कविता

श्री पञ्चमी आउनुभन्दा केही अघि नै सुरु हुन्थ्यो- सरस्वती पूजाको तयारी । यसको तयारीमा जुट्नु हुन्थ्यो- चन्द्रकान्त ढकाल सर । नाँचगानको औधि रस चन्द्रकान्त सरलाई । हारमोनियमलगायत कतिपय बाजा पनि बजाउने । गीत पनि गाउने । नाँच्ने पनि । नाँच्न प्रशिक्षण पनि दिने । लगभग १५- २० दिनअघिदेखि चन्द्रकान्त सर विद्यालयको उत्तरतर्फ छेउको फराकिलो कोठामा एक हुल विद्यार्थी लिएर रिहर्सलका लागि पस्नु हुन्थ्यो र भित्रबाट चुकुल लगाउनु हुन्थ्यो । यतिबेला यस कोठामा कलाकार विद्यार्थीहरूको मात्र प्रवेश हुन्थ्यो । अरु जो हुन्थे; फल्याकको चेपबाट भित्र चिहाउथे । चन्द्रकान्त सर घरिघरि बाहिर निस्केर तिनीहरूलाई थर्काउनु हुन्थ्यो । त्यो युगलगीतमा केटीले नै केटा बनेर केटीसंग नाँच्ने समय थियो- त्यस समुदायमा । म २०३५-३६ सालतिरको पहाडमुल र तराईमुलको मिसमास बसोबास भएको समुदायको बजार क्षेत्रको एउटा विद्यालयको कार्यक्रमको कुरा गर्दैछु । त्यतिबेला नाँचगानका लागि गीत प्रायः सम्बन्धित विद्यार्थीले नै छनोट गरेको हुन्थ्यो । गीत र नृत्यको अन्तिम अनुमोदन चाहिँ चन्द्रकान्त सरबाट हुन्थ्यो ।
हो; एउटा युगलगीतको सम्बन्धमा भने त्यो गीत कहाँबाट लिइएको रहेछ भन्ने बारेमा त्यो समयदेखि अहिलेसम्म मेरो जिज्ञासा समाधान भएको छैन ।
गीत यस्तो थियो-
केटा: कुन बाटो है कहाँ जाने
केटी: गोरेटो बाटो गाई लाने
केटा: कुन गाउँ कुन घर ए नानी
केटी: दिदी र बहिनी हौं हामी
नाम के दाइको कहाँ जाने
दुवै: गोरेटो बाटो गाई लाने
केटो: लौ लौ लौ बहिनी माया नमार
केटी: लौ लौ लौ दाजै माया नमार
केटी: हातमा हात गरेर जाऔं न दाजु सिकार
केटा: हत्या गर्नु ठीक छैन जान्न म बहिनी सिकार…
र, स्रोत कतै नपाएपछि यो गीत चन्द्रकान्त सरकै रचना रहेछ कि भन्ने पनि लाग्न थालेको हो- मलाई ।
चन्द्रकान्त सरले सात कक्षासम्म अंग्रेजी विषय पढाउनु हुन्थ्यो । हामीलाई नपढाउने । उहाँकी भान्जी पढ्थिन्- हामीसंग । गम्भीर स्वभाव थियो- उनको । उनको साथी भएर पनि चन्द्रकान्त सरसंग निकटता बढाउन असम्भव जस्तै । चन्द्रकान्त सरसंग अग्घोर आकर्षण भएर पनि ती दिनमा शिक्षक र विद्यार्थीका बीचमा जुन पर्खाल निर्माण भएको हुन्थ्यो; कहिल्यै नाघ्न सकिएन ।
सर्लाही जिल्लाको वयलवास (हालः ईश्वरपुर नगरपालिका) स्थित नारायण माध्यमिक विद्यालय एक समय हाम्रो परिवारले सबैभन्दा बढी रुचाएको विद्यालयका रूपमा रह्यो । सिन्धुलीका मान्छे हामी । सिन्धुली जिल्लाको तीनपाटन (तत्कालिन: पाटनदेवी गाउँपञ्चायत) हाम्रो घर । त्यहाँ प्राइमरी स्कुलको पढाइ सकिएपछि त्यसपछिको पठनपाठनका लागि धेरैजसो बाबुआमा आफ्ना छोराछोरीलाई सिन्धुलीस्थित कमला हाई स्कुलमा पठाउँथे; हाम्रो परिवारले चै वयलवासको यही नारायण हाई स्कुलमा पठायो । यस स्कुलमा कुनै समय विद्यार्थी हुनुहुन्थ्यो- मेरो आफ्नै काकाबा- रामहरि पोखरेल र, कान्छी दिदी- सीता पोखरेल कोइराला । त्यसो त हाम्रा कान्छा मामा शङ्कर घिमिरे पनि यही हाई स्कुलमा भर्ना हुनुभएको थियो ।
