वसन्तवेला

भत्किएको घर
सुरक्षित र सुन्दर
कसरी होला ?
घर त घर नै हो
जसले सहारा दियो
संरक्षण,आश्रय दियो
परिचय दियो
आज बिरानो भयो
डर,त्रास लुकेको
कुरुप खण्डहर
भत्किएको घर ।
सग्लो वा
भत्किएको हुँदा पनि
घर कहाँ ?
भनि सोद्धा पहिचान थियो
पुर्खौली सोद्धा पनि काम आऊँथ्यो
इतिहास थियो
त्यसैसंग जोडिएको थियो
धेरैको जीवनगाथा
इतिहासको पानासंग पनि
जोडिएको हुन्छ
भत्किएको घर ।
घरले मान्छेको परिचय दिन्थ्यो
घरको पनि आफ्नै नाउँ हुन्थ्यो
तल्लाघरे,मल्लाघरे
नयाँघरे,गोलघरे
तर भत्कियो ।
ठेगाना बनेको छ
भत्किएको घर ।
हिजो जुन खुसी थियो
आज भत्किएको छ
हिजो जुन उत्साह उमंग थियो
आज मरेको छ
हिजो जुन सम्पन्नता र समृद्धि थियो
आज रित्तिएको छ
सुख,समृद्धि कहाँ हुन्छ र
भत्किएको घरमा ।
अगेनोमा तुलसी मठ निर
तितेपाती र गाँजा उम्रीएको छ
कुर्जो,भाङो फुल्नु
राम्रो मानिदैन
चरा,मुसाले पनि छोडदा रहेछन्
भत्किएको घर ।
अन्वेषण को आधार हुन्छ
ढुङ्गा,ढुङ्गा खोतल्छन्
अवशेष खोजी हुन्छ
लवलेषसम्म हेरिन्छ
भत्केको घरको ।
केही न केही त हो
भत्किएको घर ।
कैलासकुमार पाण्डेय
परशुराम १२ उनरुवा, डडेल्धुरा