• २०८३ जेष्ठ ३१, आईतवार

मेरो अनुहारबाट चिहाइरहन्छिन् आमा

अञ्जान वर्मा

अञ्जान वर्मा

मेरो अनुहारबाट अक्सर
चिहाइरहन्छिन् मेरी आमा
मानिसहरू भन्छन्–
उनीहरू मलाई मेरी आमालाई देख्छन्

ऐनामा हेर्छु
आफ्नो निधारमा देखिन्छ
मेरी आमाकै निधार
कहिले भाइको अनुहारबाट चिहाइरहन्छिन् आमा
भने
कहिले छोरीको वाणीमा
प्रतिध्वनित हुन्छ आमाको आवाज
कहिले शरीरको कायामा
छायाँ बनेर हिँडिरहेकी हुन्छिन् आमा

शरीरको सीमा नाघेर पनि
अशरीर भएर पनि
बाँच्न सकिनन् उनी हामीलाई छोडेर
र उनी फर्की रहन्छिन्
हामी सबैको अस्तित्वमा

हामीमा प्रकट भइरहन्छिन् आमा पटकपटक
आमा हिँडिरहन्छिन् हामीसँगै आजीवन
आफ्नो सृष्टिको मोहमा बाँधिएर
हामीमै समाहित भएर
हाम्रै साथ निरन्तर
आखिर विनाआमा
बस्न कसरी सक्छे र यो धरा
सप्राण अनि सजीव !

अनुवाद: रमण घिमिरे