शब्दाक्षरहरूको भावस्मृति पुरानो छ
विषादको उमेर ‘अ’ भन्दा धेरै छ
क्षोभ ठूलो छ ‘आ’ भन्दा
प्रेम धर्तीको आफन्त हुनसक्छ
तर घृणा पानी र आगोभन्दा पनि प्राचीन छ
यसैकारण पृथ्वी छुट्टिएर अलग भएको हो
कुनै ठूलो अग्नि पिण्डबाट ।
घृणा यस धर्तीको वंशाणुगत गुण हो
प्रेम कृत्रिमता हो
सभ्य हुने प्रयासमा सिकेको पाठ
कुममा बोकेको लुगाको थुप्रोबाट जब चम्किन्छ बाहुला
तब फेरिन्छ त्यो लुगा धेरैवटा झन्डामा
युद्ध धर्तीको सहज हुने प्रक्रिया हो ।
जब बनेको थिएन मसी
न कण्ठध्वनिकै कुरा थियो
भाव नै तन्तु थियो समाजको
मृत्युको अर्थ थियो- विलाप
जन्मको अर्थ- हर्षको मीठो ध्वनि
शरीर
लोभ, क्षोभ, मोह, कुण्ठा र निन्दाको घर थियो
प्रेम पनि बहन्थ्यो सतहमा
तर अंतशमा त्यही घृणा बुर्जुआ अट्टहास गथ्र्यो
बाँकी सबै भावहरू त्यसैको खुट्टा ढोग्थे ।
प्रेम एउटा नौलो
अल्लारे वेलाको भाव हो, सबै भावहरूमा
जस्तो कि हिमाल छ कमजोर, घृणाले पुरिएको
उमेरमा प्रेमभन्दा करोडौँ वर्ष जेठो ।
बुर्जुआहरूको सम्मान गरौँ
मेरो धर्मको सबैभन्दा समकालीन व्याख्या हो ।
अनुवाद: राजेन्द्र शलभ
अखिलेश श्रीवास्तव, गोरखपुर, उत्तरप्रदेश, भारत ।