• २०८१ पौष २८ आइतबार

निलाञ्जला भारद्वाजको मुक्तकसङ्ग्रह ‘निलाञ्जला’ सार्वजनिक

मुक्तककार निलाञ्जला भारद्वाजको पहिलो मुक्तकसङ्ग्रह “निलाञ्जला” सार्वजनिक गरिएको छ । मुक्तकालय नेपालद्वारा काठमाडौंमा आयोजित एक समारोहका बीच सो मुक्तक सङ्ग्रह सार्वजनिक गरिएको हो । हालसालै स्थापना भएको मुक्तकालय नेपालको अध्यक्ष समेत रहनुभएकी काठमाडौं निवासी मुक्तककार भारद्वाज पछिल्लो एक दशकदेखि लेखनमा सक्रिय रूपमा लागिरहनुभएको छ ।

गीतकार यादव खरेलको प्रमुख आतिथ्य तथा आयोजक मुक्तकालय नेपालका संरक्षक तथा मुक्तककार सुनिल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक तथा प्राध्यापक ज्ञानु अधिकारीले कृतिमाथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाग्लुङ निवासी शिक्षक तथा साहित्यप्रेमी डिल्लीराज अर्यालले मुक्तककार भारद्वारको बाल्यकाल र विद्यालय जीवनबारे व्याख्या गर्नुभएको थियो ।

मुक्तककार भारद्वाजकी सासु-आमा अमृता ढकाल र ससुरा-बा कृष्ण ढकालको विशेष आतिथ्यता रहेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, सञ्चारकर्मी अच्युत घिमिरे, मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे, घुम्तिमा मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, मुक्तककारद्वय राजन सिलवाल र रमेश पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मुक्तकालय नेपालका सचीव देवी बाँस्कोटाको स्वागत मन्तव्य तथा गजलकार विपिन मर्मले सञ्चालन गर्नुभएको कार्यक्रममा मुक्तककार भारद्वाजकी छोरी वर्षा ढकालले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मुक्तककारहरू कल्पना काफ्ले, लक्ष्मी ढकाल, अजिता क्रान्ति दाहाल, आस्था निरौला, उदास कार्की, मीना चौलागाईं, चेतनपथ माधव, हिमा घर्ती र अञ्जिता रावतले विमोचित कृतिभित्रबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

विभिन्न विषयमाथि लेखिएका ४ सय २ ओटा मुक्तक समावेश गरिएको सङ्ग्रह “निलाञ्जला”को प्रकाशकको रूपमा मुक्तककार भारद्वाजका छोरा बादल ढकाल रहनुभएको छ । मुक्तक सङ्ग्रहको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।