• २०८१ पौष २९ सोमबार

बादल भरिएको आकाश

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

सफा निलो र खुला
कसरी हुन सक्छ र ?
बादल भरिएको आकाश ।

अनगिन्ती भयावह बटुलिँदैछन्
मुसलधारे बर्सिन सक्छ
बज्रपात हुन सक्छ
असिना पानी पर्न सक्छ
हावाहुरी चल्ने पनि प्रवल छ
खण्डवृष्टी,अतिवृष्टी पनि हुन सक्छ
कालो बादलमा बिजुली चम्किनु
अनिष्टको संकेत हो ।

कैयौँ पटक यस्तै हुँदा
बस्तिका बस्ती बगर भएका थिए
सयौँ मानिस एक चिहान भएका थिए
बस्तुभाउ धनमालको
लेखोजोखो नै छैन
आकाश घनघोर भएर देखिँदा
आकास नै त खसेको हुँदैन
स्वयं काल बर्सिएको हुन्छ ।

आकाश गडगडाएर झर्झर बर्सिंदा
हरेकको मुटु थरथर हुन्छ
भन्छन हुनिहार दैव नटार
दैवी विपत्ति बाजा बजाएरै आउने रैछ ।

आकाशको शब्द सुमधुर हुनु पर्थ्यो
खुला र मुक्त आकाश
बादलको बन्धनमा परयो
सानो बादलको घेरो बढेर
आकाश ढाक्यो ।

प्रतिकुल मौसमको प्रभाव
सबैतिर हुँदोरहेछ
वर्षासंगै सहकाल बर्सन्छ भन्थे
अभोकाल आयो ।

चन्द्रमामा घेरिएको बादलको घेरो
पश्चिमतिर रातो कालो रंगिन देखिएको
गोधुलीको आकाश
धर्तीको एक छेउमा इन्द्रेणी देखिए पनि
सिमसिम पानीले
प्रकृतिलाई शृङ्गार गरे पनि
मडारिंँदै भरिएको कालो बादलले
शुभ संकेत दिँदै दिँदैन ।

दैवीय विपत्ति हो वा
जलवायु परिवर्तन या
अरु कुनै
धर्ती र आकाशबीच तादत्म्यता
मिलेको छैन
कठोर शक्ति सञ्चित रहेछ बादलमा
निर्मम बन्दो रहेछ
बर्सदो रहेछ
असिना दाना भएर
हिउँ भएर
मुसलधारे पानी भएर
सरल र शान्त छैन
बादल भरिएको आकाश ।


कैलासकुमार पाण्डेय
परशुराम- १२, उनरुवा, डडेल्धुरा