• २०८१ पौष २९ सोमबार

पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

लिस्बन ।

बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको दोस्रो कृति ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको अधिकारीको उक्त कृति हालै सार्वजनिक भएको हो ।

कथासंग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो रहेको छ। युरोपको सेरोफेरोमा रहेर लेखिएको यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्त्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्यहरू र सप्तरङ्गी समग्रताको निष्ठामा बाँच्नेहरूको कहानी छ ।

पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरित अधिकारीका कथाहरू अतियथार्थवाद र यदाकदा जादुई यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पुस्तकको प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल अद्वैतमार्ग, काठमाडौँ रहेको छ । पुस्तकको मूल्य नेपालमा ४२५ रुपैयाँ र विदेशमा सात युरो वा डलर राखिएको छ।