• २०७९ असोज १९ बुधबार

बन्दाबन्दीमा के गर्दैछन् स्रष्टाहरू ?

कोरोना भाइरस (कोभिड– १९) को महामारीले विश्वका झन्डै सम्पूर्ण देशहरू आक्रान्त छन् । यस महामारीका कारण विश्वभरका प्रायः सम्पूर्ण देशहरू बन्दाबन्दी (लकडाउन) मा छन् । यस महामारीका कारण करिब एक महिनादेखि नेपाल पनि बन्दाबन्दीमा थुनिएको छ । अक्षरङ्गले यस्तो त्रासदीपूर्ण बन्दाबन्दीको अवस्थामा सिर्जना क्षेत्रमा लाग्नेहरूको दायित्व के हुन्छ ? र यस बेला स्रष्टा कसरी समय व्यतीत गरिरहेछन् ? भन्ने कुरा पाठकसमक्ष राख्न केही कवि–लेखकहरूसँग जिज्ञासा राखेको छ ।
भाषाविद् प्राडा जीवेन्द्र देव गिरी यस जटिल परिस्थितिमा पनि स्रष्टाहरूले समाजमा ऊर्जा छरिरहेको विश्वास गर्छन् । उनी भन्छन्– ‘स्रष्टाहरूले विभिन्न लेख–रचनाहरू सिर्जना गरिरहनुभएको छ र तिनका माध्यमबाट चेतनाको सञ्चार गर्ने, मान्छेलाई निराश हुन नदिन उत्साह छर्ने, समस्याको सामना गर्ने जुक्ति बताउने, प्रकृति र मान्छेको सम्बन्धबारे नयाँ ढङ्गले चिन्तन गर्ने, आफ्नो देश र समाजको महत्वबोध गराउने जस्ता यावत कामहरू गरिरहनुभएको छ ।’ उनका अनुभवमा स्रष्टाहरू यतिखेर मन लागेका कृतिहरू अध्ययन गर्न र थाती रहेका कतिपय कामहरू सक्न पनि जुटेका छन् ।


यति मात्र होइन । बन्दाबन्दीले देश–विदेशमा निम्त्याएको सङ्कट र त्यसले जनजीवनमा पारेको प्रभावलाई पनि स्रष्टाहरूको संवेदनशील हृदयले अनुभूत गर्नुका साथै उनीहरूले बन्दाबन्दीको अवस्था अन्त्य भएपछि यी सबै कुराहरू समेटिएका अनेक सिर्जनाहरूको कोसेली वर्तमान समाज र भावी पुस्तालाई हस्तान्तरण गर्नेछन् भन्ने पनि उनको विश्वास छ ।

अर्का विद्वान् अनुसन्धाता डा. तुलसी भट्टराई सरकारले बन्दाबन्दीको घोषणा गरे पनि यो घोषणा र आदेशलाई व्यवस्थापन गर्ने भन्दै दुःखी, निमुखा र लकडाउनमा बेरोजगार भएकाहरूको दैनिकी पीडाप्रति सरकारी पक्ष मौन देखिएको तर्क प्रस्तुत गर्छन् । उनी भन्छन्– ‘यस्तो बेला स्रष्टाले सकारात्मकरूपमा समाधानको निकास निकाल्न अहम् भूमिका खेल्दै उपयुक्त सुझाव दिनसक्नुपर्छ । उनी प्रश्न गर्छन्– छिमेकी भारत सरकारले लेखक, कलाकारलगायत ‘सेलिब्रेटी’ हरूमार्फत् आ–आफ्नो क्षेत्रबाट कोरोनाविरुद्ध जनचेतना जगाउने योगदान दिन अपिल गरेकोमा हाम्रो सरकारचाहिँ यसप्रति किन मौन छ ?


