्ध रेडियो कार्यक्रम ‘बुलबुल’ का सञ्चालक अच्युत घिमिरेको उपस्थितिले झन् गरिमामय बनाएको थियो । करिब ७ घण्टा चलेको उक्त कार्यक्रमको उद्घोषण महासचिव नारायण भट्टराई र उपाध्यक्ष दीपक पाठकले संयुक्त रूपमा गरेका थिए ।

कविता प्रतियोगितामा जमुना भट्टराई प्रथम, गीता बजगाईं द्वितीय र राज ढुङ्गानाले तृतीय स्थान हासिल गरेका थिए भने हिमेश भट्टराई र माया आचार्य श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। कविता प्रतियोगिताको मूल्याङ्कन भाषाविद् पद्मप्रसाद नेपाल, ऋषभदेव घिमिरे र केदारनाथ खनालसहितको टोलीले गरेको थियो। साथै, अप्रतियोगी कविहरू धुर्व थापा, दीपक भण्डारी, दीपक पाठक, अमर तामाङ, लक्ष्मण अधिकारी लगायत करिब ३० जना कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कवि नवराज लम्सालले एसिया महादेशबाहिर पहिलो भानुभक्तको सालिक अमेरिकामा स्थापना गरेर अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले ठूलो ऐतिहासिक कार्य गरेको बताए भने अच्युत घिमिरेले उक्त सालिकले नेपाली डायस्पोरालाई आफ्नो संस्कृतिसँग जोड्ने एउटा गतिशील साँघुको काम गर्ने बताए । अन्य वक्ताहरूले पनि बाबु आचार्यको टोलीले गरेको यस महत्वपूर्ण कार्यको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य राख्दै च्याप्टरकी वरिष्ठ उपाध्यक्ष रीतादेवी प्रधानले मूर्ति स्थापना कार्यमा सक्रिय रूपमा भूमिका खेल्ने प्राध्यापक धर्मराज कोइराला, नेपालबाट अमेरिकासम्म मूर्ति र च्याप्टरको मुखपत्र ल्याउन भूमिका खेल्ने नवनियुक्त अनेसास केन्द्रीय सचिव ऋषवदेव घिमिरे, सामुदायिक भवनको प्राङ्गणमा मूर्ति स्थापना गर्न सहयोग गर्ने डिजाइनर त्रैलोकेश्वर मल्ल, उक्त कार्यक्रममा व्यवस्थापकीय पक्ष सम्हाल्ने तथा चिया–खाजाको व्यवस्था मिलाइदिने च्याप्टर सदस्य मीरा उजेली तथा अरुण न्यौपाने लगायत सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

विदेशी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले प्रवासी नेपाली समुदायबीच साहित्यिक एकता र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाएको सहभागीहरूले जनाएका छन् । सालिक निर्माणमा वैचारिक, शारीरिक, मानसिक र द्रव्यदान गरेर सहयोग गर्नुहुने तमाम व्यक्तित्वहरूलाई अनेसास उत्तर क्यालिफोर्निया च्याप्टरले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।