समाचार

भो न करा कौवा मै तिर फर्केर
नखोल्नुस् न रेडियो ज्ञानेका बा
कति रोप्नु हृदयमा छुरा
यी धरमराएका गोडा झन् काँपिदिन्छन्
धमिलिएका आँखामा रगतका थोपा जमिदिन्छन्
खाली मेरै हृदय ताक्छ समाचार पनि
मृत्युका खबरले मनमा त्रिशूल जाकिदिन्छन्
कठै ! ती कलिला कोपिला भनेन
फक्रेका जवान फूलका रहर गनेन
झर्नै लागेकामा सौन्दर्य देखेन क्यारे
टपक्क चुँडेर ललकार्दै गर्जन्छ ऊ
मेरा ओठका कम्पन के देखोस्
सर्वस्व लुटेर नाचे झैँ उसले
मुटु चढाएर दैवका पोल्टामा
एक्लै बाँचेर कसरी हाँस्नु मैले ?
कति सजाइए सपनाहरू कहरका हुरीले
मूल खाँबो छाडेर सबै सबै उडायो
कति पुर्नु बुढेसकालमा दुःखका खाडलहरू
उडेका पंक्षी फर्कने बाटो थुनियो
गाँस अड्केर सासै रोकियो
न सोध्ने कोही छ खबर न पानीदिने कोही छ
ज्ञानेका बा थलिएकै पनि आज त नौ दिनभो
शुन्य छ गाउँ बास्दैन भाले
न पोथी नै कर्कराउँछ
रहरै नबुझी रहर खोज्न हिँडेका
सन्तान सम्झी मन बर्बराउँछ
कोही हिँडे धनको भकारी सोर्न
कोही विद्याको भारी बोक्न
सन्तान चार तिर रित्तो गुँढ कुरी
बसेथेँ कुनै दिन फर्केलान् भनी
सम्झेनन् बचेराले माउ कसरी बाँच्दैछ
काल त खुलेआम सहरमै पो नाच्दैछ
घरभित्रै थुनिएका मेरा प्राणहरूलाई
नदेखोस् भन्थेँ तर दिनहुँ जसो
हजारकै दरले उसैले चुँड्दैछ
कान थुन्छ सरकार ढोका थुन्छ दैव
म खोल्छु हृदय के अर्थ भयो
अन्तिम शब्द पुकार्छन ’आमा’ भनी
जिउँदै जल्छु यहाँ त्यो व्यर्थ भयो
हर दिन सन्तानकै यादमा धरधरी रुन्छु
केही नहोस् तिनलाई भनी मनैमनै गुन्छु
सुखले हाँसेको धरती कल्पनामा बुन्छु
तर,
नसुनाओस् कसैले अनिष्ट भनी म कान थुन्छु ।
(अम्बिका अर्याल चर्चित साहित्यकार हुन् ।)
[email protected]