‘सरकारले बौद्धिक क्षेत्रसँग सरोकार राखेको देखिँदैन र यस्तो स्थितिमा स्रष्टा आफैँ अग्रसर हुँदा सरकार रिसाउने हो कि !’ डा. भट्टराईको आशङ्का छ । उनी भन्छन्– ‘यति हुँदाहुँदै पनि स्रष्टाले सकारात्मक विचार, जनचेतनामूलक जानकारीसहितका लेखन प्रस्तुत गर्नुका साथै आफू बसेका टोलछिमेकमा आइपर्नेे आवश्यक काममा सहयोग गर्न वा सहयोग जुटाउने काममा लाग्न सक्छन् ।’
कवि उषा शेरचन भन्छिन्– ‘यो हतियारविनाको तेस्रो विश्वयुद्धको विभीषिकाबाट विश्वलाई छिटोभन्दा छिटो मुक्ति मिलोस् र जीवन फेरि पुरानै लयमा फर्केर सुचारुरूपमा चलोस् भन्ने कामना गरिहन्छु ।’ यस प्रसङ्गमा कवि शेरचन भन्छिन्– ‘सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरूपमा पालन गर्नुपर्छ र म पनि गरिरकेकी छु । किनभने म सुरक्षित हुनु भनेको परिवार सुरक्षित हुनु हो, परिवार सुरक्षित हुनु भनेको समाज सुरक्षित हुनु हो अनि समाज सुरक्षित हुनु भनेको देश सुरक्षित हुनु हो अनि देश सुरक्षित हुनु भनेको विश्व सुरक्षित हुनु हो !’


कवि विश्वविमोहन श्रेष्ठ स्रष्टा र अरू आमव्यक्तिबीच कुनै विभेद देख्दैनन् । किनभने भने स्रष्टाहरू पनि यही समाजमा बस्ने मानिस नै हुन् । तिनलाई पनि अभाव र दुःखले पोल्छ । उनी भन्छन्– ‘आममानिसले एकसाथ झेलिरहेको यस किंकत्तव्र्यपूर्ण घडीमा अलिकति चेतना भएको जोसुकैको पनि पहिलो दायित्व हो– सूचना सम्प्रेषण गर्नु, सचेत तुल्याउनु र आफू बच्ने अनि समाजलाई बचाउने सत्कार्य गर्नु नै हो ।’ उनी यस्तो कार्यमा आफूसँगै सबै स्रष्टाहरू आ–आफ्नो ठाउँबाट लागिरहेको विश्वास गरेका छन् । तर उनलाई यसमा एउटा कुरा खट्किरहेको छ । उनी भन्छन्– ‘यस्तो त्रासदीमा खान, बस्न र गन्तव्यमा पुग्नबाट वञ्चित आममानिसको उद्धारमा, अस्पताल र सडकमा अहोरात्र खटिएका चिकित्सकर्मीदेखि सुरक्षाकर्मीहरूसम्मको मनोबल बढाउनमा देशभरि छरिएर रहेका राजनीतिक दलहरू र राष्ट्रिय–अन्तर्राष्ट्रियरूपमा फैलिएका भन्ने कथित साहित्यिक, सांस्कृतिक, बौद्धिक सङ्घ–संस्थाहरूको सक्रिय उपस्थिति देखिएन ।’ यस मौनतालाई विडम्बनाको संज्ञा दिँदै उनी भन्छन्– ‘यस त्रासदीको अवस्थामा कसैले यसको नेतृत्व लिएर स्रष्टाहरूलाई आममानिससँग जोडिदिने सत्कार्य गरिदिए इतिहासमा गौरव गर्ने ठाउँ रहने थियो ।’