म आफू चै दुईपटक भर्ना भएँ- यस स्कुलमा । म कक्षा- ६ मा भर्ना हुँदा यसलाई नारायण हाई स्कुल भनिन्थ्यो; कक्षा- ८ मा भर्ना हुँदा यसको नाम नारायण माध्यमिक विद्यालय भएको थियो । २०२८ सालमा प्रारम्भ भएको नयाँ शिक्षाले हाई स्कुललाई माध्यमिक विद्यालय भन्न रुचाएको अवस्था जो थियो । हाम्रो परिवारबाट यस स्कुलमा भर्ना हुने म नै कान्छो सदस्य भएँ; मेरा भाइबहिनीहरू सबैले सिन्धुलीकै भीमस्थानस्थित भवानी माध्यमिक विद्यालयमा पढ्न पाए ।
म कक्षा- ६ मा भर्ना भएर केही महिना यहाँ पढें र घर गएँ । घर जाँदा भिमानस्थित जनजागृति हाई स्कुलमा भर्ना भएर गएको थिएँ । घरमा पुगेपछिको न्यानो रमाइलो सकिएकै थिएन; जनजागृति हाइस्कुलमा पढ्न डेराडन्डाको बन्दोबस्त हुनै बाँकी थियो: विरामी भएँ । विरामीबाट तङ्ग्रिन झन्डै महिना दिन लाग्यो; अनि यसपटक यत्तिक्कै भयो भन्ने कुरा आयो । यस वर्षको बाँकी दिनहरू मैले चदाहा खोलाको जनता बगरमा गाई चराएर बिताएँ । अर्को वर्ष प्रारम्भ हुँदा म गाई चराउने काममा रत्तिई सकेको थिएँ । यस बीचमा मैले अर्को रमाइलो काम सिकें- हलो जोत्न । त्यस उमेरमा ती दुई काम, ती साथी र त्यो दिनचर्यासंग यति मुग्ध भएछु; कसो कसो मलाई त अब कसैले पढ्ने सन्दर्भ ननिकालिदिए हुन्थ्यो जस्तो पो लाग्न थालेछ । अर्को वर्ष पनि पढिएन । अनि अर्को वर्ष भवानी प्राथमिक स्कुल भवानी निम्नमाध्यमिक विद्यालय भयो र म कक्षा- ६ मा भर्ना भएँ । भवानी स्कुल स्तरवृद्धि भएर भवानी निम्नमाध्यमिक विद्यालय नभएको भए मेरो गाई चराउने र हलो जोत्ने रउस बीचैमा अलपत्र पर्ने थिएन ।
भवानी निम्नमाध्यमिक विद्यालयबाट कक्षा- ७ उतीर्ण भएपछि कक्षा- ८ मा मलाई भर्ना गर्ने सन्दर्भमा हाम्रो परिवारले फेरि यही नारायण माध्यमिक विद्यालयलाई सम्झियो । यसपटक मेरा भानिज भाइ रामजी घिमिरे पनि मसंगै आएका थिए ।
नारायण माध्यमिक विद्यालय सर्लाहीकै ठूला र पुराना विद्यालयहरूमा पर्ने विद्यालय । हामी जुन स्कुलबाट आएका थियौं; जम्मा डेडसय जति विद्यार्थी थिए । यहाँ हामी भर्ना भएको कक्षा- ८ मै थिए: १२८ जना विद्यार्थी । विद्यालयभन्दा उत्तरतर्फ फुलजोरबाबाको स्थान । ती दिनमा यस स्कुलको नाम र ठेगाना यसरी लेखिन्थ्यो- ‘नारायण हाई स्कुल, केशरगञ्ज, फुलजोर, सर्लाही ।’ काठ प्रयोग गरेर बनाइएका लामालामा चारवटा भवन । बीचमा चापाकल र फूलबारी । विद्यालय भवनहरूभन्दा दक्षिणतर्फ प्रशस्त फैलावट भएको चौर । चौरको उत्तरपश्चिमछेउतिर सिमलको अग्लो रुख । श्री पञ्चमी वा सरस्वती पूजाको सन्दर्भ आउँदा सबैभन्दा सजिलोसंग मेरो स्मरणमा आउने यही विद्यालयको सरस्वती पूजा हो ।
