कविता–हिन्दी
काठमाडौँ ।
सुरभि साहित्य प्रतिष्ठानको १७४ औँ आख्यान वाचन शृङ्खलामा सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कार अर्पण र विशेष कवितावाचन भएको थियो । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहेको यो कार्यक्रममा गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ र प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
त्यस्तै अन्य अतिथिहरूमा सुरभि–मुना–पुष्कर चालिसे छन्दकविता पुरस्कारका संस्थापक मुना चालिसे तथा पुष्कर चालिसे, भवानी पौडेल स्मृति प्रतिष्ठान, भद्रवासका अध्यक्ष वासुदेव पौडेल, शिक्षासेवी उद्धव रायमाझी र विनोद चापागाईं रहनुभएको थियो । कार्यक्रममा विशेष कविता वाचन, पुरस्कार अर्पण र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको खण्डकाव्य ‘सुनटिकी’ लोकार्पण भएको थियो । पुस्तक लोकार्पणपछि प्रमुख अतिथि दीपककुमार रिसालले यस गोकर्णेश्वर नगरपालिका क्षेत्रलाई साहित्यिक नगर बनाउन सुरभि साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले धेरै ठुलो भूमिका खेलेको कुरा बताउनुभयो । यसका लागि नगरपालिकाले पनि अन्तरविद्यालय साहित्यिक प्रतियोगिता गराई भावी साहित्यिक प्रतिभा तयार पार्न पहल गर्ने कुरा बताउनुभयो । साथै पुरस्कार संस्थापक चालिसे पतिपत्नीलाई बधाई पनि दिनुभयो । विशिष्ट अतिथि नन्दलाल श्रेष्ठले साहित्यलाई सबैले माथि उठाउनुपर्छ । यस्ता कर्ममा लाग्नुभएका सबैलाई बधाई तथा शुभकामना दिँदै यस नगरपालिका र वडा कार्यालयले प्रतिष्ठानलाई सकेसम्म सहयोग गर्ने वचन पनि दिनुभयो ।
त्यस्तै अर्का विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले असार महिना भानुभक्तको जन्म महिना परेको हुँदा प्रतिष्ठानले गरेको विशेष कविता वाचन र छन्द कवितामा पुरस्कार अर्पण गर्नु मनासिव रहेको बताउँदै भानुभक्तको बारेमा पनि बोल्नुभयो । पुरस्कार संस्थापक पुष्कर चालिसेले आफ्नो वैवाहिक वर्षगाँठमा खर्च गर्नुको साटो यसरी छन्दकविता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नु राम्रो हुने घरपरिवारको सल्लाह भएकाले यो पुरस्कारका लागि अक्षयकोष राखिएको कुरा बताउनुभयो ।
कार्यक्रममा पहिले विशेष कविता वाचन, पुरस्कार अर्पण, पुस्तक लोकार्पण भएपछि मन्तव्य र नियमित आख्यान वाचन भएको थियो । प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको विशेष कविता वाचनमा घनश्याम प्रसाईं, रञ्जु खनाल, शारदा पराजुली, बाजुराम पौडेल, वासुदेव पौडेल, परशुराम पराशर, दिवाकर न्यौपानेले कविता तथा गजल वाचन गर्नुभएको थियो । नियमित आख्यान वाचनमा मधुसूदनप्रसाद घिमिरे, ऋचा, सुशील आचार्य, आलोक चालिसेले विजय चालिसेको पछिल्लो लघुकथा, शारदा पराजुली, दिवाकर न्यौपाने, रञ्जु खनालले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो । प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको यो कार्यक्रम असार महिनाको भएकाले दहीचिउरा खाजा खाइएको थियो ।