कवि स्नेह सायमिको विचारमा यतिखेर स्रष्टाको प्रमुख काम नै सिर्जना गर्नु हो । यो समय अत्यन्तै फरक र संवेदनशील समय हो । मान्छे मात्र होइन सारा प्राणी र प्रकृतिप्रति संवेदनशील भएर सिर्जना गर्ने बेला हो यो ।
उनी भन्छन्– ‘आफूलाई सर्वश्रेष्ठ मान्दै आएको मानिसलाई समयले व्यवहारमै ‘तिमी केही होइनौ’ भनेर एउटा सानो चुनौती दिएको छ प्रकृतिले । जहिले पनि प्रकृतिमाथि दोहोन गर्न मात्र जानेको, अरू प्राणीको शोषण र मृत्युमा मात्र आफ्नो प्रगति देखेको मानिसलाई आफ्नो जीवन र सोचप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ ।’ उनको बुझाइमा स्रष्टाहरूको निम्ति पनि यो आफैँ चुनौती र अवसर दुवै हो । विभिन्न बहानामा मान्छे–मान्छेबीच एकअर्कामा मारकाट चलिरहेको बेला स्रष्टाहरूले पनि यो समयकै अनुभूति गरेर एउटा मात्र सिर्जना गरे भने त्यो महत्वपूर्ण नै हुनेछ ।

कवि तीर्थ श्रेष्ठ भन्छन्– ‘हामी समयको बकपत्रका साक्षी मात्र होइनौ । सङ्कटको बेला मानवताको पक्षमा वकालत गर्ने र यो सङ्कटको कलात्मक दस्ताबेज– हाम्रो जिम्मेवारी हो । निकट भविष्यमा कोरोना–कहरका कारण उत्पन्न हुनसक्ने सङकटको लहरलाई सम्बोधन गर्न आममानिसमा उत्साह जगाउनु पनि स्रष्टाहरूको कर्तव्य हो ।’ उनी यसका लागि प्रतिवद्ध भएर लागेका छन् ।


कवि–निबन्धकार मोमिला यस बखत के गरिरहेकी छिन् ? उनी भन्छिन्– ‘हुन त सिर्जना लेखकीय एकान्तकै सङ्गीत हो, घुमिरहेको पृथ्वीको गतिशील सौन्दर्यलाई अझ सुन्दर बनाइराख्ने दूरदर्शी कला हो । यद्यपि यस विश्व महामारीविरुद्ध अहिलेको विशेष बन्दाबन्दीको परिप्रेक्ष्यमा एकान्त पनि कस्तरी बिझाउँदा रहेछन् ! सर्पले फणा उठाएझैँ जीवनप्रतिको उत्तरविहीन हजारौँ प्रश्नहरूको भुमरीले अचानक घेर्दोरहेछ ! र यस्तो बेला लेखकीय सोच पनि मोडिन खोज्दोरहेछ । मानवसभ्यताको ताज माटोमा लतपतिएसरि सडकभरि नोटहरू फालिएको दृश्य भागदौडको रफ्तारमा दौडने यी आँखाले देखेर पनि विश्वास गर्न नखोज्दोरहेछ ।’


आख्यानकार कृष्ण धरावासीको विचारमा यसबेला स्रष्टाले यस्तै गुप्तवासमा बसेका मानिसहरूमा आउने निराशालाई ध्यानमा राखेर केही न केही सकारात्मक कुराहरू प्रवाह गरिरहनु पर्दछ ।
उनी भन्छन्– ‘मलाई लाग्छ यसबेला हामी साहित्यकारको ठूलो दायित्व छ । हामीले लेखेर, बोलेर, मेसेञ्जर, फोन आदिमा सकारात्मक कुराहरू प्रवाह गरिरहनुपर्छ । सिर्जनात्मक लेखन गर्नुपर्छ । अहिले सबै पत्रिकाहरू अनलाइन भएकाले छपाउन पनि असुविधा छैन र प्रत्येक हातहातमा तुरुन्त पठन सामग्री पुग्नसक्छ ।’


