• २०८३ जेष्ठ १४, बिहीबार

८५औँ नियमित लघुकथा वाचन कार्यक्रम पोखरामा सम्पन्न

पोखरा ।

लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा ८५औँ नियमित लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १४ जना लघुकथाकारहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । वाचन गर्ने स्रष्टाहरूमा ढाकामोहन बराल, गायत्री पराजुली, दिनेश बस्नेत, कृष्णप्रसाद (राजु) बास्तोला, गीता तिवारी, लक्ष्मण गौतम ‘हिमाली’, टेकनाथ पोखरेल ‘पीडित’, काजी गाउँले, रामजी थापा, विष्णु बास्तोला, रामचन्द्र आचार्य, कृष्ण उदासी, अल्पविराम पोखरेली र कल्याण पन्त रहनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विष्णु बास्तोलाले सञ्चालन गर्नुभएको थियो । २०७४ चैत १० गते साहित्यकारहरूको व्यापक छलफलपछि सुरु गरिएको यो नियमित लघुकथा वाचन कार्यक्रम पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको छ ।

आगामी लघुकथा वाचन कार्यक्रम असार १३ गते शनिबार आयोजना हुने प्रतिष्ठानले जनाएको छ । नियमित रूपमा लघुकथा वाचन गर्दै आएको यो संस्था नेपालकै एक मात्र लघुकथा केन्द्रित संस्था भएको दाबी गरिएको छ ।