पहिले भोक, तीर्खा, शोकले सतायो
अहिले डरलाग्दो रोगले सतायो
न पैसा न अस्पताल छ गरिबलाई
यो बन्दाबन्दीमा सबै थोकले सतायो !
नठान्नु आफ्नो कोही माया टुटाएर जान्छन्
छलकपट गरि गरि मुटु फुटाएर जान्छन्
तिमीमात्रै हौ मेरो यो जीवनमा भन्नेले नि
लत्याएर अटल प्रेम विश्वास लुटाएर जान्छन् !
सुरूमा मायाको टोकरी दिन्छन्
बिस्तारै आँसुको पोखरी दिन्छन्
नगर्नु झुटो प्रेममा विश्वास कसैको
निको नहुने गरि मुटु कोपरी दिन्छन् !
अचम्मको दुनियाँ छ स्वार्थ मिले गुन छाड्छ
सखर भेटे बजारमा जीवन धान्ने नुन छाड्छ
शालीनको गन्ति छोडी मै छु चलाख भन्छ मूर्ख
टल्किएको पित्तल भेटे हत्केलाको सुन छाड्छ !
आउँदैछ काँचुली फेर्ने दिन पर्खि बस
प्रशंसकले वरिपरि घेर्ने दिन पर्खि बस
शिखरमा टेकिनेछन् यी पाउ कुनै दिन
दुनियाँले ताली ठोक्छ, हेर्ने दिन पर्खि बस !
(डा. ज्ञानदेव हटुवाल चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]