
एक
एक दिन बत्ती गएको वेला
तिमी उज्यालो बनेर
म सुत्ने कोठाभित्र आयौ
र सुमसुम्यौ मेरो एक्लोपनलाई
दुई
यो दुनियाँमा
प्रेम भन्ने शब्द नै मरिसक्यो
कोही पत्याउँदैन
तर हरेक मानिस
पैसा र आफैँप्रतिको आसक्तिलाई
अरूका लागि गरेको प्रेम सम्झन्छ
तीन
सिर्जना तिम्रो भोक हो
निरन्तर शब्द र अक्षरको वीज रोप
युगौँ पश्चात् पनि यो संसारले जानोस्
तिमी चुपचाप छँदै थिएनौ
सर्वसाधारणबारे लेखिरहेका थियौ
चार
मलाई राम हुन मन छैन
कृष्ण हुन पनि
मलाई त रावणलाई नै
असल चरित्रको विम्बमा
पूर्ण स्थापना गर्ने मन छ
पाँच
आशा नराख
म नसकिने कुरा दिन सक्तिनँ
थाहा छ मलाई
घाम- जून दिने कुरा झन् सफेद झुट हो
म तिमीलाई निरन्तर दिइ नै रहन्छु
मेरो एकलौटी माया ।
छ
उनीहरूलाई थाहा थियो
मेरा लागि सिर्जना बाहेक
स्टिकर र तस्बिर दुवै गौण थिए
म छ्क्क पर्छु
देखेर अनौठो तलतल ।
अबुधाबी, युएईमा कार्यरत दमकबजार, झापाका क्षत्री नवोदित स्रष्टा हुन् ।
[email protected]