• २०८१ मंसिर २९ शनिवार

भ्रूणको अपिल

अहिल्या सुवाल

अहिल्या सुवाल

आमा !
किन हेर्नु भएको यताउति
असुरक्षित छोरी हुँ म
बोल्दैछु तपाईको गर्भबाट
गर्दै अपिल मेरो मृत्युको

मेरा अंग- प्रत्यङ्ग बन्नु अघि
छोरी हुँ भनि चिनिनु अघि
मलाई मारिदेउ आमा
म जन्मीएको र तिमी पलपल मरेको
म सक्दिन हेर्न

छोरी भन्ने थाहा पाएको क्षणदेखि
तिमीले पाउने हेला
छोरी भैं जीवन भर मैले भोग्ने पीडाको
लेखा जोखा राख्नु अघि नै
मारिदेऊ मलाई
भगवानको कसम !
मेरो हत्याको पाप लाग्ने छैन

पत्याएर हेर
कयौँ कलिला छोरीहरू मारे
कसलाई पााप लागेको छ
बरू धर्म लाग्नेछ पूण्य लाग्नेछ
किनभने
म जन्मेपछि तिमीले खेप्ने परिवारको हेला
म स्वयंले दाजु- भाइ र म मा सहनु पर्ने विभेद
स्कुलबाट फर्कँदाको बलात्कृत मेरो लास
फक्रन नपाएका फुलहरू
जरैबाट निमोठीएको आँधीहुरी हेर्नुपर्ने छैन
तेजाब फ्याकिएको कुरूप अनुहारले तर्सनु पर्नेछैन
सामान सरह बेचिएको र
बाबु दाजुभाईबाट बलात्कृत भएको सुन्नु पर्ने छैन

सारा दुखद घटनाका अगाडि
तिमी आफैं सोच्ने छौ र पछुतो गर्नेछौ
किन गर्भमै तुहाईन भनि
त्यसैले भन्छु
मलाई मारेको तिमीलाई पाप लाग्दैन आमा

आमा !
अपिल छ मेरो
निर्मला र भागिरथी बन्न चाहान्न म
त्यसैले यो संसार मै आउन चाहन्न म
मेरो हत्याको पाप लाग्ने छैन तिमीलाई
मलाई संसारमा आउन नदेउ
मलाई भ्रूण मै मारिदेउ !


यु. के निवासी सुवाल युवा कवि हुन् ।)
[email protected]