• २०८१ कातिर्क २४ शनिवार

ताली

डिल्लीराम शर्मा संग्रौला

डिल्लीराम शर्मा संग्रौला

त्यसदिन उनको भाषणमा मैले
उत्साहित हुँदै धेरै ताली बजाएँ
धेरै राम्रो भनेका थिए उनले
मर्मस्पर्शी परोपकारी भाषण
गरिबहरूका आवाज उठाएका थिए
अत्यावश्यक गाँस, बास र कपासको
भावविह्वल हुँदै भनेका थिए उनले
दीनदुःखीको दर्दनाक कहानी
बुलन्द आवाजमा गरेका थिए कुरा
मातृभूमिको समृद्धिका लागि
कतिजना त त्यहाँ आँशु पुस्दै थिए
धेरैले उनको प्रशंसा गर्दै थिए
तालीको गडगडाहट गजबको थियो
त्यसमा पनि मेरो ताली सबैको भन्दा तिखो थियो ।

कार्यक्रम सकिएपछि म घर फर्किएँ
ऋण र गरिबीका भारले थिचिएको जीवन
अब बिस्तारै-बिस्तारै उठ्ने छ सोचेँ
सोचें कि धेरै वर्षदेखि कुल्चीएका मानिसहरु पनि
बिस्तारै-बिस्तारै आफ्ना खुट्टामा उभिने छन्
उनीहरु आफ्ना नानी बाबू को भबिस्य
आफ्नो जीवनसँग तुलना गर्ने छैनन्
सफा लुगा लगाएर उनीहरुका बालबच्चा पनि
अब उप्रान्त अंग्रेजी विद्यालय पढनेछन्
भविष्यमा होनहार अफिसर बनेर
मोहल्लामा अरू सरह शानले बस्नेछन्
अबदेखि गरिब(धनी बीचको दूरी पनि
बिस्तारै(बिस्तारै अवस्य पुरिनेछ सोचेँ
यस्तै(यस्तै कुराहरु रातभरि मगजमा खेले
बिहानी स्फूर्तीसँग उठेँ र देखेँ
साँच्चै नै पर क्षितिजमा सुनौला सूर्य
आफ्ना प्रदीप्त किरणहरु फैलाइरहेका थिए ।

आज फेरि पाँच वर्षपछि-
मानिसको भीड त्यहीँ एकत्रित थियो
फरक थिएन पहिले र अहिलेमा
हामी त्यसैगरीउनलाई सुन्न बसेका थियौँ
उनी त्यसैगरी परोपकारी भाषण गर्दै थिए
हामी त्यसैगरी ताली बजाइरहेका थियौँ
उनी त्यसैगरी दमदार बोल्दै थिए
हामी त्यसै गरी उनलाई आफ्नो मसीहा मान्दै थियौँ
उनी त्यसैगरी विकास र समृद्धिका कुरा गर्दै थिए ।

बस फरक यती थियो कि-
उनी त्यतिबेला साधारण मान्छे देखिन्थे
आज बोडीगार्ड सहित कारबाट आएका छन्
उनी त्यतिबेला झुप्रोमा बस्थे
आज विशिष्ट बनेर महल देखि आएका छन्
उनी त्यतिबेला लुते-ल्याङग्रे देखिन्थे
आज मोटा र भुडे देखिन्छन ।

धेरै सपना बाँडेर उनी आफ्नो बाटो लागे
धेरै कुरा सुनेर म पनि आफ्नो बाटो लागेँ
घरमा मेरो बाह्र वर्षको छोरो
फाटेका लुगामा धुलो खेल्दै थियो
झुप्रो भित्र मेरी अशक्त बुढी आमा
रोगका कारण ऐया ऐया भन्दै थिइन्
मनलाई नै दुखाउने उनको पीडादायी चित्कार
कानमा गुन्जिन्दै भएर जान्छ बिलिन
बेलुकीको खुराकको जोहो गरेर मेरी अर्धाङ्गिनी
अर्धनग्न वस्त्रमा थकित घर फर्किरहेकी थिन्

अबको पाँच वर्षपछि पनि
हामी उसरी नै भिडमा एकत्रित हुनेछौं
त्यतिबेला पनि बजाउने छौं
उसरी नै जोडजोडले ताली ।


डिल्लीराम शर्मा संग्रौला