• २०८१ चैत १२ बुधबार

आचार्यको ‘शब्दब्रह्म’ लोकार्पण

डा. भानुभक्त आचार्यको कवितासङ्ग्रह ‘शब्दब्रह्म लोकार्पण गरिएको छ ।आचार्यको पहिलो कवितासङ्ग्रह ‘शब्दब्रह्म’ काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । आवरण प्रकाशनले पाठकमाझ ल्याएको उक्त कृतिमा ५४ कविता संग्रहित छन् ।

कवि आचार्य शब्दमा शान्तिसँगसँगै क्रान्ति पनि समाहित हुने बताउँछन् । उनले लेखेका छन्, ‘सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण वर्ण वा शब्द मानिन्छ । यो आफैँमा ब्रह्ममय छ । शब्दहरूले वेदका ऋचा बनेका छन् । गायत्री मन्त्रलगायत हरेक शक्ति, साधना र उपासनाका मन्त्रहरू शब्दमय छन् । त्यसैलाई मैले शब्दब्रह्म शीर्षक कवितामा भनेको छु, शब्दमै सृष्टि, स्थिति र लय छ ।’

कार्यक्रममा आध्यात्मिक चिन्तक एलपी भानु शर्माले शब्दको शक्तिलाई कुनै वस्तु या चिन्तनसँग मापन गर्न नसकिने जनाउँदै कवितासङ्ग्रहमा प्रयोग भएका शब्दहरू ब्रह्मास्वरूप रहेको विचार राखे । पूर्वीय दर्शनका अध्येता एवं जीवन विज्ञानका संस्थापकसमेत रहेका शर्माले शब्दको गरिराइमा पुग्दा शब्दब्रह्म थाहा हुने उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लेखकले कृतिमार्फत जीवन र जगत्का बारेमा निर्मम प्रहार गर्ने प्रयास गरेको टिप्पणी गरे । पत्रकारले कुन र कस्ता शब्दले प्रहार गर्दा त्यसको प्रभाव पर्छ भन्ने थाहा पाएकाले नै कविताका शब्दलाई बेजोड बनाउन सकेको उनको ठम्याइ छ ।

पत्रकार बबिता बस्नेतले सात समुद्रपारि बसेर पनि नेपालका हरेक घटना जानकारी राख्ने लेखक आचार्यले समाजका कतिपय विकृतिलाई उजागर गरेर समाजलाई सचेत गराउने प्रयास गरेको बताइन् । आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल र पत्रकारिताका प्राध्यापक डा. निर्मलमणि अधिकारीले शब्दहरूको शक्तिले शब्दब्रह्म कवितासङ्ग्रहलाई शक्तिशाली बनाएको जनाए ।

लेखक डा. आचार्यले कृतिमा समेटिएका कविताले समाज, राजनीति, पत्रकार र आफैँमाथि पनि व्यङ्ग्य गरेको सुनाए । पत्रकार, राजनीतिज्ञदेखि लिएर सबै पेसा र व्यवसायका व्यक्ति नै शब्दका खेलाडी भएकाले शब्दको प्रयोगमा अनुशासित बन्नुपर्नेमा उनले जोड दिए ।