• २०८३ असार ३२, बिहीबार

वाल्मीकि विद्यापीठको वेदान्त विभागमा भानुभक्तीय रचनावाचन

काठमाडौँ ।

२१३औँ भानुजयन्तीका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको वेदान्त विभागले भानुभक्तीय रचनावाचन समारोह आयोजना गर्दै आदिकवि भानुभक्त आचार्यका काव्यमा निहित वेदान्तीय दर्शन, अध्यात्म, नैतिक मूल्य र राष्ट्रिय चेतनामाथि गहन अध्ययन तथा अनुसन्धानको आवश्यकता औँल्याएको छ ।

वेदान्त विभागका प्रमुख प्रा. डा. सुमोदवर्धन कौडिन्न्यायनको संयोजकत्वमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार खगेन्द्र नेपाल प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा भानुभक्तका कृतिलाई केवल रामायणका अनुवादक वा आदिकविको परिचयमा सीमित नगरी त्यसमा निहित वेदान्त दर्शन, जीवनदृष्टि, सांस्कृतिक चेतना र राष्ट्रिय भावनाको विश्वविद्यालय तहमा गम्भीर अध्ययन हुनुपर्ने धारणा व्यक्त गरियो । भानुभक्तद्वारा रचित रामायण, रामगीता, प्रश्नोत्तरी तथा अन्य रचनाको सस्वर वाचन गरिएको कार्यक्रममा ती कृतिमा अद्वैत वेदान्त, भक्ति, नैतिकता, वैराग्य र लोकमङ्गलका भाव सशक्त रूपमा अभिव्यक्त भएको चर्चा गरियो ।

वक्ताहरूले नेपाली भाषा र साहित्यले राष्ट्रिय आत्माको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भानुभक्तका कृतिलाई नेपालको साहित्यिक, दार्शनिक र सांस्कृतिक सम्पदाका रूपमा संरक्षण, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । समारोहको अन्त्यमा वेदान्त विभागले साहित्य, दर्शन र संस्कृतिलाई जोड्ने यस्ता अनुसन्धानमुखी शैक्षिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।