समाचार

पोखरा ।
गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । तिम्रै छ सम्झनाको म्युजिक भिडियो सार्वजनिक भएको हो । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो भने संकलन गरिएको छ । योगेश काजीको संगीत संयोजनमा तयार भएको गीत अमन तामाङको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोमा टिकटक स्टार बिना राउत र कुशल कोरियोग्राफर एवं डान्सर विवेक थापाको अभिनय छ ।
गीत सार्वजनिक भएपछि गायक बस्याल आशावादी छन् । पोखरामा रहेर संगीतसँगै पत्रकारिता क्षेत्रलाई अघि बढाइरहेका बस्यालको यो लोक लयको गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्द संगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्द संगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरि, दिपक शर्माको शब्दसंगीतमा ढाट्यो मायाले, आकाश दाहलको शब्द र आफ्नै संगीतमा बस है पियारी सार्वजनिक गरिसकेका छन् । लोक गीत संगीतबाटै आफ्नो सांगीतिक यात्रा शुरुआत गरेका बस्याल आफ्नी आमाको प्रेरणाबाट गीत संगीत क्षेत्रमा छिरेका हुन् । उनकी आमाले गाउँमा अझै पनि गाउने गर्छिन् । आमासँगै रोधीमा सहभागी बन्दै गर्दा आफूले गीत गाउन सिकेको बस्याल बताउँछन् ।
बस्याल भन्छन्, ‘सार्वजनिक भएको उक्त गीत मेरा लागि आशादित गीत हो, यसअघि मैले आधुनिक र पप गीत सार्वजनिक गरे पनि यसपटक लोक लयमा सार्वजनिक गरेको हुँ ।’ बस्याललाई गायक भएपछि सबै खालको गीत गाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ । नेपाली संगीतको धरातल नै मौलिक लोकगीत भएकाले यसको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बस्यालको तर्क छ । बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रीय संगीतसमेत सिकेका बस्याल पर्वतका हुन् ।