• २०८१ माघ २७ आइतबार

नोटबुक

दीपक चौलागाईं

दीपक चौलागाईं

मसँग एउटा नोटबुक छ,
हरियो रंगको,
जसमा छन् केही खाली पाना,
लेख्न बाँकी ।

खाली पानामा,
हरेक पल,
लेखिरहन्छु केही न केही ।

लेखिसकेर सररर्र पढ्छु,
केही केर्छु,
दोहोरयाएर पढ्छु,
दोहोरयाउछु,
केही सच्याउछु ।
शब्दहरूलाई अर्थले सजाउछु ।

कोर्छु कविता,
समेट्न खोज्छु गहिरो भाव,
उतार्न चाहन्छु सजीव बिम्ब,
सजाउने प्रयास गर्छु प्रतीकहरूले,
कतै अनुप्रास चिप्लन्छ,
कतै लय भत्किन्छ,
र कतै भत्कन्छ भाव तरंग ।

कथ्छु कथा,
छान्छु सुन्दर शिर्षक,
अगाडि बढाउँछु कथानक,
कथाले प्रेमरस मागेको बेला,
कलमले वीर रस ओकल्छ,
कथाले भक्ति मार्ग खोजेको बेला,
कलमले विद्रोह रोज्छ,
र क्रम भंग हुन्छ कथानक ।

इतिहासका उकाली, ओरालीहरू,
मोहका रंगीन तरेलीहरू,
समाजका विलुप्त पहेलीहरू,
अर्थतन्त्रका नवीनतम आयामहरू,
आत्मकथाका इमानदार हरफहरू ।
थुप्रै विषय छन् लेख्न बाँकी ।

हरेक पल
लेखिरहन्छु, मेटिरहन्छु, च्यातिरहन्छु,
जिन्दगीजस्तै पानाहरू ।

कुनै दिन आउने छ त्यो दिन,
नोटबुकको सकिने छ पाना,
बाँकी रहनेछ केवल बाहिरी गाता,
रंग उडेको ।

मसँग एउटा नोटबुक छ,
हरियो रंगको,
जसमा छन् केही खाली पाना,
भर्न बाँकी ।


दीपक चौलागाईं