Uncategorized
शरीरका रोमरोममा मेरै नाम खोप भन्छौ
कोमल हृदयमा मायाको बिज रोप भन्छौ
सारा बन्धन तोडेर म आकाशमा उडुँ भन्छु
तिमी मायाको पखेटाले मलाई छोप भन्छौ ।
म बतास, तिमी सिमलको मुलायम भुवा हूनुपर्छ
कहिले तिमी, कहिले म हार्ने, प्रेमिल जुवा हुनुपर्छ
एक अँजुली पिएर पनि अति तृप्त भएको छु म
पक्कै ! तिम्रो हृदयमा, तिर्खा मेट्ने कुवा हुनुपर्छ !!
शब्द नै मल्हम, शब्द नै तरवार हो नि
आपसमा लडे बिग्रिने त घरबार हो नि
को छ मनभित्र नसोधन प्रिय ! तिम्रो जस्तै
मेरो मन पनि त रहस्यको दरवार हो नि !!
आँखामा आँसु भएनि, मुस्कानले ओठ भरिरहन्छन्
सकारात्मक मान्छेहरू स्वयंमा विश्वास, गरिरहन्छन्
जतिसुकै उचाइमा पुगेपनि एकदिन झर्ने नै हो, तर
पारिजातहरू झरेर पनि, धर्तीमा सुगन्ध छरिरहन्छन् !!
निशा केसी