• २०८३ जेष्ठ १९, मंगलवार

‘पाणिनि तपो भूमि’ लाई ‘रण–अम्बिका’ सेवा पुरस्कार प्रदान

काठमाडौँ ।

रण अम्बिका शाह सेवा गुठीले पाणिनि तपो भूमि व्यवस्थापन, संरक्षण तथा संवद्र्धन समिति, अर्घाखाँचीलाई नगद रु. १ लाख ११ हजार १ सय ११ को राशि सहित ‘रण–अम्बिका सेवा पुरस्कार २०८३ ’ प्रदान गरेको छ । गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता र प्राज्ञिक व्यक्तित्व एवम् पूर्व राजदूत प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाणिनि तपो भूमि व्यवस्थापन, संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेल र उक्त समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले सम्मान पत्र तथा पुरस्कार ग्रहण गरेका थिए ।

पुरस्कार ग्रहणपछि बोल्दै अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले पाणिनीय ज्ञान, पाणिनि तपो भूमिको ऐतिहासिक महत्त्व तथा यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि समितिले गरिरहेको अभियानबारे जानकारी गराएका थिए । प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले पाणिनि कृत व्याकरण विश्व भाषा विज्ञानको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै पाणिनि तपो भूमिको संरक्षण र प्रवद्र्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताए । गुठीका अध्यक्ष डा. योगीले पाणिनि तपो भूमिलाई महत्त्वपूर्ण विद्या तीर्थका रूपमा विकास गर्न सबैको सहकार्य र समभाव आवश्यक रहेको बताए ।

उक्त अवसरमा स्वर्गीय काशीनाथ जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। साथै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो। काठमाडौँ स्थित ’रण–अम्बिका सेवा गुठी’ समाजसेवी एवम् ’दानवीर’ रणबहादुर शाह र उनकी धर्मपत्नी अम्बिका शाहले आफ्ना परिवारलाई समेत समेटेर स्थापना गरेको एक परोपकारी संस्था हो । शिक्षा–स्वास्थ्य प्रवद्र्धन, राष्ट्र कल्याण, धर्म–संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्थापित गुठीले विभिन्न शैक्षिक, सामाजिक, धार्मिक र आध्यात्मिक गतिविधिका लागि योगदान गर्दै आएको छ।