• २०८१ माघ ५ शनिवार

अज्ञात आरम्भ

आर्यश शर्मा घिमिरे

आर्यश शर्मा घिमिरे

सदियौ देखी एकटकले उभिइरहेको
पहाडको कविता लेखुँ ?
कि त्यही पहाडले आफ्नो छातीभित्र बोकिराखेको
जंगलको कविता लेखु ?
ती जंगलका नफुल्ने फूलहरुको कविता लेखुँ ?
ती जंगलका झुसिल किराहरुको
पुतली बन्ने रहरहरुको कविता लेखुँ कि
तिनका भ्रुण हत्या गरिदिने बारुलाका कविता ?
अनि डढेलो लाग्दा ती बारुला कता जाँदा हुन् ?
ती झुसिल किराहरु कता लुक्दा हुन् ?
अनि त्यो डढेलो लगाउने चट्याङले जन्माएको बादल
कालो थियो कि गोरो ?
जंगल भित्र डुलि हिडने तुँवालोको कविता लेखुँ ?
तुवाँलो…
दुःख जस्तै त हुन्छ नि हगी ?
जति बेर रहयो
उति घना लाग्ने ।
जंगलभित्र यौवनले धपक्कै बलेको गुराँसको कविता लेखुँ कि
गुराँसका बोट माथी ढकमक्कै ढाकिएको कुहिरोको कविता
कि त्यै कुहिरोमा हराइरहेको
एउटा दुखी कागको कविता लेखुँ ?
छिप्पिएको साँझको कविता लेखुँ कि
उदाउँदै गरेको बिहानीको कविता ?

डाँडामाथिको घाम र जूनको कविता लेखुँ कि
लेकतिर बगि जाने खोलाको कविता
खोला किनाराका झुपडीहरुको कविता लेखुँ कि
आँगनमा खेलिरहेका कुखुराका चल्लाहरुकाकविता
कि आकाशमा उडिरहेका चील र बाजहरुको कविता लेखुँ ?
कि त्यही पहाड यही खोला
बाफ बनी बादल बनी
त्यै पहाडसँग ठोक्किएर
खसिजाने पानीका थोपाहरुका कविता लेखुँ ?
कि त्यै पानीको नशामा डुबेर लम्पसार परि
आफ्नै छातीभरी
पाङ्ग्रा र पैताला दगुरिरहन दिने सडकको कविता लेखुँ ?

सडक
दिनभर सुतिरहन्छ
रातभर सुतिरहन्छ
दिनभर र रातभर
चौबीसै घन्टा सुतिरहन्छ ।
सडकले निलेका जंगलका कविता लेखुँ कि ?
जंगलले निलेका सडकका कविता
कि त्यही सडकको एउटा किनारमा
झोक्रीएर बसेको भुस्याहा कुकुरको कविता लेखुँ ?
थोत्रो मिनिबसको टाङ्मुनी
नाङ्गै सुतिरहेका केटाकेटीको कविता लेखुँ ?
त्यो खिया लागिसकेको मिनिबसमा आजसम्म
कति मान्छे चढे होलान ?
कति गीत बज्यो होला ?
कति वटा चुरोट बले होला ?
कि त्यही सडकको अर्को किनारमा मात्तिदै आइरहेको
एउटा् जडयाहाको कविता लेखुँ ?
उसले तानिरहेको आधा जलिसकेको आधा जल्न बाकीँ
चुरोटको कविता लेखुँ ?
उसले रित्याइसकेका बोत्तलहरुको कविता लेखुँ कि
उ जाने भट्टीहरुका कविता लेखुँ ?
कि त्यै भट्टीको साहुनीको कविता लेखुँ ?
साहुनीले भट्टीका लागि चाहिने सामान किन्न
कहाँ-कहाँ पुग्नु पर्दो हो
उनले डुलेका बजारहरुका कविता लेखुँ ?
मान्छेले सामान र सामानले मान्छे बेच्ने
बजारहरुको कविता लेखुँ ?
बजारका खाजाघरमा खाज खान छिरेका
शहरका मान्छेहरुका कविता लेखुँ ?

शहर…….
आदिममानव सभ्यता
क्वाप्पचपाएर
मस्त निन्द्रामा सुतिरहेको छ ।
खाजाघरमा जागिर पाएको चुलेसीको ढाड कति दुख्दो हो
अनि चियाको बाफले कति मान्छेलाइ चुम्दै कहाँ पुग्दो हो ?
अनि त्यो चुल्होमा बलिरहेको दाउरा
जुन हाँगाबाट आएको हो त्यो हाँगामा
पिङ झुन्डिएको थियो कि मान्छेको घाँटी ?
प्रश्नहरुले भरिएको कविता लेखुँ कि
जवाफहरुको कविता ?
मान्छेले लेखेका कविताहरुको कविता लेखुँ ?
कि कविताहरुले लेखेका मान्छेका कविता ?
मान्छेले गाउने गीतहरुको कविता
मान्छेले पढ्ने किताबहरुको कविता
मान्छेले हेर्ने ऎनाहरुको कविता

ऎना……
जसलाइ हेरेर
संसारको सबैभन्दा क्रूर तानाशाही पनि
मुसुक्क मुस्कुराउँछ

संसारको सबैभन्दा भलादमी पनि
मनभित्र भित्रै डराउँछ
‘मान्छे हो ऎना मान्छेलाई हेर्न ।
कि त्यै ऎना जन्माउने बालुवाको माइतिघर
मरुभूमिको कविता लेखुँ ?
मरुभूमिको उँटको कविता लेखुँ ?
उसले देखेका सपनाहरुको कविता ?
उसले पर्खिरहेको बर्षातको कविता लेखुँ ?
कि त्यहि खोला त्यही बादल
त्यही सदियौ देखी एकटकले उभिइरहेको
पहाडको कविता लेखुँ ?


आर्यश शर्मा घिमिरे, ललितपुर