• २०८३ बैशाख १३, आईतवार

अजरामर

सुदिपभद्र खनाल

सुदिपभद्र खनाल

प्रकट छ किन चोला मानवी सोच मान्छे
नगद र पद ऐश्वर्य स्पृही लुव्ध भान्से
किन हृदय विचारी गुह्य खोज्दैन गूढ
अजर अमर मैँ हूँ नित्य ठान्दैछ मूढ

टलक किन हरायो झोलिएका त्वचाको
शरिरभर भकारी बन्न लाग्यो व्यथाको
र पनि अझ जगत्को चेतना शून्य क्रूर
अजर अमर मै हूँ नित्य ठान्दैछ मूढ

सबलसरि सिपाही दाँत छन् हल्लिएका
प्रबल युग उचाल्ने पाखुरी छन् सुकेका
पयर चुलि छिचोल्ने आँगनी देख्छ दूर
अजर अमर मै हूँ नित्य ठान्दैछ मूढ

अतिशय बलशाली हो हिजो आज खाना
पनि अपच हुनाले दुःख बल्झिन्छ नाना
र पनि मन त त्यै हो तिर्सना जो छ रूढ
अजर अमर मै हूँ नित्य ठान्दैछ मूढ

मन तरुण छ भित्री केश मात्रै छ सेतो
हृदयविच छ तृष्णा भक्भकी उम्लिएको
मन मगज जगत्का रागमा रम्य दृढ
अजर अमर मै हूँ नित्य ठान्दैछ मूढ

न छ नियति नियन्ता न्यास निर्वाण खोजी
न छ पिर न त चिन्ता लाग्छ विन्दास मोजी
मनुज जड बनेको चेतना हीन क्रोड
अजर अमर मै हूँ नित्य ठान्दैछ मूढ !!


सुदिपभद्र खनाल