• २०८१ मंसिर २९ शनिवार

वैशाख ६ देखि ’उलार’ मञ्चन

वैशाख ७, २०७९ काठमाडौँ

लेखक नयनराज पाण्डेको लोकप्रिय उपन्यास ’उलार’ माथि बनेको नाटक वैशाख ६ गतेबाट मञ्चन भैरहेछ । रंगकर्मी चे शंकरको परिकल्पना तथा निर्देशनमा मञ्चन भएको नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु भएको हो ।

गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चनगर्न लागेको यस नाटकमा कलाकारहरु सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायतको प्रमुख अभिनय छ । यसअघि चे शंकरले ’सेम टाइम नेक्स्ट इयर’, ’लुक ब्याक इन एंगर’, ’तिर्खा’, ’ऊ मरेकी छैन’, ’कोही किन बर्बाद होस्, ’मिस्टर फक्स एन्ड स्कुलब्वाइ’ लगायतका नाटक निर्देशन गरिसकेका छन् ।

२५ वर्षअघि प्रकाशित ’उलार’ नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्त तहका जनताको संघर्षको कथा हो । लेखक पाण्डेको महत्त्वपूर्ण कृतिका रुपमा पढिएको उपन्यासको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेकाले नाटकमा रुपान्तरण गरिएको निर्देशक चे शंकरको भनाइ छ । एक महिना बढी रिहर्सलमा बिताएको यो नाटक वैशाख ६ गतेदेखि १८ सम्म मञ्चन हुनेछ ।