समाचार

क्याक्टसको झाङभित्र
इन्द्रकमल फूलझैँ सुवासिरहेको
यो हलुवावेदझैँ कट्मीरे वैँस कसको हो ?
बारीको छेवैमा
वर–पीपलको लहरे डालीबाट
बलेसीझैँ झरेर
बगिरहेको त्यो सङ्लो जोवन कसको हो ?
कर्कलाका तृषित पातहरूमाथि
बरफझैँ चिस्सिएर
जमिरहेको शीतको थोपाजस्तै माया कसको हो ?
र चौतारीको वयस्क मैदानछेउ
जीवनको भारी बिसाएर
गट्टी खेलिरहेको चञ्चले बालापन कसको हो ?
भन गुलसानी !
टाँटरी फूलका पत्रदलहरूमा
तिम्रो हातले लेखिएको त्यो नाम कसको हो ?
सपनाका थुँगाहरूमा
तरुनी लहडको सुकुल ओछ्याएर
जीवनको आँगनीछेउ
सुकुमार वसन्त कुरिरहेको
यो हिउँफूलजस्तै यौवन कसको हो ?
माथि सैलुङ्गे खर्कमा
गुराँसका अक्षत रङहरू चोरेर
पिरतीको थुँगेमाला गुथिरहेको को हो ?
र पर्खाइका भङ्गालाहरूमा
पानीबेगरको माछीझैँ
छटपटाइरहेका ती निर्दोष पाइतालाहरू कसका हुन् ?
भन गुलसानी !
बयरका पोथ्राहरूमा अल्झिरहेको
त्यो सुन्दरताको मखमली सप्को कसको हो ?
झरनाको सङ्गीत भरेर
भावुकतामा छङछङी बगिरहेको
यो सोह्रवर्षे उमेरको लजालु नदी कसको हो ?
रहरहरूको छिँडीभित्र
काखीमा तन्नेरी सिरानी च्यापेर
हरेक साँझ विलापिरहने
पोचिइको थुरजस्तै उदास मन कसको हो ?
र ऊ त्यो दाउन्ने वनमा
सम्झनाका सुसेलीहरू सुसेल्दै
चर्किएको बाँसुरीझैँ सुँक्कसुँक्क रोइरहने को हो ?
भन गुलसानी !
जल- मदानेको बोटमुनि
जरुवाझैँ रसाइरहेको कुमारीत्व कसको हो ?
यादका तारहरू रेटेर
हृदयको कामुक झङ्कारजस्तो
कसले बजाइरहेछ- पीपिरी पातका धुनहरू ?
ऐनादेखि आफैँ सर्माएर
कसले जिस्क्याइरहेछ- आकाशको चन्द्रमा ?
समरको भयावह उकालो चढ्दै गर्दा
त्यो मनको आँखीझ्यालबाट
सुटुक्क चियाउने आँखाहरू कसका हुन् ?
र जङ्गली घाँसको तरेलीमा
रगतले कोरिएको त्यो दिव्य अनुहार कसको हो ?
तिमी त मेरी,
आस्थाकी चम्किलो तारा हौ !
यो धर्तीमा,
आँसुको रङ फरकफरक रहुञ्जेलसम्म
म गाइरहने छु
तिमीले छोडेका जीवनका अधुरा गीतहरू !
प्रथा