• २०८३ बैशाख १६, बुधबार

स्रष्टाहरूलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान

काठमाडौं –

वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शंकर गिरिले नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि साधनारत माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरे ।

काठमाडौंमा आयोजित कार्यक्रममा गिरीले कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शंकर पुरस्कार’ प्रदान गरे । शाक्यले आफ्नै स्रोत साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपि निर्माणकासाथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्र मानवको आविष्कार गर्दै अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएको फाउन्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

दुवै पुरस्कारकासाथ जनही नगद राशि एक एक लाख रुपैयाँ प्रदान गरिएको छ । फाउन्डेसनका संरक्षक गिरिले ‘आख्यान, कविता र हास्यव्यंग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत सर्जक धनराज गिरिलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरे । फाउन्डेसनले सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरेको छ ।