कवि विवश पोखेरेल यति बेला स्रष्टाको दायित्व के हुनुपर्छ भन्ने प्रसङ्गमा भन्छन्– ‘निर्जनता अहिले हरेक व्यक्ति, परिवारको बाध्यात्मक स्थिति भएको छ । जसलाई हामी पालन गरिरहेका छौ ! अचेल हरेक व्यक्तिका भावना, विचार, अनुभूति पनि लकडाउनमा भएजस्तो लाग्छ, स्वच्छ र फुक्का पक्कै छैनन् । एउटा मानसिक पीडाको सिकार मनमस्तिष्क भएको छ । र पनि अनुभूति–विचार बतास, घाम र समयजस्तै हो, जसको गति प्रवाहशील छ ! यस्तो विषम परिस्थितिमा पनि साहित्यकार–कलाकारहरूले आफ्ना सिर्जनामार्फत चेतना जगाउने काम गरिरहनुपर्छ । विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले पनि सकेसम्म आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।’
अर्का कवि श्रवण मुकारुङ भने सरकारको निस्कृयताप्रति आक्रोशित देन्छिन् । उनी भन्छन्– ‘यस महामारीमा सरकारले मुख मात्र चलाएको, जनताप्रति गम्भीर उत्तरदायित्व निर्वाह गर्न नसकेको प्रस्टै देखिन्छ ।’ निम्न वर्ग अझ श्रमिकहरू भोकप्यासै गाउँ फर्किन सडकमा कष्टकर यात्रा गरिरहेको दृश्यले उनको कवि–मन कटक्क हुन्छ र यस दृश्यले सरकारको गैरजिम्मेवारीको पराकाष्टा नाघेको अनुभव गर्छ ।


यस बन्दाबन्दीमा स्रष्टा आफूचाहिँ के गरिरहेका छन् त ?
प्राडा जीवेन्द्र देव गिरीका विचारमा बन्दाबन्दी कसैले लादेको नभई बाध्यताले सिर्जना गरेको परिस्थिति हो । त्यसैले यसको पालना गरेर आफू र आफ्नो समाजलाई सुरक्षित राख्ना सकिन्छ भन्ने ठानेर उनी राज्यले अघिसारेका नियमहरू पालना गरी घरकै एकान्तवासमा समय गुजारिरहेको छन् । उनी भन्छन्– ‘कहिले जीवनसँगिनीलाई भान्साको काममा सघाउँदै, कहिले पुस्तकहरू पढ्दै, कहिले ल्यापटपमा केही लेख्तै र सम्पादन गर्दै, कहिले मोबाइल र टेलिभिजनमा समाचार र अन्य सामग्रीमा रमाउँदै अनि कहिले छानाखेतीमा तरकारी र फूलका बोटहरू स्याहार्दै तथा कहिले घरमा रहनुभएका साथीहरूसँग र कहिले फोन सम्पर्कका साथीहरूसँग कुराकानी र विचार आदानप्रदान गर्दै दिनहरू बिताइरहेको छु ।’ उनले परिस्थितिले सिकाएका पाठहरू आगामी जीवनका लागि निकै महत्वपूर्ण हुने ठानेका छन् ।

डा. तुलसी भट्टराई यस लामो एकान्तवासमा आफ्नो टोलछिमेक र अलिक टाढाका आफन्त एवम् साथीहरूसँग सञ्चार माध्यमद्वारा कुशलक्षेम बुझ्ने अवसर पाएको बताउँछन् । पारिवारिक बसाइ राम्रोसँग बिताउन पाइएको भन्दै उनी सबैभन्दा महत्वपूर्ण कुरा अब गर्ने छु भन्दै साँचिएका काम पूरा गर्नुका साथै पुराना फाइलहरू छाँट्ने, मिलाउने काममा व्यस्त छन् । ‘करीब तीन सयजति विभिन्न विधाका रचना बटुलेर छुट्टाछुट्टै नौवटा फाइल तयार पारेँ,’ डा. भट्टराई भन्छन्– ‘डायरीहरू हेर्दैछु । अरू थप दुईवटा कृतिसमेत नौवटा पुस्तक तयारीमा हुनेभए । लकडाउन यसरी नै बित्तैछ ।’
कवि उषा शेरचन अक्षरको खेती गर्ने उनको धर्म र कर्म भएको स्वीकार्दै लेख्नु र लेखेरे नै जनचेतना फैलाउँदै जनमानसमा मनोबल बढाउने सशक्त विचारहरू सामाजिक सञ्जालमार्फत् पोस्ट् गरिरहेकी छिन् । सँगसँगै कथा, कविता, मुक्तक, गीत, संस्मरण आदि पनि सिर्जना गरिरहेकी छिन्
उनी भन्छिन्– ‘अहिले ‘लाइभ’ कवितावाचन र ‘लाइभ’ गाइएका गीतहरू सुन्नुका साथै युट्युबमा मन परेका कार्यक्रमहरू सुन्छु ,हेर्छु । अनि अरू स्रष्टाहरूका सिर्जनाहरू पढिरहन्छु ।’

