समाचार
मुकेश थरथर काम्दै घरभित्र पस्यो । खल्तीबाट साँचो निकाल्दै ढोकामा भएको ताल्चामा छिराउन खोज्यो तर उसका कामेका हातले धेरै कोसिस गर्दा पनि ताल्चा खोल्न बेर लाग्यो । बल्लतल्ल ताल्चा खुल्यो । चिटचिट पसिनाको अनुहार, लड़खडाएका गोडा र कामेका हातलाई सम्हाल्दै मुकेश कोठामा हस्याङ्फस्याङ् गर्दै गयो । कामेका हातैले ल्यापटप खोल्यो । आफूलाई सम्हाल्दै फेसबुकमा भएका फोटाहरू मेटाउन थाल्यो । अन्तिम फोटो डिलिट गर्न खोज्दा, ठिक त्यतिबेला, मोबाइल बज्यो । फोन हेर्दै उठाउने मन नलागीनलागी कापेका स्वरमा “हेलो भन्यो । उसले सोधी – “के भयो, सबै फोटाहरू प्रोफाइलबाट किन डिलिट गरेको ? तिमी ठीक त छौ”??
सेकेन्ड सेकेन्डको हिसाब राख्दिरहिछे – मुकेश झन् स्तब्ध भयो । कुनै कार्यक्रममा भेट भएकी ऊ छोटै समयमा नगिचकी साथी भएकी थिई । तर कसैलाई थाहा थिएन ।
सस्तादेखि महँगासम्मका अस्पतालमा धेरै खर्च गरेर उपचार गर्दा पनि केही सिप नलागेपछि मुकेश बसेका सहरका छेउमा आश्रम जमाएर बस्ने एक धामीलाई देखाउन गाउँबाट काकाको छोरा आएको थियो । मुकेशलाई बिहान मात्रै देखाएर उनीहरू डेरामा फर्केका थिए । धामी प्रसिद्ध नै थिए । जानुअघि मुकेश भन्दै थियो – “सबै तिनीहरूको नौटङ्की हो । हुनेवाला केही छैन ।” तै भाइलाई साथ दिन ऊ गएको थियो । त्यहाँ मानिसहरुको निकै भीडभाड थियो । कोही बिरामी लिएर, र कोही एक्लै आफ्ना परिवारका र निजी समस्या लिएर पुगेका थिए । धामी हँसमुख, तन्नेरी र खाइलाग्दा थिए । युवायुवतीको पनि चर्को भीड थियो । कोही जोडी थिए भने कोही एक्लै ।
निकै समयपछि भाइको पालो आयो, उनीहरू धामीअगाडि सँगै बसे । उसले समस्या बतायो । मुकेश बिनाआस्था र बिनामतलब यताउति हेर्नथाल्यो । धामीले भाइलाई उपचार बताए, तर, उनका आँखा निरन्तर मुकेशका अनुहारमा रहे, उनी मुस्कुराए । मुकेश अकमकायो । धामीले भाइलाई – भित्रको कोठामा गएर देवीका मूर्तिमा भेटी राखेर ढोगी आउन भने । मुकेशलाई सोधे – “तपाईको पनि समस्या छ हैन ? मुकेशले “छैन”मा टाउको हल्लायो । धामी झनै मुस्कुराए । “सन्चो हुन्छ नि गुरु ?” भाइले सोध्यो । “जाऊ, मेरा कुरा मान पहिले” भाइ भित्र पसेर देवीको मूर्तिमा पैसा चढाएर ढोग्यो । टाउको उठाएर हेर्दा मूर्तिका पाउमा पैसै पैसा र केही फोटाहरू पनि छरपस्ट थिए । तीमध्ये एउटा फोटो मुकेशको पनि थियो, झन्डै तासको आकारको । ऊ छक्क परेर बाहिर निस्क्यो । मुकेशलाई भन्यो – “दाइ, भित्र देवीका पाउमा तेरो फोटो छ ।”
त्यसको लगतै धामीले मुकेशलाई भने “म चिन्छु नि तपाईँलाई राम्रैसित”, उनले यति भन्दा-नभन्दा उनलाई केही नसोधीकन भित्र देवीको मूर्ति राखिएको कोठामा मुकेश आफैँ पस्यो, धामी मुस्कुराए मात्र । बाहिर निस्केर मुकेशले सोध्यो – “त्यो फोटो यहाँ कसले ल्यायो र किन त्यहाँ राखियो ?” मुकेश जिल्ल थियो । बाहिर केहीका हातमा फोटो देखेको त थियो, तर त्यसको अर्थ उसलाई थाहा थिएन । धामीका अघि धम्म बसेर नगिच राखिएको बोतलबाट पानी पियो मुकेशले । केही टाउकोमा पनि खन्यायो । उसको फेसबुकको सबैभन्दा राम्रो प्रोफाइल फोटो देवीका पाउमा हाँसिरहेको थियो ।
काँतर स्वरमा मुकेशले धामीलाई सोध्यो – “मेरो फोटो कहाँबाट यहाँ आयो ?” धामीले भने “भक्तका समस्या र कुरालाई हामी गोप्य राख्छौँ । सबैलाई सुनाएर मैले भन्न मिल्दैन । “उसोभए भित्र देवीका अघिल्तिर गएर मलाई सत्य तथ्य भन्नुहोस्” – मुकेशले जिद्दी गरिरह्यो । बाहिर कुरेर बसेका अन्य भक्त पनि धेरै थिए, समयको बर्बादी गर्नुभन्दा धामीले पाखुरामा समातेर मुकेशलाई भित्र लगे र भने – “तिमी जोसित अहिले सम्बन्धमा छौ, तिनैले ल्याएर चढाएकी हुन्, बाहिर देख्यौ नि कतिका हातहातमा तस्बिर छन् ?”
त्यो उही साथी थिई जसले मुकेशलाई भौतिकरूपमा पाउनका लागि जेसुकै गर्न, जति पनि मूल्य तिर्न तयार थिई । बजिरहेको फोन उठाएर मुकेशले लामो सुस्केरा हाल्दै उनलाई भन्यो – “यदि तिम्रो त्यस्तै इच्छा थियो भने मलाई व्यावहारिक तरिकाले पनि त भन्न सक्थ्यौ नि । तिमी यति हदसम्म गर्नसक्छौ भनेर मैले सपनामा पनि सोचेको थिइनँ । मेरो शरीर पाउनका लागि गरेको तिम्रो यो तरिका के ठीक हो र?”
मुकेश फोन काटेर खाटमा थचक्क बस्यो !
**
हालः झापा ।