श्री पञ्चमीको अघिल्लो दिन स्कुल चाडै विदा हुन्थ्यो । विदा हुनुअघि कक्षामा एउटा सूचना सुनाइन्थ्यो- ‘भोलि नुहाएर केही फूलपाती लिएर बिहान आठ बजे स्कुलमा आई पुग्ने ।’ हामी त्यही गथ्र्यौ । फूलको भने अभाव हुन्थ्यो । स्कुल पुग्दा रुदिलो र रातो बाह्रमासे फूलको थुप्रो देखिन्थ्यो । केराका थाम ठड्याएर र सेउलाले बेरबार पारेर बनाइएको हुन्थ्यो- सरस्वतीको मन्दिर । यहीँ पुजारीको आसनमा तन्मयका साथ बसेको पाइन्थ्यो- मुसाफिर झा सरलाई । शारदानन्द वर्मा सरलाई पनि यतैकतै देखिन्थ्यो । आठ बजे स्कुल पुग्दा मन्दिरअगाडि विद्यार्थीहरूको लाइन लामै भइसकेको हुन्थ्यो । लाइनका सबैले सरस्वतीको पूजा गर्न पाइने । पूजा गरेर निस्किदा घरका लागि भनेर सरले अक्षेता, फूलपाती, चन्दन र केही फलफूलका टुक्रा दिनु हुन्थ्यो । र, भन्नुहुन्थ्यो- ‘यो घर पुरयाएर आइज ।’ फलफूलमा प्रायः हुन्थ्यो- बयर, केराका टुक्रा, स्याउका टुक्रा, सुन्तलाका केस्रा, अङ्गुर, उखुका टुक्रा र केसरका टुक्रा ।
हाम्रो दौडादौडी चल्थ्यो ।
मान्यजनका हातमा फूलपाती थमाएर हामी फेरि स्कुलतिर दौडिन्थ्यौं । स्कुल पुग्दा साथीहरू लाइनमा बसिसकेका हुन्थे । अब सबैलाई कागज बाँडिन्थ्यो । अनि पुरी, अनि तरकारी अनि बुनियाँ । पुरी तरकारी पनि खाइन्थ्यो तर थोरथोरै । सबैको ध्यान रहने बुनियाँमा । बुनियैबुनियाँ खान पनि पाइने । थपीथपी खान पनि पाइने । भरपेट खान पाइने ।
उता मञ्चको तयारी चल्दै हुन्थ्यो । नरेश चौधरी, रामएकलाल साह, उमेशलाल कर्ण आदि सरहरू हरिबहादुर बस्नेत, रामगोपाल सिवाकोटी, लक्ष्मण थापा, इन्द्रेश चौधरी, जगदीश मैनाली, प्रकाश वस्नेत, प्रदीप कार्की, ध्रुवप्रसाद पाण्डे, दुर्गानन्द झा उजुरबहादुर बुढाथोकी आदि कक्षाका बलियाबाङ्गा विद्यार्थीलाई परिचालन गरेर मञ्चको तयारीमा जुटेको देखिन्थ्यो ।
रिहर्सलमा सामेल विद्यार्थीहरू कता रहन्थे कुन्नि ! न चन्द्रकान्त सरलाई देखिन्थ्यो; न ती कलाकार साथीहरूलाई । तिनीहरूलाई न सरस्वतीको मन्दिर अगाडिको लाइनमा देखिन्थ्यो; न बुनियाँ खाने लाइनमा । ती एकैचोटी मञ्चमा प्रस्तुत हुन्थे । सके बुनियाँभन्दा तिनीहरूका लागि आफ्नो प्रस्तुतिमा निखार ल्याउनु बढी स्वादको विषय हुन्थ्यो ।
खानपान सकिएपछि सबै मञ्च अगाडि बसेका हुन्थे । सबैलाई मञ्चमा पर्दा कतिबेला खुल्छ भन्ने ध्याउन्न हुन्थ्यो । पर्दा हेटेपछि चन्द्रकान्त सरलाई मञ्चको एक छेउमा हारमोनियमसंग देखिन्थ्यो । सर घरिघरि नेपथ्यमा जानु हुन्थ्यो । प्रस्तुतिमा केही प्रहसन र गायन पनि रहन्थे । प्रस्तुतिमा नृत्यको प्रधानता हुन्थ्यो । कलाकार साथीहरूले नृत्यसंग हामीलाई केही नयाँ गीतहरू दिन्थे । ती गीत केही दिनसम्म हामी सबै विद्यार्थीहरूको मनमस्तिष्कमा गुन्जिरहेका हुन्थे ।
हामी सबै चाड घरमा परिवारका साथमा मनाउने । श्री पञ्चमी/सरस्वती पूजा चै हामीले विद्यालयमा साथीहरूका बीचमा मनाउने चाड रह्यो । हाम्रालागि श्री पञ्चमी सरस्वतीको पूजा गर्ने, बयर, केसर र बुनियाँ खाने र नाँचगान गर्ने/हेर्ने चाडका रूपमा रह्यो ।
ईश्वर पोखरेल