कवि विश्वविमोहन श्रेष्ठ भन्छन्– ‘यो एकान्तवास बाध्यतावश भएकाले कसैका लागि पनि प्रिय छैन । त्यसैले यसलाई सुपाच्य तुल्याउनु हामी सबैको दैनिकी भएको छ ।’ उनी यस परिस्थितिलाई आत्मसात् गरेर यो एकान्तवासलाई पनि रङरोगन गरेर बेला–कुबेला मनमा उठिरहने ‘कोरोना–त्रास’ लाई समेत लुकाएर सुखद तुल्याउने दुस्साहस गरिरहेछन् तर अखबारका पृष्ठहरू, टेलिभिजनका पर्दाहरू र समाजिक सञ्जालका स्टाटस्हरू हेर्दा उनको छातीभरि वेदनाका असङ्ख्य ज्वाराभाटाहरू मडारिन्छन् । उनी भन्छन्– ‘मन नदुखाऊँ, आत्मबल बढाऊँ भन्दा पनि वातावरण यस्तो बन्छ– यसो गर्न सम्भव नै हुँदैन ।’ यस्तै असहजताबीच उनको यो एकान्तवास भोलिको सुन्दर परिकल्पना गर्दै बितिरहेछ ।


अर्का कवि स्नेह सायमि भन्छन्– ‘सधैँ अरूले भनिदिएको विकास, खुसी खोज्न बाहिर कुदिरहेको थिएँ । परिवारसँग एकान्तवास बस्ने अवसर प्राप्त भयो । आफैँभित्र, आफ्नै घरभित्र खुसी खोजिरहेको छु र त्यो प्राप्त भएको छ । बाहिरी कुदाइ मात्र जीवन होइन भनेर बुझ्न बाध्य भएको छु ।’
यति बेला उनका पुस्तकका दराजहरूले पनि सास फेर्न पाएका छन् । अहिले उनी हर्मन हेस्सेको एउटा पुस्तक पढिरहेका छन्, जसले उनलाई यो चुनौतीलाई स्वीकार्न आत्मिक बल दिइरहेको छ । उनी भन्छन्– ‘गीत सिकिरहेको छु , युट्युबबाट आफूलाई मन परेको गीत, मन परेको राग सुनिरहेछु । छनौटमा साथीहरूको सहयोग लिएर फिल्म पनि हेरिरहेछु । बगैँचा बनाइरहेछु । केही विषयगत बहसमा सहभागी भइरहेको छु । लेख लेखिरहेछु । गीत, कथा लेखिरहेछु ।’ अनि उनी पुराना रचनाहरूको जीर्णोद्धार गरिरहेछन् । जे गरेर भए पनि उनी एउटा सोचको भने निर्माण गरिरहेका छन् ।

