गजल-हिन्दी
काठमाडौँ ।
नेपाली तथा सुनुवार भाषाकी चर्चित कवि एवं सामाजिक अभियन्ता तारादेवी सुनुवारको दशौँ कृति ‘शून्यदेखि पूर्णसम्म (मानसरोवर) यात्रा’ सार्वजनिक भएको छ । नागपञ्चमीको अवसर पारेर आयोजित एक समारोहबीच पुस्तक विमोचन गरिएको हो । वरिष्ठ कवि एवं पूर्वमुख्यसचिव विमल कोइराला, आध्यात्मिक चिन्तक तथा गोरखापत्रका पूर्वसम्पादक कमल रिजाल, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल, चलचित्रकर्मी मुकुन भुषाल तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पूर्वमुख्यसचिव एवं कवि विमल कोइरालाले ‘शून्यदेखि पूर्णसम्म’ मानसरोवर क्षेत्रको यात्रा विवरणमा मात्र सीमित नरही त्यहाँको अर्थतन्त्र, समाज र जनजीविकालाई समेत गहिराइपूर्वक प्रस्तुत गरेको बताउनुभयो। अर्थशास्त्र र साहित्य दुवैप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उहाँले यी दुई पक्षलाई एउटै कृतिमा संयोजन गर्न सक्नु पुस्तकको विशिष्टता भएको धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख वक्ता, लेखक तथा गोरखापत्रका पूर्वसम्पादक कमल रिजालले करिब २० मिनेटको मन्तव्यमा पुस्तकको शीर्षक, विषयवस्तु, लेखकीय दृष्टिकोण र लेखकको परिचयसमेत समेट्दै कृतिको साङ्गोपाङ्गो चर्चा गर्नुभयो। उहाँले पुस्तकका विभिन्न पक्षको विश्लेषण गर्दै यसको अन्तर्वस्तुको गहिराइ प्रस्तुत गर्नुभएको थियो ।
शिक्षाविद् डा. बलराम तिमल्सिना र भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्यालले कृतिमा मानसरोवर क्षेत्रको समाज, संस्कृति, प्रकृति र जनजीवनको जीवन्त चित्रण गरिएको बताउनुभयो। उहाँहरूले मानसरोवर क्षेत्रको अध्ययन तथा त्यस क्षेत्रको सामाजिक–सांस्कृतिक पक्ष बुझ्न चाहने पाठकका लागि पुस्तक उपयोगी हुने धारणा राख्नुभयो । समारोहमा जनजाति महिला महासङ्घकी अध्यक्ष शोभा सुनुवार, सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृत सुनुवार तथा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले तारादेवी सुनुवारको साहित्यिक यात्राको प्रशंसा गर्दै नयाँ कृतिका लागि शुभकामना व्यक्त गर्नुभयो। संविधानसभा सदस्य यज्ञराज सुनुवारले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । चलचित्रकर्मी मुकुन भुषालले पुस्तकमा लेखिकाको आफ्नो भूमिप्रतिको अगाध प्रेम स्पष्ट रूपमा अभिव्यक्त भएको बताउँदै कृति पाठकका लागि रोचक र पठनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले तारादेवी सुनुवारको निरन्तरको मिहिनेत, अध्ययन र साधनाबाट ‘शून्यदेखि पूर्णसम्म’ जस्तो जीवन्त कृति तयार भएको बताउनुभयो। उहाँले कृतिले यात्रा साहित्यमा नयाँ अनुभव र दृष्टिकोण थप्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।सुनुवारको साहित्यिक यात्रामा ‘परिस्थिति’ (कवितासङ्ग्रह, २०७३), ‘अविरल’ (कवितासङ्ग्रह, २०७५), ‘सम्झनाका फूलहरू’ (गजलसङ्ग्रह, २०७८), ‘युद्धभूमिमा डामिएको मन’ (अनुभूति–संस्मरण, २०८१) र ‘जिर्मा’ (कवितासङ्ग्रह, २०८२) प्रकाशित छन् । उनका अन्य चार कृति सुनुवार भाषामा प्रकाशित छन् । यसका अतिरिक्त उनका दर्जनौँ गीतसमेत रेकर्ड भइसकेका छन् । ‘शून्यदेखि पूर्णसम्म (मानसरोवर) यात्रा’ उनको प्रकाशित दशौँ कृति हो ।