कवि तीर्थ श्रेष्ठले कोरोनाविरुद्ध नेपाल सरकारले सुरुका दिनदेखि नै आवश्यक सतर्कता अपनाउनेमा चुक्दैआएको देखेका छन् । तापनि लकडाउनको निर्णयले उनको मनमा अलिकति भए पनि यो महामारीबाट वच्न सकिन्छ कि भने आशा पल्हाएको छ ।
तर यो बन्दाबन्दीको फुर्सदमा सिर्जनात्मक उपयोग गर्न खासै नसकिएको उनी बताउँछन् । उनी भन्छन्– ‘सुरुदेखि नै यो बाध्यात्मक फुर्सदलाई लेखपढमा लगाउने योजना बनाएको थिएँ । कोसिस पनि गरेँ । कोरोनाको कहर मस्तिष्कमा पनि परेको छ । मन विचलित भएको छ । स्वदेश र विदेशमा भएका आफन्तहरूको सम्झनाले भरिएको छ । सकेसम्म यस्तो बेला सबैको सन्चो–बिसन्चोको जानकारी लिन मन लाग्दोरहेछ ।’ यसो भन्दाभन्दै पनि उनी त्यसै बसेका छैनन् । उनी भन्छन्– ‘कोरोना–कहरले पार्न सक्ने दूरगामी प्रतिकूल प्रभाव र त्यसबाट बच्न अपनाउनुपर्ने उपायहरूको सम्बन्धमा केही युवा मित्रहरूसँग विचार–विमर्श गरिरहेको छु । कवितालेखनको केही प्रयत्न पनि भएको छ ।’

कवि मोमिला भावुक अभिव्यक्ति पोख्छिन्– ‘फेरि अदृश्य शक्तिसँगको युद्ध लड्न दृश्यमा जस्तो सजिलो पनि कहाँ हुन्छ र ! यसमा हामीभित्रको उही अदृश्य आत्मशक्ति नै प्रधानसेनापति बनेर हामीलाई निर्देश गर्दोरहेछ ! र म उनैको निर्देशमा कहिले अहङ्कार फुकालेर आफैँलाई खोज्ने र चिन्ने प्रयत्न गर्छु त कहिले फूलसँग बात मार्छु, खेल्छु, रमाउँछु । कहिले गाईको रौँ गन्दा गाई हल्लेझैँ आकाशमा ताराहरू गन्दागन्दै धरती हल्लिए पनि आकाश नै हल्लिएको ठान्छु र त्यताबाट मोडिएर अन्ततः आफू नहल्लिएसम्म नहल्लिने प्रिय अक्षरको संसारमा प्रवेश गर्छु….! जहाँ एकसाथ जिन्दगीको कोरस गाइने छ ।’

कवि विवश पोखरेल भन्छन्– ‘अहिलेको बन्द बसाइमा केही असहज भए तापनि समयको अभावले आफूले पढ्न नपाएका किताबहरू पढ्ने र लेख्ने काम गरिरहेको छु । यो समयले प्रकाशनका तयारीमा रहेका मेरा कृतिहरूको अन्तिम सम्पादन गर्ने अवसर पनि दिएको छ । जसलाई यसअघि समय दिन सकिरहेको थिइनँ । अहिले यो समयको पनि सदुपयोग गरिरहेको छु ।’


अर्का कवि श्रवण मुकारुङ यतिखेर लेख–पढका अतिरिक्त सामाजिक सञ्जाल फेसबुकमार्फत् विभिन्न कविका प्रतिनिधि कविताहरू प्रस्तुत गर्न सक्रियरूपमा लागिपरेका छन् । ‘क्वारेन्टाइनमा कविता’ शीर्षकमा प्रस्तुत गरिने य प्रस्तुतिलाई उनले एउटा अभियानकै रूपमा अघि बढाइरहेछन् । ‘अहिले यसको ३०औँ शृङ्खला प्रस्तुत भइरहेको छ,’ उनी भन्छन्– ‘यसले आंशिकरूपमा भए पनि मनजोरञ्जन दिएको छ भने नेपाली कविताप्रतिको रुचि बढाउन पनि मद्दत पुर्याएको होला । कविताप्रति जिज्ञासा र सामान्यज्ञान अवश्य दिएको छ ।’ उनी भन्छन्– ‘एउटा स्रष्टाले गर्ने भनेको यति हो ।’